८ असार २०८३ सोमबार
image/svg+xml
सम्पादकीय

रास्वपा संस्थागत गर्ने अवसर

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा सुरु भएको छ। चार वर्षअघि अर्थात् २०७९ असार ७ गते स्थापना भएको रास्वपाको पहिलो महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले गरेका छन्। चार वर्षअघि पार्टी स्थापित हुँदा प्रमुख दलप्रति आमजनताको व्यापक जनअसन्तुष्टि थियो। त्यतिबेला भ्रष्टाचारविरुद्धको आक्रोशसँगै वैकल्पिक राजनीतिको आकांक्षा स्थानीय तहको निर्वाचनबाट प्रकट भएको थियो। वैकल्पिक दलको खोजीमा रहेका जनताको त्यही आकांक्षा र नयाँ सम्भावनाको खोजिका रूपमा रास्वपाको उदय भएको हो। त्यसो त रास्वपा स्थापना हुँदै गर्दा त्यसले लिने बाटो र गन्तव्य मात्र होइन, त्यसले राजनीतिक दलको स्वरूप ग्रहण गर्नेमा धेरैको संशय थियो। तर, चार वर्ष बित्दा नबित्दै रास्वपा मुलुकको प्रमुख राजनीतिक शक्ति बन्न पुगेको छ। स्थापनाको ६ महिनामा मै प्रतिनिधिसभामा २१ सिटसहित चौथो शक्ति बनेको रास्वपा अहिले संसद्मा झन्डै दुईतिहाइ बहुमतसहित मुलुकको बागडोर सम्हालेको छ।  

जनताको अधिक विश्वाससहित जनमतबाट अनुमोदित रास्वपाले फागुन २१ गतेको आमनिर्वाचनपछि मात्र तल्लो तहसम्म संगठन निर्माणमा जुटेको छ। वडा तहबाट अधिवेशन गर्दै महाधिवेशनमा उद्घाटनमा पुगेको रास्वपाले अहिले एक हदसम्म संगठनको जग बसाएको छ। रास्वपा देशभरिका चार हजार महाधिवेशन प्रतिनिधिसहित महाधिवेशनमा जुटेको छ। दल र तिनका नेता तथा कार्यकर्तालाई महाधिवेशन सबैभन्दा ठुलो उत्सव हो। अझ त्योभन्दा बढी यो आत्मपरीक्षणको अवसर हो भने आगामी गन्तव्य तय गर्ने थलो हो। रास्वपा पहिलो महाधिवेशनबाट बाहिर आउँदा आफ्नो राजनीतिक, सामाजिक, आर्थिक बाटो र पाटोलाई अझै सुस्पष्ट बनाएर आउनेछ। अर्थात् महाधिवेशनले आफ्नो गति र मतिलाई अझै धेरै उजिल्याएर आउनेछ।

परम्परागत दलप्रति चरम निराशाको अवस्थामा रवि लामिछाने नेतृत्वको यो दलले नेपालको संसदीय राजनीतिमा नयाँ ऊर्जा भरेको कुरालाई नकार्न सकिँदैन। तर राजनीतिमा लोकप्रिय हुनु र जिम्मेवार तथा परिपक्क हुनु एउटै कुरा होइनन्।

रास्वपाको चारवर्षे यात्राका क्रममा राज्य र दलका विकृतिविरुद्ध उसले थुप्रै प्रश्न गरेको छ। भ्रष्टाचारविरुद्ध कठोर भाषण पनि रास्वपा र तिनका नेताले नै गरेका छन्। तर, आज ती प्रश्न रास्वपाका नेताहरूतिर पनि सोझिन थालेको छ। अब पार्टी प्रश्न होइन, उत्तर दिने स्थानमा छ।

लोकप्रियताको लहर र लहडमा नेपालमा मात्र होइन, विश्वका धेरै लोकतान्त्रिक देशमा दल र अभियानहरू चलेका छन्। तर ती पानीका फोकाजस्तै केही वर्षमै हराएका प्रशस्त उदाहरण छन्। रास्वपा रहर र लहडको दल होइन, नेपालको लोकतान्त्रिक वैकल्पिक शक्तिका रूपमा विकास भएको आमजनताले हेर्न र देख्न चाहेका छन्। व्यक्तिबाट परिचित संस्था होइन, संस्थागत र संस्कार युक्त दलका रूपमा रास्वपा रूपान्तरण होस् भन्ने आमचाहना छ। जीवन्त संस्थामा व्यक्ति आउनेजाने चलिरहन्छ तर संगठन निरन्तर रहिरहनुपर्छ। त्यसैले यो महाधिवेशनको मूल प्रश्न पनि यही हो। पार्टीको वैचारिक आधार के हो ? संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र आर्थिक नीतिबारे यसको स्पष्ट धारणा के हो? नेतृत्व चयन प्रक्रिया कति लोकतान्त्रिक हुनेछ ? आलोचनालाई पार्टीभित्र स्थान दिइन्छ कि दिइँदैन? यी प्रश्नको जवाफ नदिई केवल चुनावी सफलतालाई उपलब्धि ठान्नु आत्मप्रवञ्चना हुनेछ।

पार्टीको पहिलो महाधिवेशन केवल संगठनात्मक कार्यक्रम होइन, आफ्नो भावी राजनीतिक दिशा तय गर्ने महत्त्वपूर्ण अवसर पनि हो।  रास्वपाले छोटो समयमा जनताको अभूतपूर्व विश्वास प्राप्त गरेको छ तर चुनाव जित्नु मात्र पर्याप्त हुँदैन। त्यो विश्वासलाई संस्थागत गर्न परिणाममुखी शासन, सुशासन र आर्थिक गतिशीलतालाई सँगसँगै अघि बढाउनुपर्ने चुनौती उसमाथि छ। नागरिकले सरकारको नियतमाथि विश्वास गरेका छन्, अब त्यो विश्वासलाई प्रभावकारी सेवाप्रवाह र कानुनी शासनमार्फत प्रमाणित गर्नुपर्छ।

त्यत्तिकै महत्त्वपूर्ण पक्ष पार्टीको वैचारिक स्पष्टता र नैतिक मूल्यमान्यता हो। पारदर्शिता, विधि, समावेशिता, अनुशासन र उत्तरदायित्वलाई व्यवहारमै उतार्न सके मात्र नयाँ राजनीतिक संस्कृतिको निर्माण सम्भव हुन्छ। साथै गुणस्तरीय र प्रशिक्षित संगठन, संस्थागत निर्णय प्रक्रिया तथा नेतृत्वबिचको स्वस्थ कार्यविभाजनले दललाई दीर्घकालीन रूपमा बलियो बनाउँछ।

रास्वपाको सबैभन्दा ठुलो सम्पत्ति संगठन होइन, जनविश्वास हो। त्यसैले जनअपेक्षा र वास्तविक क्षमताबिच सन्तुलन कायम गर्दै इमानदार संवाद गर्न आवश्यक छ। व्यक्तिकेन्द्रित राजनीतिभन्दा संस्थागत प्रणाली निर्माण गर्न सके मात्र यो दल नेपालको नयाँ राजनीतिक अध्यायको नेतृत्व गर्न सक्षम हुनेछ।

नीति र नेतृत्व छान्न हुन लागेको यो महाधिवेशनबाट वैचारिक स्पष्टता, संस्थागत संस्कृतिसहित उत्तरदायी नेतृत्वसहित विद्रोहको घन्टीलाई मुलुक निर्माणका लागि दीर्घकालसम्म गुज्जिरहने ध्वनि बन्ने आधार रास्वपाको पहिलो महाधिवेशनबाट तय गर्न सक्नुपर्छ। यही कुराले रास्वपा पुरानै राजनीतिक संस्कृतिको अर्को संस्करण हो वा जनताले भरोसा गरेको नयाँ संस्कार र संस्कृतिसहितको दल हो भन्ने खुट्याउने छ।  

प्रकाशित: ८ असार २०८३ ०५:५३ सोमबार

Download Nagarik App