१० माघ २०८२ शनिबार
image/svg+xml
सम्पादकीय

गगन-विश्व सार्थक विद्रोह

अन्ततः नेपाली कांग्रेसको राजनीतिले नयाँ मोड लिएको छ। विशेष महाधिवेशन आयोजक महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माका साथै फमुल्लाह मन्सुरलाई दलको संस्थापन पक्षले कारबाहीको दाबी गरेको छ। यी तीनबाहेक अरुलाई दलमा फर्केर आफ्नो जिम्मेवारी बहन गर्न आह्वान गरिएको छ। यससँगै विशेष महाधिवेशन आयोजक पक्षले निर्वाचनका कार्यक्रम अगाडि बढाएको छ। विशेष महाधिवेशनको निर्वाचनमा थापा मात्र सभापतिका उम्मेदवार बनेकाले उनी निर्विरोध निर्वाचित भइसकेका छन्। अन्यका हकमा पनि दुई नेतालाई पदाधिकारी चयन गर्ने अधिकार महाविधेशनले दिइसकेको छ।

कांग्रेस संस्थापन पक्षले कारबाही अगाडि बढाएपछि विशेष महाधिवेशन पक्षलाई आफ्ना गतिविधि अगाडि बढाउन बाटो फुकेको हो। दल विभाजनको डर देखाएर केही दिनयता उनीहरूलाई अगाडि बढ्न रोकिएको देखिएको हो। दुई दिनका निम्ति आयोजना गरिएको दलको विशेष महाधिवेशन संवादका निम्ति भन्दै बुधबारसम्म लम्बिएको हो। यसबिच चरण–चरणमा कांग्रेसका दुवै पक्षबिच संवाद भएका हुन्। तर, त्यसले कुनै निष्कर्ष निकाल्न सकेन। विशेष महाविधेशन पक्षधरले राखेका अजेन्डामा कांग्रेस अगाडि बढ्न सकेको भए मुलुकको भलो हुन्थ्यो।

दलको नेतृत्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सुम्पिएर उपचारका निम्ति सिंगापुर गएर फर्केका देउवाको राजनीतिक सक्रियता पुनः देखिएको हो। त्यसलगत्तै देउवाप्रति प्रशंसा पनि देखिएको हो। तर, पुरानै रूपमा कांग्रेस निर्वाचनमा जाँदा विगत भदौको जेनजी आन्दोलनको उद्देश्य पूरा हुँदैनथ्यो। पुरानै नेतृत्व र नीति लिएर अगाडि बढेको कांग्रेसलाई आममतदाताले पत्याउने अवस्था थिएन। कांग्रेसलाई परिवर्तन गर्ने उद्देश्यसाथ महामन्त्रीद्वय थापा र शर्माले पहल गरेका हुन्।

विद्रोह गर्नेमाथि संस्थापन पक्षले कारबाही गरे पनि तत्कालीन महामन्त्रीद्वयले राजनीतिक विजय हासिल गरेका छन्। अल्पमतले दलको बहुमतमाथि कारबाहीको नाटक गरेर जगहसाइ गरिएको छ। दलको विधानले विशेष महाधिवेशन आयोजना गर्न पाइने प्रावधान प्रयोग गरेरै यो आयोजना भएको हो। यसलाई नेतृत्व परिवर्तनसम्मको अधिकार किन पनि छ भने कांग्रेसले आफ्नो पुरानो महाधिवेशनपछिको अवधि पूरा गरिसकेको छ।

विधानले एक वर्षका निम्ति पदावधि थप गर्न सक्ने प्रावधान भए पनि पछिल्ला राजनीतिक घटनाका आधारमा कांग्रेसले परिवर्तित हुनुपर्ने उच्च दबाब रहेको हो। यही दबाबलाई महसुस गरेर विशेष अधिवेशन यसका महाधिवेशन प्रतिनिधिले माग गरेका हुन्। अस्ताउन लागेको राजनीतिक नेतृत्वबाट अन्ततः दललाई हानि हुने भएपछि मुलुकको भविष्यप्रति चिन्तित नेता तथा कार्यकर्ताले विशेष महाधिवेशनको पहल लिनु स्वाभाविक हो।

दलका बहुसंख्यक महाधिवेशन प्रतिनिधिको सहभागितामा विशेष महाधिवेशन आयोजना भएपछि त्यसलाई कुनै न कुनै रूपमा सम्बोधन गरेर देउवाले सहजीकरण गर्नुपर्ने हो। तर, सहजीकरणका नाममा समय व्यतीत गरेर गगन र विश्वमाथि कारबाहीको डन्डा बर्साइएको छ। यस्तो कारबाहीलाई निर्वाचन आयोग र राज्यका अन्य निकायले कसरी मान्यता दिन्छन्? खुला ढंगले आयोजना गरिएको महाधिवेशन र त्यसका प्रतिनिधिले गरेको लोकतान्त्रिक अभ्यासलाई मान्यता नदिनुपर्ने कारण देखिँदैन। यसलाई मान्यता दिइएन भने यस्ता निकायहरूले पनि आफ्नो औचित्य समाप्त गर्छन्।

कांग्रेसको विशेष महाधिवेशन जेनजी आन्दोलनपछि मुलुकमा उत्पन्न परिस्थितिलाई सम्बोधन गर्ने प्रयास हो। यस प्रयासमा ठुला बाधाविरोधका बाबजुद गगन र विश्वप्रकाश अगाडि बढेका छन्।

वास्तवमा विशेष महाधिवेशन आयोजना गरेर कांग्रेसमा हिम्मत भएका नेता तथा कार्यकर्ता रहेको सन्देश गएको छ। त्यति मात्र होइन, पुराना दलमा सुधारको गुन्जायस नभएको ठान्ने कैयन् व्यक्तिलाई यसले आशाको सञ्चार गरेको छ। यो विद्रोहका क्रममा केही व्यक्तिलाई कारबाही गरेको भ्रम पार्न सकिन्छ। राज्यका निकायहरू दुरुपयोगमा पर्न सक्छन्। तर, यसको अर्थ विद्रोहको कुनै अर्थ थिएन भन्ने होइन। सुधारिएको कांग्रेस लिएर अगाडि बढ्ने गरी विशेष महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारी नै यथार्थमा दलका पदाधिकारी हुन्। तिनले निर्वाचन आयोगलगायतका निकायबाट मान्यता पाउनु र आगामी निर्वाचनमा सहभागी हुन चाहिने सहयोग र समर्थन प्राप्त गर्नुपर्छ।

अहिलेको यो घटनाबाट कांग्रेस विभाजित भएको अर्थका रूपमा लिन सकिँदैन। कांग्रेसको विभाजन रोक्ने वा नरोक्ने दायित्व यसका सभापति शेरबहादुर देउवामा रहेको हो। उनले एउटा अवसरलाई गुमाएका छन्। कांग्रेसलाई जीवन्त बनाएर जान उनले विशेष महाधिवेशनमा सहभागिता जनाएर अगाडि बढ्न सक्थे। त्यसले कांग्रेसलाई निर्वाचनमा एक ढिक्का भएर अगाडि बढ्न मद्दत पुग्थ्यो। कांग्रेसलाई एक बनाएर लैजान नसक्ने व्यक्तिका रूपमा देउवाको परिचय रहनेछ। उनी जति पटक प्रधानमन्त्री भए पनि वा दललाई नेतृत्व गरे पनि असफल भएर बिदावारी लिँदै छन्।

कांग्रेसलाई मुलुकको राजनीतिमा भविष्यसम्म सान्दर्भिक बनाउन गगन–विश्वप्रकाशलगायतका महाधिवेशन प्रतिनिधिले सार्थक भूमिका खेलेका छन्। त्यति मात्र होइन, कांग्रेसको यो महाधिवेशनमा आएका पुराना नेता तथा कार्यकर्ताले पनि मुलुकको राजनीतिमा नयाँ ऊर्जा दिएका छन्। कांग्रेसले यसबिच बाटो बिराएकोमा अब त्यसलाई सुधारेर जाने प्रतिबद्धता व्यक्त गरेका छन्। दलको बहुसंख्यक नेता तथा कार्यकर्ताको भावनाविपरीत चल्ने दलको नेतृत्वले यथार्थमा मुलुकको प्रतिनिधित्व गर्न सक्दैन। विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्वले कांग्रेसलाई बदलिएको युगका चुनौती सामना गर्न सक्ने गरी अगाडि बढाउनुको विकल्प छैन।  

प्रकाशित: १ माघ २०८२ ०६:१२ बिहीबार

Download Nagarik App
Download Nagarik App