१४ माघ २०८२ बुधबार
image/svg+xml
सम्पादकीय

नसामुक्त समाज

सदियौं पुरानो नेपाल–भारत सम्बन्धको प्रतीक हो- खुला सीमा। खुला सीमाले आपसी व्यापार, भाइचारा र पारिवारिक भेटघाटलाई सहज तुल्याएको छ। यसले दुई देशलाई जोड्न जति सहयोग पुर्‍याएको छ, दुरूपयोग गर्दा त्यति नै पारिवारिक विखण्डन र समस्या पनि सिर्जना गरेको छ। लागुऔषध तस्करी र अन्य आपराधिक कार्य खुला सीमाका साझा समस्या हुन्। सीमावर्ती सहरमा फेला परेका लागुऔषधजन्य घटनाक्रमले सीमापारिको समाजलाई विचलित तुल्याएका छन्। 

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोद्वारा सार्वजनिक तथ्यांकले मात्र पनि यसको कारोबार र दुर्व्यसनको भयावह स्वरूप खुट्याउन मदत पुग्छ। आर्थिक वर्ष २०८१/८२ मा मात्र यससम्बन्धी एक हजार १३२ मुद्दा दर्ता भएका छन्। त्यसमध्ये एक हजार ६७५ प्रतिवादी पक्राउ परेका छन्। लाखौं एम्पुल, चरेस, हेरोइन, अफिम, कोकिन, ट्रामाडोलजस्ता लागुऔषध बरामद भएका छन्। थाइल्यान्डदेखि भारतसम्म फैलिएको तस्करीको चक्रले नेपाललाई लागुऔषध कारोबार र प्रयोगको ‘ट्रान्जिट प्वाइन्ट’ बनाउँदै गएको देखिन्छ। 

सरकारी तथ्यांकअनुसार दुर्व्यसनीको संख्या डेढ लाख हाराहारी भए पनि यो संख्या निकै बढी हुन सक्ने अनुमान छ। लागुऔषधविरुद्ध सक्रिय अभियन्ता वसन्तराज कुँवर दुर्व्यसनीको वास्तविक संख्या सात देखि १० लाखसम्म पुगेको अनुमान गर्छन्। यस दृष्टिले यो समस्या नेपाली समाजमा भुसको आगोजस्तै फैलिरहेको अनुमान गर्न सकिन्छ। लागुऔषध दुर्व्यसनको असर केवल एक व्यक्तिमा सीमित हुँदैन। घरभित्रको सम्बन्ध टुट्छ, बालबालिकामा मनोवैज्ञानिक असर पर्छ, महिला हिंसाको दर बढ्छ र सामाजिक अपराधले उग्र रूप लिन्छ। लागुऔषधका कारण चोरी, लुटपाट, बलात्कार, यौनजन्य क्रियाकलाप, जबरजस्तीजस्ता अपराध युवाहरूबाटै हुन्छन्। लागुऔषध दुर्व्यसन अब केवल स्वास्थ्य समस्या 
नभएर सामाजिक विघटनको कारक बनिरहेको छ।

लागुऔषध नियन्त्रण ब्युरोका अधिकारीले भनेजस्तै ब्राउन सुगर र औषधिजन्य लागुऔषधको प्रयोग नेपालमा प्रशस्तै प्रचलनमा छ। भारतीय बजारमा औषधीजन्य लागुपदार्थ सस्तोमा पाइने र खुला सीमाबाट सहजै नेपाल भित्रिने गरेको छ। यसलाई नियन्त्रण गर्न प्रहरी आक्रमक ढंगबाट लागेको भए पनि पूरै सफलता प्राप्त भइसकेको छैन। प्रहरीको एक्लो प्रयासले मात्र यस्तो समस्या समाधान हुँदैन। 

बेरोजगारी, आत्मबलको कमी, भविष्यप्रतिको अनिश्चितता, मानसिक समस्या, सामाजिक असमानता लगायतका पक्षले युवालाई लागुऔषधको कुलततर्फ धकेलिरहेका छन्। मनोसामाजिक परामर्शदाताहरूले निराशामा फसेको युवाले नसालु पदार्थ सेवन गर्ने सम्भावना बढी रहेको बताउने गरेका छन्। यसकारण पनि समस्यामा परेपछि लागुऔषधको कुलतमा लाग्नुभन्दा पनि ठण्डा दिमागले सोचेर भविष्यको बाटो पहिल्याउनतिर लाग्नुपर्छ। 

त्यसैले लागुऔषधको नियन्त्रणमा सरोकारवाला सबै पक्ष सक्रिय हुनु उचित हुन्छ। कुनै पनि समाजमा धेरै मानिस लागुऔषधको चंगुलमा परेका छन् भने त्यो सीमित व्यक्तिको मात्र नभएर संरचनागत समस्या बनिसक्यो भनेर बुझ्नु आवश्यक छ। कुनै पनि किशोरकिशोरीलाई यसतर्फ लाग्नै नसक्ने गरी कसरी जोगाउने होला? त्यसतर्फ सरकारी स्पष्ट नीति आवश्यक हुन्छ। समस्या आइसकेपछि मात्र समाधान खोज्ने होइन, यस्तो हुनै नदिनेतर्फ ध्यान पुग्नुपर्छ। विद्यालय तहदेखि नै लागुऔषधबारे अध्यापन जरुरी छ। बाहिरका मुलुकहरूमा यस्ताखाले अभियान धेरै पहिलादेखि सुरु गरिएका छन्। नेपालमा पनि कतैकतै गरिएका छन् तर त्यो प्रभावकारी छैन। 

त्यस्तै अभिभावक र शिक्षकको सचेत भूमिका, कलेज र कार्यस्थलमा नि:शुल्क मनोसामाजिक परामर्श सेवा सुरु गर्न ढिलो गर्नुहुँदैन। यसले मानिसको उल्झनलाई सुल्झाउनुको साथै कुलतबाट कसरी छुट्कारा दिलाउने भन्ने काममा समेत सहयोग पुग्छ। योसँगै समुदाय तहमा सामाजिक निगरानी जरुरी छ। कहीं, कतै, कसैले दुरूपयोग गरको खण्डमा जिम्मेवार नागरिकको हैसियतले उसलाई सुधार्ने अभियानमा लाग्नुपर्छ।

लागुऔषधको प्रभावमा परेका व्यक्ति परिवारको बोझ त बन्छन् नै, सँगै समाजसमेत आक्रान्त हुन पुग्छ। यस्तो समस्यामा परेका परिवारले असाध्य दु:ख पाएका हुन्छन्। तिनलाई यस्तो दु:खमा पर्नै नदिने भनेको लागुऔषधबाट टाढा राख्नु नै हो। विशेषगरी लागुऔषधका माफियाहरूले जसरी पनि यसलाई समाजमा पुर्‍याउँछन्। यसकारण पनि कडा कानुनी कारबाही पनि उत्तिकै आवश्यक छ। कैयन मुलुकले यसको फन्दाबाट उम्किन सशक्त कदम चालेका छन्। त्यसतर्फ हाम्रो सिकाइ पनि आवश्यक छ। 

सामुदायिक अगुवा, धार्मिक संघसंस्था, महिला समूह, युवा क्लब, शिक्षक संघ, पत्रकार, स्वास्थ्यकर्मीलगायत सबै मिलेर अब लागुऔषधमुक्त समाजको संकल्प गर्नुपर्छ। त्यसो गरे मात्र सभ्य समाजको निर्माण हुनेछ। नसारहित मानिसले मात्र समाजलाई सही दिशा दिने हुँदा सजग रहौं र सचेत बनौं।

प्रकाशित: २० श्रावण २०८२ ०५:५२ मंगलबार

Download Nagarik App
Download Nagarik App