नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका १० वाम दलको गठजोडबाट एक दल ‘नेपाली कम्युनिस्ट पार्टी’ गठन भएको छ। माओवादी केन्द्रबाट पुष्पकमल दाहाल र एकीकृत समाजवादीबाट माधवकुमार नेपालसहितका नेता यसको नेतृत्वमा छन्। उनीहरूले हाललाई नेतृत्वमा आफू रहे पनि भविष्यमा नयाँ नेतृत्व बनाउने आश्वासन दिएका छन्। गत भदौ २३–२४ को जेनजी आन्दोलनले मुलुकका वहुआयामिक क्षेत्रमा प्रभाव पारेको छ। यसले सबैलाई सुध्रिन प्रेरित गरेको छ । तैपनि सुधार सहज छैन। जबर्जस्ती पनि अब मिल्नुपर्ने भएको छ।
माओवादी केन्द्रका नेता जनर्दन शर्मा, एकीकृत समाजवादीका घनश्याम भुसाल र नेकपाकै अर्को घटक नेत्रविक्रम चन्दसमेत आपसमा कुराकानी गर्न थालेका छन्। अझ रोचक पक्ष अहिलेसम्म निर्वाचनमा खासै चासो नराख्ने चन्द अब निर्वाचनमा भाग लिने पक्षमा पुगेका छन्। पूर्वपञ्चलगायत मुलुकमा हिन्दु धर्म कायम हुनुपर्ने र राजतन्त्र स्थापना हुनुपर्ने पक्षमा रहेका नेताहरू पनि एकता गरेर अगाडि जानुपर्ने पक्षमा देखिन थालेका छन्।
यसबाहेक नयाँ दलहरू धमाधम खुल्दै छन्। सूचना प्रविधिका कारण चौतर्फी लोकप्रियता हासिल गरिरहेका कैयन् स्वतन्त्र व्यक्ति पनि यतिबेला दल निर्माणको पक्षमा लागेका छन्। धरानका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले दल निर्माण गसिकेका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले दल बनाउने हुन् वा होइनन् भन्ने अड्कलबाजी भइरहेको छ। मुलुकले नयाँनयाँ दलको खोजी मात्र गरिरहेको छैन, पुराना दल आफैंमा कति नयाँ भएर आउने हुन्, त्यसको पनि खोजी भइरहेको छ। नयाँ हुन् वा पुराना, सबैमाथि एक किसिमको दबाब रहेको महसुस गर्न सकिन्छ।
अहिलेसम्म राजनीतिक व्यक्तिहरूले यसै चल्छ भन्ने ठानेका हुन्। त्यही भएर तिनले सुध्रिनुपर्ने आवश्यकता देखेका थिएनन्। दलका ठुला नेताहरूले आफैंभित्र मात्र एकाधिकार गरेनन् मुलुकको संसद्लाई समेत कठपुतली बनाएका हुन्। संसद्ले राम्ररी काम गर्न नसक्दा मुलुकका समस्यामा यो प्रभावकारी हुन सकेन। कैयन् ठुला समस्या आउँदा समेत संसद्का ग्यालरी बैठक खाली रहेका हुन्। प्रमुख नेताहरूले तिनलाई कहिल्यै प्रभावकारी बनाउनुपर्ने दबाब महसुस गरेनन्। आज मुलुक जुन चुनौतीपूर्ण अवस्थामा आएको छ, त्यसको कारण यही हो।
लोकतन्त्रका मुख्य कर्ता दलहरू हुन्। तिनले आफूलाई जसरी अगाडि बढाउँछन्, त्यसरी नै मुलुकको लोकतन्त्रले आकार लिन्छ। हामीकहाँ २०४६ सालको जनआन्दोलन पछाडिको अधिकांश समय भनेको दलहरूकै शासन हो। तर तिनले किन सुशासन दिन सकेनन् भनी अध्ययन गर्नु पनि उत्तिकै आवश्यक छ। त्यो अवधिको असफलताबाट सिकेर नयाँ बाटो पहिल्याउने बेला हो यो। अहिलेसम्म दलहरूले निर्वाचनमा विजयी भएपछि प्राप्त हुने प्राविधिक बहुमतलाई नै शासनको आधार ठानेका हुन्। निःसन्देह मतदानका दिनमा अभिव्यक्ति हुने मतले सरकार निर्माणमा सहयोग पुग्छ। तर सरकार निर्माणपछि पनि आफूले पाएको मतलाई पुष्टि हुने काम गरिरहनुपर्ने हुन्छ।
त्यसैले मतदानमा आफूले पाएको मतकै बलमा जथाभाबी गर्नेभन्दा पनि लोकप्रिय कामतर्फ आफूलाई लगाइरहनु आवश्यक छ। हिजोजस्तो अवस्था होइन आज। आज प्रत्येक व्यक्ति सूचना प्रविधिबाट सज्जित भएर आज क्रियाशील छन्। तिनले दिने प्रतिक्रिया आज एकाएक संसारभरि पुग्न सक्छ। त्यसकारण पनि यसमा ध्यान दिनु आजको आवश्यकता हो। सूचना दुरुपयोगको खतरा पनि उत्तिकै छ। त्यसैले पारदर्शी र सबैले महसुस गर्न सक्ने गरी काम गर्ने शैली आज भएन भने राम्रै गर्दागर्दै पनि समस्यमा परिने अवस्था छ। बंगलादेशले आर्थिक रूपमा राम्रै गर्दै गरेको भने पनि त्यहाँ एकाएक आन्दोलनको ज्वारभाटा आई सेख हसिनाको सत्ता डुबेको सबैले महसुस गरेकै छ।
लोकतन्त्रमा विश्वास गर्ने दलहरूले आफूलाई समयानुकूल परिवर्तन गर्दै मुलुकवासीको विश्वास जित्ने राजनीति अब चाहिन्छ। यसै पनि आजको राजनीतिमा फ्यान–फलोइङवाला फन्डाले काम गर्न थालिसकेको छ। जतिसुकै काम नलाग्ने व्यक्ति पनि जथाभाबी अभिव्यक्ति दिएर लोकप्रिय हुने समय पनि छ यो। तर यस्तो समय सधैं रहँदैन। ठोस काम गरेर लोकप्रियता हासिल गर्दै देशलाई सही बाटोमा लैजान सकिने अवस्था रहन्छ। अब दलहरूले अहिलेसम्मको टर्रा बन्द गर्दै नयाँ किसिमले काम गर्न प्रतिबद्ध हुने बेला आयो। जेन–जी आन्दोलनले ल्याएको चेतनालाई अनुभूत गर्दै अगाडि बढ्ने त्यही उमेरसमूहको चेतनालाई समेत दलभित्र प्रवेश गराउन ढिला गर्नुहुँदैन। यसो भयो भने मात्र नयाँ समयका नयाँ चुनौती सामना गर्न सहज हुन्छ।
प्रकाशित: २३ कार्तिक २०८२ ०६:०२ आइतबार

