२० वैशाख २०८३ आइतबार
image/svg+xml
सम्पादकीय

हिमाली अनिश्चितता

सोलुखुम्बुको पर्यटकीय खुम्जुङ गाउँमा पछिल्ला वर्षमा जलवायुजन्य प्रभाव देखिन थालेका छन्। नाम्चे बजार छेउमै रहेको यो गाउँले भोगेको यथार्थ केवल सामान्य कथा होइन, यो समग्र हिमाली भूभागका लागि गम्भीर चेतावनी हो। ‘पहिला हिउँ आउँथ्यो, अहिले झिँगा र भुसुना’ स्थानीय महिलाको यो अनुभवले यस क्षेत्रमा जलवायु परिवर्तनको तीव्रता प्रस्ट पार्छ। करिब चार हजार मिटर उचाइमा रहेको बस्तीमा हिउँ पर्ने समय फेरिनु, तापक्रम बढ्नु, पानीका मुहान सुक्नु र कृषि उत्पादन घट्नुजस्ता संकेतले हिमाली संवेदनशीलता र अनिश्चिततालाई उजागर गर्छन्। प्रमुख अन्नबालीका रूपमा रहेको आलुको उत्पादन आधाले घटेको खुम्जुङका किसानको अनुभव छ। प्रस्ट छ, यो केवल व्यक्तिगत दुःख होइन, यसले समग्र ग्रामीण अर्थतन्त्र र खाद्य सुरक्षामा परेको गहिरो असर हो।

यो समस्या केवल खुम्जुङ वा नेपालका अन्य हिमाली क्षेत्रमा मात्र सीमित छैन। समग्र हिन्दुकुश, हिमालय क्षेत्र अहिले विश्वकै सबैभन्दा छिटो तापक्रम बढिरहेको क्षेत्रमध्ये एक हो। यस क्षेत्रमा रहेका हजारौं हिमनदी तीव्र गतिमा पग्लिरहेका छन्। अध्ययनहरूले देखाउँछन्– वर्तमान प्रवृत्ति यथावत् रह्यो भने शताब्दीको अन्त्यसम्म यो क्षेत्रका एकदेखि दुईतिहाइसम्म हिमनदीहरू हराउन सक्छन्। यसले करोडौं मानिस निर्भर भएका एसियाका ठुला नदी प्रणालीहरू गम्भीर जोखिममा पार्नेछ। जलचक्रमा आउने यस्तो असन्तुलनले भविष्यमा खानेपानी र सिँचाइको अभाव निम्त्याउनेछ।

प्रस्ट छ, नेपाल यस संकटको केन्द्रविन्दुमा छ। उच्च हिमालदेखि तराईसम्म फैलिएको नेपालको भौगोलिक बनावटका सन्दर्भमा सानो तापक्रम वृद्धि पनि ठुलो विपत्तिमा परिणत हुन्छ। हिमाली क्षेत्रमा तापक्रम राष्ट्रिय औसतभन्दा छिटो बढिरहेको छ, जसले हिमनदी पग्लने दर बढाएको छ। यसले दीर्घकालीन रूपमा पानीका स्रोत घटाउने र छोटो अवधिमा हिमताल फुट्नेजस्ता जोखिम बढाउने देखिएको छ। पहाडी क्षेत्रमा पहिरोको  

संख्या र तीव्रता बढ्दै गएको छ भने तराईमा बाढी र तातो लहरजस्ता समस्या गम्भीर बन्दै गएका छन्।

विशेषगरी खुम्जुङलगायतका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव बहुआयामिक छ। खेतीपातीमा अनियमितता, चरन क्षेत्रको ह्रास, जैविक विविधतामा गिरावट र पर्यटन क्षेत्रमा अनिश्चितता, यी सबैले स्थानीय जीवनलाई अस्थिर बनाइरहेका छन्। पानीका मुहान सुक्दै जाँदा महिलाहरूलाई दैनिक जीवनमा बढी बोझ पर्न थालेको छ। बालबालिकाको शिक्षा प्रभावित हुँदै छ र युवा पुस्ता वैदेशिक रोजगारीतर्फ आकर्षित भइरहेको छ। यसले सामाजिक संरचना मात्र होइन, सांस्कृतिक पहिचानमा समेत दीर्घकालीन असर पार्न सक्छ।

हिन्दुकुश क्षेत्रका अन्य देशहरू अफगानिस्तान, पाकिस्तान, चीन, भारत र भुटान पनि यस्तै चुनौतीसँग जुधिरहेका छन्। कतै विनाशकारी बाढी, कतै लामो खडेरी, कतै हिमपहिरो र पहिरोको जोखिम तीव्र बन्दै गएका छन्। हिन्दुकुश हिमालय क्षेत्र विश्वका करिब दुई अर्ब मानिसका लागि पानीको स्रोत हो तर जलवायु परिवर्तनले यही आधारभूत स्रोतलाई अस्थिर बनाइरहेको छ। त्यसैले यो संकट केवल वातावरणीय होइन, क्षेत्रीय सुरक्षा र मानव अस्तित्वसँग जोडिएको प्रश्न हो।

मानव अस्तित्व र पारिस्थितिकीय प्रणालीलाई चुनौती दिएको जलवायु परिवर्तनको समस्या समाधानतर्फ ध्यान दिन अब ढिला गर्नुहुँदैन। अब हामीसँग समय सीमित छ। त्यसैले अबको प्राथमिकता जलवायु सहनशीलता निर्माण हो। यो विषयलाई राष्ट्रिय र क्षेत्रीय प्राथमिकता बनाउनुपर्छ। हिमाली क्षेत्रमा साना जलाशय, वर्षा पानी संकलन र स्थानीय स्तरमा मौसम पूर्वानुमान प्रणाली विकास गर्न जरुरी छ।

यसैगरी जलवायु अनुकूलनका उपायहरूलाई स्थानीय ज्ञान र वैज्ञानिक अनुसन्धानसँग जोड्नुपर्छ। बदलिँदो मौसमी अवस्थाको पृष्ठभूमिमा जलवायु–सहिष्णु बाली, माटो संरक्षण र सामुदायिक वन व्यवस्थापनलाई सुदृढ बनाउन उत्तिकै आवश्यक छ। हिमनदीको संरक्षण र जलस्रोत व्यवस्थापन अर्को महत्त्वपूर्ण पक्ष हो, जसमा विशेष ध्यान दिनुपर्छ। जोखिमयुक्त हिमतालहरूको नियमित निगरानी, प्रारम्भिक चेतावनी प्रणाली र आपतकालीन पूर्वतयारी अनिवार्य छन्।

यस सन्दर्भमा क्षेत्रीय सहकार्य उत्तिकै अपरिहार्य छ। हिन्दुकुश–हिमालय क्षेत्र बहुराष्ट्रिय भएकाले साझा नीति, तथ्यांक साझेदारी र संयुक्त अनुकूलन रणनीति विकास गर्नुपर्छ। यो दिशामा केही प्रगति त भएको छ तर अझै पर्याप्त छैन।

अर्को महत्त्वपूर्ण विषय भनेको जलवायु न्याय र कूटनीतिमा नेपालले नेतृत्वदायी भूमिका लिनु हो। न्यून उत्सर्जनका बाबजुद उच्च असर भोगिरहेको देशको रूपमा नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु वित्त, प्रविधि हस्तान्तरण तथा हानि–नोक्सानीको क्षतिपूर्तिको मागलाई सशक्त रूपमा उठाउनुपर्छ।

खुम्जुङको कथा केवल एउटा गाउँको पीडा होइन, यो सम्पूर्ण हिमालयको भविष्यको संकेत हो। अहिले नै दीर्घकालीन, वैज्ञानिक र समावेशी उपाय अवलम्बन गरिएन भने हिन्दुकुशदेखि नेपालसम्म फैलिएको यो संकट भोलिका दिनमा अपरिवर्तनीय विपत्तिमा परिणत हुनेछ। नेपालको एक हिमाली गाउँले दिएको चेतावनीलाई अब बेवास्ता गर्ने ठाउँ छैन। यो चेतावनीलाई अवसरमा बदल्ने समय यही हो।

प्रकाशित: १७ वैशाख २०८३ ०६:१० बिहीबार