१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
सम्पादकीय

बदलिनुपर्ने दलीय रणनीति

गत भदौ २३ को जेनजी अभियान र त्यसकै आडमा २४ गते भएको तोडफोड, आगजनी र लुटपाटका घटना मुलुकको राजनीतिका निम्ति कोसेढुंगा साबित भएका छन्। त्यसयता दलहरूले राजनीतिमा आफूलाई परिवर्तन गर्नु आवश्यक ठानेका छन्। यसको सबैभन्दा उल्लेख्य पक्ष भनेको राजनीतिमा युवा चासो हो। 

विगतमा युवाहरूमा राजनीतिप्रति कमै चासो हुने गरेको हो। अझ आफूलाई राजनीतिमा चासो छैन भन्न पाउँदा गौरव महुसस गर्ने प्रवृत्ति रहेको हो। राजनीतिलाई यसै मुलुक सबै नीतिको मूल नीति मानिन्छ। यसकारण पनि राजनीतिमा चासो राख्नु र यसमा आफूले लागेपुगेसम्म योगदान गर्नु आवश्यक देखिन्छ। 

यसै पनि भदौ २३ र २४ का दुई दिनलाई अलग अलग दृष्टिले हेर्नुपर्छ। २३ गत नवयुवाले मुलुकको राजनीतिप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेका थिए। त्यो विरोध प्रदर्शन उनीहरूले आयोजना गरे पनि अरू नै तत्वहरूले त्यसलाई दुरुपयोग गर्दै संसद् भवनमा आक्रमण हुने अवस्थामा पुर्‍यायो। त्यसैकारण गोली चली युवाहरूको मृत्युको कारण बन्यो। यसैलाई आधार बनाएर भोलिपल्ट देशमा तोडफोड र आगजनीको ताण्डव मच्चाइएको थियो। जेनजी युवाको सही उद्देश्यलाई समेत टाउको उठाउनै नसक्ने गरी तोडफोड र हिंसाका घटनाबाट कमजोर पार्ने काम भएको छ। त्यसयता युवाहरूले तोडफोड आफूले नगरे बताउने गरे पनि यो एउटा पीडादायी अवस्था बनेर मुलुकको स्मृतिमा रहेको छ। 

तोडफोड, आगजनी र लुटपाटले धुमिल बनाएको युवा आकांक्षालाई बाटो दिने काम निर्वाचनले गर्नेछ। त्यसैले सरकार जोडतोडसाथ निर्वाचनको तयारीमा लागेको छ। दलहरू पनि आफूलाई परिवर्तन गर्ने दबाबमा छन्। त्यसअनुसार आफ्ना नीतिगत सुधारका लागि दलहरू लागेका छन्। जेनजी आन्दोलनको दबाब भनेकै राजनीतिलाई जनमुखी बनाउने हो। जनमुखी राजनीति बनाउने हो भने दल र यसका नेताले अहिलेसम्म गर्दै आएको राजनीतिक शैली परिवर्तन गर्न तत्पर हुनुपर्छ। राजनीतिलाई परिवर्तन नगर्ने र अहिलेसम्म जसरी चल्यो, त्यसरी नै भविष्यमा पनि चल्ने भन्ने सोच बनाएको छ भने निश्चय नै त्यसले सकरात्मक परिणाम दिने छैन। यसले आफूलाई समयानुकूल परिवर्तन गर्नु नै जेनजी आन्दोलनको उद्देश्य हो भनेर बुझ्नु र तदनुकूलको व्यवहार गर्नुपर्छ। 

मुलुकमा भएको ठुलो परिवर्तनप्रतिको चाहनालाई बेवास्ता गर्न सकिँदैन। राजनीतिक चेतनाका दृष्टिले पनि नेपाल भिन्न भइसकेको छ। यही मुलुक हो, जहाँ हिजो लोकतान्त्रिक चेतनाले परिवर्तन सम्भव गराएको हो। अहिलेको जेनजी चाहना भनेको सुशासन हो। जेनजी अभियान अगाडि देखिएका ‘नेपो बेबी’जस्ता अभियान अवसरको समान वितरणप्रतिको चाहना पनि हो। मुलुकमा सुशासनको अभाव रहेको र अवसर पाउने समूह सत्तासीन वर्ग मात्र रहेको अनुभूति पछि परिवर्तनको चाहना गरिएको हो। मुलुकमा भ्रष्टाचार बढेको र आम नागरिकले सुख अनुभूति नगरेको अवस्था पनि छ। यस अवस्थालाई ध्यानमा राखी नीतिगत सुधारतर्फ दलहरूले आफूलाई लगाउनुपर्ने देखिएको छ। त्यसैले हिजो जे सोचियो, आज त्यही हुन्छ भन्ने होइन। नेपालमा सुशासनको जबर्जस्त चाहना अभिव्यक्त भएको छ। 

हाम्रै मुलुकमा साढे तीन दशकअघि खुला राजनीतिक वातावरण स्थापना गर्दाको अवस्था र अहिले फरक छ। त्यतिबेला भर्खर दुनियाँमा इन्टरनेटको सुरुआत हुँदै थियो। आज इन्टरनेट जीवनको अभिन्न अंग बनेको छ। नेपाल सरकारले इन्टरनेटमा आधारित फेसबुक, ट्विटरलगायतका २६ सामाजिक सञ्जाललाई निषेध गरेपछि युवाहरू विरोधमा आएका हुन्। त्यसो त २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले ‘कु’ गरेपछि मोबाइल फोट, टेलिफोन र इन्टरनेट बन्द गरेका थिए। त्यसका कारण आम मानिसमा ठुलो विरोध सुरु भएको हो। त्यो अनुभवबाट पनि तत्कालीन केपी ओली सरकारले सिकेको देखिएन। त्यतिबेला सामाजिक सञ्जाल बन्द गरेका कारण पनि विरोध चर्को भएको हो। 

यी यावत् घटनाक्रमबाट सिक्न सकिने पक्ष भनेको हाम्रा आम नागरिक स्वतन्त्रतालाई मन पराउँछन्। त्यसैले सञ्चारका साधनको निर्बाध उपयोग गर्न पाउनुपर्छ। लोकतन्त्र जीवन पद्दति हो, कसैले पनि यसलाई खुम्च्याउन कोसिस नगरून्, अन्यथा आम विरोधको सामना गर्नुपर्ने हुन्छ। त्यसैले दलहरूले आगामी दिनको बाटो तय गर्दा उदार लोकतान्त्रिक व्यवस्थालाई अवरुद्ध गर्ने काम गर्नुहुँदैन। दलहरूले आफूलाई सुशासनको पक्षमा तत्पर गराउनैपर्छ। 

सुशासन नभएकै कारण अहिले आम वितृष्णा फैलिएको छ। त्यसैले जेनजी अभियानको आलोकमा सबैले आफूलाई सुधार गर्ने र त्यो विन्दुबाट नेपालको राजनीतिलाई थप जनमुखी बनाउनतिर लाग्नुपर्छ। यसैलाई सुधारको विन्दु मानेर अगाडि बढ्दा धेरै फरक परिणाम प्राप्त हुन्छ। अन्यथा, योभन्दा भिन्न अवस्थामा मुलुक डोरिन्छ भन्ने तत्वबोध आवश्यक छ। 
 

प्रकाशित: १६ मंसिर २०८२ ०६:१० मंगलबार