१२ पुस २०८२ शनिबार
image/svg+xml
सम्पादकीय

सर्वसाधारणका असाधारण संकट

सर्वसाधारणको जीवन भोगाइमा अनेकन ठगी छन्। सुशासन नपाउँदाको भोगाइ। देशभित्र र बाहिर बेचिँदाको भोगाइ। यिनै भोगाइमा छ– सर्वसाधारणको जीवन कठिनाइ। सर्वसाधारणले कुन बेला ठगिनुपर्छ कुनै ठेगान छैन। देशभित्रै कैयन कामको सिलसिलामा ठगिनु स्वाभाविक हो। सरकारी सेवा पाउने बेलामा त्यसैगरी ठगिनु पर्छ। विदेश जाने नाममा ठग्नेको लाम छ। बल्ल बल्ल दुई सरकारबिच सहमति भएर विदेश जाने मौका पाइरहेकालाई फेरि मेनपावरमार्फत् ठग्न पनि उत्तिकै तयार छन्।

राजधानी काठमाडौं नजिकै नुवाकोटको बेलकोट गाउँका एकजना सर्वसाधारणलाई रक्सी ख्वाएर बेहोस बनाइ मिर्गौला झिकिएको रहेछ। भारतमा काम लगाइदिने भन्दै उनलाई आफ्नै जिल्लाका एक व्यक्तिले भारत लिएर गएछन्। गत पुसमा उनी भारत पुग्ने बित्तिकै उनलाई भेटेका मानिसले रक्सी पिउन दिए। त्यसपछि उनी मुर्छित भए। थाहा पाउँदा उनको मिर्गौला झिकिसकिएको थियो। झुक्याएर मानव अंग चोरी गर्ने क्रम पछिल्ला वर्षमा चलिरहेको छ। त्यसो त सर्वसाधारणलाई मिर्गौला बेच्न बाध्य पारेका घटना कैयन छन्। राजधानी आसपासकै काभ्रेका सर्वसाधारणलाई समेत भारतमा पुर्‍याएर मिर्गौला बेच्न बाध्य पारेका घटना धेरै वर्षअघिदेखि समाचारमा आइरहेका छन्।

मिर्गौला र अन्य अंग आफूले चाहेको नाताको मानिसलाई मात्र दिन सकिने अवस्था यहाँ छ। कैयन सर्वसाधारणलाई भने भारतसम्म डोहोर्‍याएर अंग निकाल्ने र बेच्ने गतिविधि भइरहेका छन्। अझ काठमाडौंका गल्लीमै यसको दुरूपयोग हुन थालिसकेको समेत समाचारमा सार्वजनिक भइरहेको छ। नेपाल प्रहरीले बेलाबेलामा सार्वजनिक गरेको तथ्यअनुसार पनि यहाँ यस किसिमको बेथिति चलिरहेको छ। घरबार बिहीन कैयन व्यक्तिसमेत अंग बेचबिखनको चपेटामा पर्ने गरेका छन्। सडकमा रहेका बालबालिकालाई समेत मानव अंग तस्करी गर्ने समूहले दुरूपयोग गर्दै आएको प्रहरीको जानकारीमा नभएको होइन।

घरबारबिहीन र परित्यक्त बालबालिका मात्र होइन सामान्य मानिससमेत यसबाट कुनै पनि बेला ठगिन सक्ने अवस्था छ। रोजगारीको आवश्यकता कसलाई छैन र ? प्रलोभन दिएर यस्ता मानिसलाई लैजान कुनै गाह्रो छैन। कैयन व्यक्तिलाई आफ्नो स्वास्थ्यअवस्थाका कारण मानव अंग आवश्यक हुन्छ। हामीकहाँ परिवारका मानिसले मात्र मानव अंग दान दिन सक्ने अवस्था छ तर भारतका कैयन अस्पतालमा यस्ता कारोबार खुलेआम हुने गरेका छन्। त्यसको शिकार भने कुनै न कुनै रूपमा सर्वसाधारण हुने गरेका छन्। नेपाल प्रहरीको मानव बेचबिखनविरुद्धको अनुसन्धान ब्युरोले यस्ता खबर बेलाबेलामा सार्वजनिक गर्दै पनि आएको छ।

आखिर हाम्रोजस्तो मुलुकमै किन यस्तो हुन्छ ? संविधानले व्यक्तिलाई उपचारको सुविधा सुनिश्चित गरेको छ। स्वास्थ्य सेवा पाउने सुनिश्चित गरे पनि सबैले यो सुविधा पाउन सक्दैनन्। कतिपयले जीवनको पछिल्लो कालखण्डमा आफूलाई आवश्यक पर्ने जुगाडसमेत गर्न सक्दैनन्। त्यस्तो अवस्थामा तिनले आफ्ना अंग बेचेर पनि गुजारा गर्नुपर्ने हुन्छ। काभ्रेपलाञ्चोकको होक्से भन्ने ठाउँ यसअघि नै कैयन पटक समाचारको विषय भएको छ। एउटाले मिर्गौला बेचेर आएपछि उसैले अरूलाई पनि यस्तो बाटोमा लगाउने गरेको देखिएको छ। कैयन अन्तर्राष्ट्रिय सञ्चार माध्यमले समेत नेपालको यो अवस्थालाई चित्रण गरेका छन्। यति हुँदाहुँदै पनि सरकारले यो अवस्थाको अन्त्यका निम्ति भूमिका निर्वाह गर्न सकेको देखिँदैन।

मानव अंगमा सबैभन्दा धेरै माग मिर्गौलाको रहेको छ। कालो बजारीमा संलग्न व्यक्तिहरूले यसको माग पूरा गर्दै आएका छन्। ग्लोबल फाइनान्सियल इन्टिग्रिटीले २०७२ सालतिर निकालेको एक प्रतिवेदनअनुसार सात हजारसम्म मिर्गौला यस्तै अवैध व्यापारबाट हासिल हुने गरेको छ। यस दृष्टिले अहिले यसको माग निकै माथि पुगिसकेको अनुमान गर्न गाह्रो छैन। मिर्गौलाको गैरकानुनी व्यवसाय दक्षिण एसियामा फैलिएको अनुमान भइरहेको छ। कैयनले यस्तो गैरकानुनी धन्दामा आफूलाई लगाएर राम्रोसँग आयआर्जन पनि गरिरहेका छन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले समेत दक्षिण एसियालाई विश्वकै अग्रणी ‘ट्रान्सप्लान्ट पर्यटन’ का रूपमा चित्रण गरेको थियो। प्रतिवर्ष दुई हजारभन्दा बढी भारतीयले विदेशीलाई आफ्ना मिर्गौला बेच्ने गरेका छन्।

जहाँ माग हुन्छ, त्यहाँ आपूर्ति स्वाभाविक हुन्छ। धेरै मानिस आफ्नो जीवनमा आर्थिक कठिनाइ भोगेर बाँचेका छन्। यस्तो अवस्थामा तिनलाई आर्थिक अभाव पूरा गर्ने एउटा माध्यम यो पनि बन्न पुगेको छ तर यसले ती मानिसको जीवनलाई जोखिममा पारेको छ। कानुनले तोकेअनुसार परिवारका सदस्यलाई मिर्गौला दिने व्यक्तिको स्वास्थ्यका लागि पनि उत्तिकै ध्यान दिइएको हुन्छ तर व्यापारको दृष्टिले बिक्री गर्ने व्यक्तिको अवस्था कठिन हुन सक्छ। यस्तो अवस्थामा सरकारले सर्वसाधारणलाई कसरी जोगाउने हो, त्यसतर्फ ध्यान दिनुपर्छ। मिर्गौला आदि अंग मरणोपरान्त दान दिन सक्ने अवस्थालाई प्रोत्साहन गर्ने र बढीभन्दा बढी आवश्यकतामा परेकालाई दिने व्यवस्था गर्नुपर्छ। यसले मात्र कसैको जीवन बाँच्छ र अनाहकमा सर्वसाधारणको जीवन खतरामा पर्नबाट जोगिन्छ।

प्रकाशित: २८ श्रावण २०८२ ०५:५० बुधबार

Download Nagarik App
Download Nagarik App