२० पुस २०८२ आइतबार
image/svg+xml
सम्पादकीय

नेतृत्व हस्तान्तरणको नक्सा

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले दलको नेतृत्व हस्तान्तरण प्रक्रिया सुरु गरेर मुलुकको राजनीतिमा देखिएको विषम परिस्थितिलाई सम्बोधन गर्न खोजेका छन्। गत भदौ २३–२४ को जेनजी आन्दोलनपछि सम्पत्ति र शरीरमाथिको आक्रमणसमेत भोग्न बाध्य उनी ३५ दिनपछि पत्नी एवं तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवासहित सार्वजनिक भएका हुन्। दलको कार्यवाहक सभापतिको नेतृत्व पनि उनले अर्का वरिष्ठ नेता पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेका छन्। देउवा दम्पती यति गरेर उपचारका निम्ति विदेश भ्रमणमा निस्केका छन्। विद्यार्थी आन्दोलनबाटै उदाएका देउवाले नवयुवा विद्यार्थीहरूकै आन्दोलनका कारण राजनीतिबाट बाहिरिनुपरेको कटु यथार्थ यतिबेला अनुभव गरेका छन्। यति हुँदाहुँदै पनि नेतृत्व हस्तान्तरण प्रक्रिया सुरु गरेर देउवाले फेरि एक पटक धमिलो राजनीतिलाई सुधार गर्ने मार्ग प्रशस्त गरेको रूपमा यसलाई लिइएको छ।

कांग्रेसमा यसरी नेतृत्व हस्तान्तरण विगतमा पनि पटक–पटक भएको हो। बिपी कोइरालाले आफ्नो अनुपस्थितिमा दलको नेतृत्व नेतात्रय कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालालाई दिएका थिए। पञ्चायतका कठिन दिनमा पनि नेत्रात्रयले आफ्नो अनुपम भूमिका निर्वाह गरी विद्रोहको दियोलाई निभ्न दिएनन्। त्यसैको परिणामस्वरूप २०४६ सालमा वामपन्थी दलहरूसँग मिलेर जनआन्दोलन सफल पार्न सकिएको हो। नेतृत्वमा हरहमेसा एउटै व्यक्ति रहिरहन सक्दैन। आन्दोलनलाई अगाडि लिएर जान सक्ने नेतृत्व चयन गरी आफूले विश्राम लिनु सुझबुझपूर्ण राजनीतिक व्यक्तिको कर्तव्य हुन आउँछ। नेतृत्वबाट बलात् निकालिने परिस्थिति मात्र सिर्जना गर्नु सधैं सुखद हुँदैन। यसले अनाहकमा व्यक्तित्वको क्षयीकरण र आन्दोलनको विखण्डनलाई मात्र प्रोत्साहित गर्छ।

कांग्रेसले फेरि पनि विगतमा जस्तै नेतृत्व हस्तान्तरण प्रक्रिया सुरु गर्नु बुद्धिमत्तापूर्ण कदम हो। अहिलेको परिस्थिति विषम छ। यो बेला राजनीतिलाई बुझेर नयाँ नेतृत्वलाई दलको नेतृत्व हस्तान्तरण गर्न सकियो भने मात्र विगतको विरासत भविष्यसम्म लैजान सकिन्छ। समयमा निर्णय नगर्ने नेतृत्वले आफूलाई मात्र घाटा पुर्‍याउँदैनन्, तिनले दललाई समेत रसातलमा पुर्‍याउँछन्। नेकपा (माओवादी केन्द्र) ले पनि आगामी महाधिवेशनतर्फ आफूलाई लगिसकेको छ। यसका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई महाधिवेशन आयोजक समितिको संयोजकमा सीमित गरिसकेका छन्। हुन त उनले आफू अध्यक्षबाट हटेर आफैंलाई महाधिवेशन आयोजक समितिको संयोजक तोकेकोमा आलोचनासमेत भएको छ। त्यसलाई व्यंग्य गर्दै भनिएको छ– मैले अध्यक्ष छाडेँ, मैले अध्यक्ष छाडिनँ। जेहोस्, उनले आगामी नेतृत्वका निम्ति मार्गप्रशस्त गरेका छन्।

यसै पनि दलको नेतृत्व परिवर्तन हुनु र नहुनुलाई सार्वजनिक सञ्चार माध्यमको विषय बनाइनुहुन्छ वा हुँदैन भन्ने विमर्श पनि यदाकदा हुने गर्छ। तर, हाम्रो लोकतन्त्रका अभियन्ता भनेका दल नै हुन्। ती दल राम्ररी चल्न सकेनन् भने लोकतन्त्र पनि चल्न सक्दैन। त्यसैले यसको गतिशीलताका निम्ति पनि दलको नेतृत्वले यथार्थमै नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। यसै पनि जेनजी आन्दोलनको तारो नेताहरू हुनुमा तिनको भूमिका केही हदसम्म जिम्मेवार छ। मानिस उमेरका आधारमा मात्र असान्दर्भिक हुँदैन, कहिलेकाहीं तिनले लिने निर्णय प्रक्रियाले पनि असान्दर्भिक बनाउन सक्छ। त्यसैले दलको नेतृत्वलाई परिवर्तन हुनुपर्दैन भन्न मिल्दैन। दलहरूको कार्यशैलीमाथि निरन्तर खबरदारी हुनुपर्छ। त्यसको नेतृत्व निर्माण प्रक्रियामाथि पनि ध्यान पुर्‍याउनैपर्ने हुन्छ।

अहिले नेतृत्व हस्तान्तरणमा सबैभन्दा कठिन अवस्थामा रहेको दल नेकपा (एमाले) हो। मुलुकभरि बलियो  संगठन रहेको भनिए पनि एमालेले अहिले निर्णायक भूमिका खेल्न सकेको छैन। यसका अध्यक्ष एवं जेनजी आन्दोलनले राजीनामा गर्न बाध्य पारेका प्रधानमन्त्री केपी शर्मा ओलीले अझैं पनि नेतृत्व नछाड्ने प्रस्ट संकेत गरेका छन्। उनले नेतृत्व हस्तान्तरणका निम्ति आग्रह गर्ने दलका अन्य नेता तथा कार्यकर्तालाई पनि ‘सँगै हिँड्न नसकिने’ भनेर  तर्साइसकेका छन्। उनका निम्ति जेनजी आन्दोलन ‘प्रतिक्रान्ति’ हो। त्यसविरुद्ध आफू सक्रिय हुनुपर्छ भन्ने भाव उनमा देखिन्छ। तर, उनले यो परिस्थितिमा दल नयाँ नेतृत्वलाई जिम्मा दिएर बलियोसँग अगाडि बढ्ने बाटो दिन चाहेको देखिएको छैन।

वास्तवमा ओलीलगायतको वरिष्ठ राजनीतिक नेतृत्वले एउटा तहमा मुलुकलाई योगदान गरिसकेको छ। अहिलेको परिस्थितिलाई बुझेर दललाई नयाँ नेतृत्व दिनसक्ने व्यक्तिहरू चयन गर्नतिर लाग्नु उचित हुन्छ। यसले मात्र उनको योगदानको कदर गर्ने अवस्थामा पुर्‍याउँछ। मुलुकको विषम अवस्थाका निम्ति आफू जिम्मेवार रहेको महसुस गर्नु र तदनुकूल व्यवहार गर्नु आवश्यक छ। त्यसो गर्न नसक्ने हो भने एमालेलाई थप असजिलो हुने निश्चित छ। आफूलाई नेतृत्वबाट हट्न ‘फेसबुक’ले भन्ने होइन, आफ्नो पार्टी पंक्तिले भन्ने हो भन्ने उनको राय छ। तर, उनी आफूलाई पार्टी पंक्तिबाट आएको सुझाव मान्न तयार नभएको नेताका रूपमा उभ्याएका छन्। एक त उनको दलमा पहिल्यैदेखि धेरैजसो बोल्न नसक्ने अवस्थामा छन्। अर्को जो बोल्न सक्छन्, तिनले पनि कोपभाजनको सिकार हुनुपर्ने अवस्था छ। अहिलेको परिस्थितिलाई बुझेर धेरै ढिठ नभई नेतृत्व हस्तान्तरणमा लाग्नु नै श्रेयस्कर हुन्छ। देउवाले सुरु गरेको यो अभियान सबै दलमा पुग्न सक्यो भने स्वाभाविक रूपमा जेनजी आन्दोलनको अभिष्ट पूर्तिमा समेत सहयोग पुग्नेछ। यसले ती दललाई आगामी निर्वाचन सामना गर्नसमेत मद्दत पुग्छ।  

प्रकाशित: ३० आश्विन २०८२ ०६:०४ बिहीबार

Download Nagarik App
Download Nagarik App