कुनै बेला पर्यटक भनेकै विदेशबाट आएका मानिस हुन् भन्ने ठानिन्थ्यो। तथापि विविध कारणले बाह्य पाहुनाको आगमन प्रवाह यथोचित रूपमा नहुन सक्छ। तर, केही वर्षयता स्वदेशी पाहुना प्रवाह बढेको छ। देशभित्रकै नागरिक अर्को ठाउँमा पुगेर रमाउने र त्यहाँका बासिन्दाले तिनीमार्फत कमाउने व्यवस्था आन्तरिक पर्यटनले दिएको छ।
अचेल यसै पनि स्वदेशीहरूले देशका विभिन्न भूभागमा घुमघाम गर्न जाने प्रचलन बढेको छ। धार्मिक, सांस्कृतिक र पर्यटकीय यात्राहरू निरन्तर भइरहेका छन् । दिनभरि आफू निकटका डाँडाकाँडाको पदयात्रामा जाने मात्र होइन, एक दिनभन्दा बढीका निम्ति विभिन्न ठाउँमा जाने प्रक्रियाले देशदर्शनलाई मद्दत पुगेको छ। यसले आफ्नै देश चिन्न मात्र होइन, यहाँभित्रका सांस्कृतिक सम्पदालाई आत्मसात गर्न बल पुगेको छ । हामी कति सुन्दर विविधताबिच बाँचेका छौं भन्ने अनुभूति पनि यसले दिन्छ।
विदेशी पाहुनाको अभाव हुन थालेपछि पोखराले अढाई दशकअघि आन्तरिक पाहुनाको खोजी गर्न थालेको हो। कतिपय अवस्थामा स्वदेशी पाहुनालाई बेवास्ता गर्ने गरेको पनि देखिन्थ्यो । पदयात्रामा निस्केका नेपालीले कतिपय अवस्थामा बेवास्तामा परेको अनुभूति पनि गर्नुपर्थ्याे। बिस्तारै स्वदेशी पर्यटकले पनि विदेशीले जस्तै खर्च गर्ने र कतिपय अवस्थामा स्वदेशीबाट दिगो तथा निरन्तर आम्दानी हुने बुझेपछि महत्त्वबढ्दै गएको हो।
विगतमा द्वन्द्वका बेला विदेशबाट पाहुना नआउँदा पोखराका होटल व्यवसायीले ‘जाऊँ है पोखरा’ भन्ने अभियान चलाएका थिए। त्यसमा स्वदेशी पाहुनाले अर्थतन्त्रलाई बढ्ता टेवा दिन थालेपछि तिनको महत्त्वआन्तरिक पर्यटनमा देखिएको हो। आन्तरिक पाहुनाका कारण होटल व्यवसाय चल्न थालेपछि उद्यमीहरू उत्साहित हुने नै
भए।
अचेल पोखरा मात्र होइन, देशका विभिन्न पर्यटकीय क्षेत्रले आन्तरिक पाहुनालाई स्वागत गर्न थालेका छन्। संघीयताको एउटा सुन्दर पक्ष भनेको स्थानीय स्तरमा आफ्ना गाउँठाउँ, पाटीपौवा, तीर्थस्थल, पर्यटन क्षेत्रको विकासमा ध्यान दिन थालेका छन्। विगतमा संघीय सरकारको मात्र मुख ताक्दा सबै ठाउँमा ध्यान पुग्न सक्दैनथ्यो। पछिल्ला वर्षहरूमा काठमाडौंभन्दा बाहिर विकासले गति लिएको छ। तुलनात्मक रूपमा बाटाघाटा पनि राम्रा बनेका छन्। तिनले आन्तरिक पर्यटनलाई बढावा दिएको छ।
अहिले पोखराको पर्यटन क्षेत्रमा विगतभन्दा कम पर्यटक आएकोमा अतिथिसत्कार व्यवसायमा लागेकाहरू चिन्तित भएका छन्। विगतमा आन्तरिक पर्यटकको हिस्सा ७० प्रतिशतसम्म पुगेकोमा अहिले ४० प्रतिशत पुगेको छ । यस्तो स्थितिमा आन्तरिक पाहुनाको प्रवाह बढाउने पक्षमा ध्यान दिनुपर्ने हुन्छ। कतिपय अवस्थामा प्रतिकूल परिस्थिति, सडक यातायात र अन्य पक्ष जिम्मेवार हुन्छ। त्यसैगरी आन्तरिक पर्यटक बन्नका निम्ति नागरिकको आम्दानी पनि बढ्नुपर्छ। जति धेरै तिनको आम्दानी बढ्छ, तिनले खर्च पनि बढाउँछन्। यसका निम्ति सेवासुविधा बढाउनुका साथै पर्यटन क्षेत्रमा पनि नयाँपन थप्नु उचित हुन्छ।
कुनै पनि नेपालीले घुम्नका निम्ति जानेबारेमा सोच्दा पोखरा पहिलो छनोटमा पर्छ। सुरम्य प्राकृतिक वातावरणले आन्तरिक पाहुनालाई आमन्त्रण गरिरहेको अवस्था छ। पोखराजस्तै अन्य पर्यटकीय सम्भावना भएका ठाउँको पनि प्रचार गरेर अगाडि बढ्न सकिन्छ। पश्चिम नेपालमा पनि यस्तै कतिपय ठाउँको यात्राका निम्ति कार्यक्रम बन्ने गरेका छन्। तर निकटताका कारण पोखराको आकर्षण छ। दुई दिन मात्रै बिदा हुँदा पनि पोखरा जाने धेरै निस्किन्छन्।
खासमा हाम्रो मुलुकमा सातामा दुई दिन बिदा दिने र पाँच दिनको कार्यघण्टा बढाउने हो भने आन्तरिक पर्यटन प्रवर्धनमा मद्दत पुग्छ। यसले अर्थतन्त्रलाई सघाउँछ पनि। दुई दिन लगातार सार्वजनिक बिदा हुने हो भने इन्धन आदिको खर्च घट्छ। पेट्रोलियम पदार्थ यसै पनि हामीले आयात गर्ने गरेका छौं। नयाँ सरकारले सुशासनमा ध्यान दिन थालेको हुनाले अब सरकारी कार्यालयमा पाँच दिनमा धमाधम काम हुने हो भने दुई दिनको सार्वजनिक बिदाले पनि सहज बनाउन सक्छ। यी दिनलाई बिदाका रूपमा आन्तरिक पर्यटकीय गतिविधिमा बिताउन सकिन्छ।
यसै पनि हाम्रो अर्थतन्त्रका निम्ति पर्यटन नै महत्त्वपूर्ण क्षेत्र हो। हामीले तत्कालै कुनै उत्पादन उद्योग सुरु गरेर त्यसका वस्तु विदेशमा निर्यात गरिहाल्न सकिँदैन। हाम्रोजस्तो मुलुकका सबैभन्दा उपयुक्त व्यवसाय भनेको पर्यटन क्षेत्र सम्बन्धित विषय हुन्छन्। यसमा होटल व्यवसायदेखि पदयात्रा, आरोहण आदि गतिविधि समावेश हुन सक्छन्। यससँग हाम्रा प्राङ्गारिक कृषिजन्य उत्पादनलाई जोड्ने हो भने अझ पाहुनाहरूको गतिविधिलाई उत्साहित तुल्याउन सकिन्छ। पर्यटन क्षेत्रमा कतिपय अवस्थामा आवास र उपभोग्य वस्तुमा विविधिकरण देखिएको छैन। त्यसमा विस्तार गर्न सकिन्छ। यसले हाम्रो पर्यटन क्षेत्रलाई नयाँ जीवन दिन सक्छ।
प्रकाशित: १७ चैत्र २०८२ ०६:०५ मंगलबार

