हृदयाघातलाई कुनै समय वृद्ध उमेरको रोग मानिन्थ्यो। पचास–साठी वर्ष काटेपछि मात्र मुटुको रक्तनलीमा समस्या देखिन्छ भन्ने सामान्य बुझाइ थियो तर नेपालका अस्पतालमा पछिल्लो दशकमा देखिएको बिरामीको तथ्यांकले त्यो धारणा बदल्नुपर्ने अवस्था आएको छ।
अहिले तिस–पैंतिस वर्षकै उमेरमा हृदयाघात भएर अस्पताल पुग्ने युवाको संख्या बढिरहेको छ। सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका चिकित्सकका अनुसार हृदयाघातका बिरामीमध्ये करिब आधा जति ४५ वर्षमुनिका छन्। केन्द्रमा सन् २०१४ मा करिब पाँच सय हृदयाघातका बिरामी उपचारमा आएकोमा सन् २०१८ मा यो संख्या दुई हजार पुगेको तथ्यांकले पनि बढ्दो जोखिमको संकेत गर्छ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पनि हृदयाघातका बिरामीमध्ये उल्लेख्य संख्या ४५ वर्षभन्दा कम छ। युवामा हृदयाघातको पछिल्लो अवस्थाबारे बृहत् राष्ट्रिय अध्ययन नभएकाले वास्तविक प्रवृत्ति कति तीव्र छ भन्ने यकिन गर्न थप अनुसन्धान आवश्यक छ। अस्पतालका तथ्यांकले दिएको संकेतलाई बेवास्ता गर्न सकिँदैन।
विश्व स्वास्थ्य संगठनका अनुसार हृदय तथा रक्तनलीसम्बन्धी रोग विश्वमै मृत्युको प्रमुख कारण हो। सन् २०२२ मा विश्वभर करिब एक करोड ९८ लाख मानिसको मृत्यु यस्ता रोगबाट भएको थियो। तीमध्ये ८५ प्रतिशत मृत्यु हृदयाघात र स्ट्रोकका कारण भएको डब्लुएचओको तथ्यांक छ। तीनचौथाइभन्दा बढी मृत्यु निम्न तथा मध्यम आय भएका देशमा हुने गर्छन्।
नेपालमा पनि नसर्ने रोगबाट हुने मृत्युको ठुलो हिस्सा मुटु तथा रक्तनलीसम्बन्धी रोगसँग सम्बन्धित छ। युवामा जोखिम बढ्नुका पछाडि धूमपान तथा सुर्तीजन्य पदार्थ, हुक्का, अत्यधिक चिल्लो, नुनिलो र प्रशोधित खाना, जंक फुड, शारीरिक निष्क्रियता, मोटोपन, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल र दीर्घकालीन तनाव प्रमुख कारण देखिन्छन्। प्रविधिको बढ्दो प्रयोगले पनि युवाको दैनिक शारीरिक गतिविधि घटाएको छ।
यसलाई व्यक्तिको कमजोरीका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन। स्वस्थ जीवन बाँच्ने वातावरण बनाउने जिम्मेवारी राज्यको पनि हो। प्रतिकूल सामाजिक पृृष्ठभूमिमा सर्वसाधारणलाई मात्र स्वस्थ जीवनशैली अपनाउन आग्रह गर्नु व्यावहारिक हुँदैन। विद्यालय तहदेखि नै स्वस्थ खानपान, नियमित शारीरिक गतिविधि र सुर्तीविरुद्धको शिक्षा आवश्यक भइसकेको छ। हुक्का तथा अन्य सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण गर्नुपर्छ। अत्यधिक नुन, चिनी र अस्वस्थकर बोसोयुक्त प्रशोधित खाद्य पदार्थको बजार र विज्ञापनमा प्रभावकारी नियमन आवश्यक छ।
अबको सहरी योजना पनि स्वास्थ्य नीतिको हिस्सा बन्नुपर्छ। मानिसलाई दैनिक जीवनमै हिँड्न, साइकल चलाउन र व्यायाम गर्न सकिने वातावरण बनाउनुपर्छ। डब्लुएचओका अनुसार विश्वभर करिब ३१ प्रतिशत वयस्क र ८० प्रतिशत किशोरकिशोरी पर्याप्त शारीरिक गतिविधि गर्दैनन्।
शारीरिक निष्क्रियताले मुटु तथा अन्य नसर्ने रोगको जोखिम बढाउँछ। त्यससँगै रक्तचाप, रक्तचिनी, कोलेस्ट्रोल र तौल जाँच गर्ने सामान्य स्वास्थ्य परीक्षणलाई प्राथमिक स्वास्थ्य सेवाको नियमित हिस्सा बनाउनुपर्छ। परिवारमा कम उमेरमै हृदयाघात भएको इतिहास भएका व्यक्तिलाई विशेष निगरानी आवश्यक छ। जोखिम पहिचान र प्राथमिक तहमै परामर्श तथा उपचार उपलब्ध गराउन सके धेरै जटिलता रोक्न सकिन्छ।
उपचारको पहुँच विस्तार पनि उत्तिकै आवश्यक छ। सबै जिल्ला अस्पतालमा हृदयाघात पहिचान र प्रारम्भिक उपचारको क्षमता, आवश्यक औषधि, इसिजीलगायतका आधारभूत उपकरण र प्रशिक्षित जनशक्ति पुर्याउनुपर्छ। प्रदेश तहमा क्याथ ल्याब र विशेषज्ञ सेवा विस्तार गर्नुपर्छ। राजधानी वा सीमित ठुला सहरमा मात्र उपचार केन्द्रित हुँदा आकस्मिक अवस्थामै सर्वसाधारणले ज्यान गुमाउनुपर्ने हुन्छ।
यसैगरी, छाती दुख्ने, श्वास फेर्न गाह्रो हुने, असामान्य पसिना आउने वा वाकवाकी हुनेजस्ता लक्षणलाई सामान्य ‘ग्यास्ट्रिक’ भनेर बेवास्ता गर्ने प्रवृत्ति पनि हटाउनुपर्ने देखिएको छ। यस्ता लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा पुग्ने जनचेतना फैलाउन आवश्यक छ।
युवा पुस्ता देशको आर्थिक र उत्पादनशील शक्तिको आधार हो। यही पुस्ता कम उमेरमै उच्च रक्तचाप, मधुमेह, मोटोपन र हृदयाघातको चपेटामा पर्न थाल्यो भने यसको नकारात्मक प्रभाव परिवारको आम्दानी, श्रम उत्पादकत्व र समग्र अर्थतन्त्रमा पर्नेछ। त्यसैले नेपालले हृदयाघातको उपचारमा मात्र होइन, रोकथाममा लगानी बढाउनुपर्छ।
सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रूपमा मनाइँदै आएको छ। यस वर्षको मुख्य सन्देश पनि मुटु स्वास्थ्य, रोकथाम र स्वस्थ जीवनशैलीमा केन्द्रित छ। यो अंगमा लाग्ने रोगबारेको सन्देशलाई एक दिनको नारामा सीमित गर्नु हुँदैन। स्वस्थ मुटु व्यक्तिगत अनुशासनको विषय मात्र होइन, स्वस्थ समाज निर्माणको सूचक पनि हो। युवाको मुटु जोगाउने हो भने अस्पतालमा उपचार क्षमतासँगै विद्यालय, बजार, सडक, कार्यस्थल र घरसम्म पुग्ने रोकथामको नीति आवश्यक छ। आजको जीवनशैली बदल्न सकियो भने भोलिका अधिकांश हृदयाघात रोक्न सकिन्छ।
प्रकाशित: १४ आश्विन २०८३ ०६:०५ बुधबार

