१० पुस २०८२ बिहीबार
image/svg+xml
सम्पादकीय

सारवान् सम्बन्ध

हाम्रो मुलुकले उत्तरको विशाल छिमेकी चीनसँग दौत्य सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको छ। हाम्राबिच इतिहासका केही घटनाबाहेक सधैं सुमधुर सम्बन्ध रहेको छ। दौत्य सम्बन्ध स्थापनायता कुनै ठुला विवाद छैनन्। साना मुलुकको सार्वभौमसत्ताको पक्षमा आफूलाई मुखर तुल्याउँदै आएको चीनको उपस्थिति यस क्षेत्रको शान्ति, स्थिरता र विकासका निम्ति उल्लेख्य छ। त्यसमा पनि नेपालको भौगोलिक उपस्थिति यस क्षेत्रका दुई ठुला मुलुक चीन र भारतबिच हुनु आफैं विशाल अवसर पनि हो। वास्तवमा इतिहासमा नेपालले यी दुईबिचको सेतु बनेर व्यापार व्यवसायमा ठुला उपलब्धि हासिल गरेको छ। कुनै हिसाबले अहिले नेपाल पछि परेको जस्तो देखिए पनि यी दुई मुलुकबिच हुनु नै नेपालका निम्ति सम्भावनायुक्त भविष्यको सुनिश्चितता हो।

चीनले कैयन घटनाक्रममा नेपाललाई साथ दिएको छ। जननेता विपी कोइरालाको भ्रमणका क्रममा चीनका तत्कालीन चेयरम्यान माओत्से तुङले नेपालको चाहनाअनुसार सीमा विवाद सुल्झाउन मदत गरेका थिए। त्यति मात्र होइन सगरमाथा सम्बन्धी विवाद पनि त्यतिबेलै टुंगिएको थियो। सगरमाथालाई दुई देशबिच बराबर बाँडेका कारण आज नेपालले गर्वका रूपमा लिने गरेको छ। यसैकारण नेपाललाई सगरमाथाको देश भनेर चिनाउने अवसर प्राप्त भएको छ। उच्च नेताबिचको त्यो विश्वास र सद्भाव नभएको भए अहिलेसम्म कति पटक हामीले विवादमा पर्ने अवस्था आउने थियो। यस अर्थमा पनि दुई देशबिचको सम्बन्ध हार्दिक र मैत्रीपूर्ण छ।

आजको चीन आर्थिक शक्ति राष्ट्रका रूपमा उदाइरहेको छ। यसको अहिलेको आर्थिक प्रगतिकै आधारमा पनि सन् २०३० अर्थात् आजको पाँच वर्षमा विश्वको पहिलो अर्थतन्त्र हुने अनुमान गरिएका छन्। कोभिड– १९ अघिको अनुमानमा २०३० मै पहिलो अर्थतन्त्र भने पनि विभिन्न कारणले त्यतिबेला लक्ष्य हासिल नगरे पनि उसको सफलता अवश्यम्भावी रहेको अनुमान भइरहेका छन्। विश्व अर्थतन्त्रका ठुला खेलाडी एसियाकै चीन र भारत हुनु यसै पनि नेपालका निम्ति गर्वको विषय मात्र होइन यसको सकारात्मक प्रभाव पनि यहाँ पर्ने निश्चित छ। त्यकारण पनि नेपालले तिनको विकासबाट फाइदा लिनपट्टि लाग्नुपर्ने देखिन्छ।

पश्चिमा मुलुकमा नेपालप्रति सधैं सकारात्मक रहँदै आएको अमेरिकाले दिने कतिपय सहायता यतिबेला कटौती भएका छन्। यसको विकास संस्था अमेरिकी सहयोग नियोग बन्द भएपछि त्यसले पारेका प्रभाव छँदैछन्। तैपनि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को निरन्तरताले एउटा आशाको सन्देश दिएको छ। तैपनि अमेरिकी राष्ट्र पनि डोनाल्ड ट्रम्पको ‘अमेरिका पहिलो’ नीतिपछि हाम्राजस्ता मुलुकले पनि आफ्ना लागि सहयोगी हुनसक्ने मुलुकसँग सम्बन्ध राख्न र त्यहाँबाट आफ्नालाई स्रोत जुटाउन लाग्नुपर्छ भन्ने सिकाइ बढेको छ। अझ विगतमा जस्तो तथष्टथताको नीतिले काम गर्दैन बरु आफूलाई सहयोग गर्ने मुलुकप्रति निकटताको सम्बन्ध राख्नुपर्छ भन्ने टिप्पणीसमेत हुन थालेका छन्। द्वन्द्व समाधाधान र मानवीय सहायताजस्ता क्षेत्रमा तथष्टताले काम गरे पनि आजको जटिल परिस्थितिमा यो परम्परागत हतियार काम नलाग्ने भइसकेको छ। यसकारण पनि आफ्नो मुलुकको परिस्थितिअनुरूप सम्बन्धको विशिष्टीकरण र विविधतामा ध्यान दिनुपर्ने अवस्था छ।

विगतमा भौगोलिक अवस्था आदिका कारण नेपालको चीनसँग प्रत्यक्ष सम्बन्ध सहज थिएन। खुला सीमासँग जोडिएका कारण भारतसँग जहिल्यै नेपालको सम्बन्ध राम्रो हुनुपर्छ भन्ने सुझाव चिनियाँ नेताहरूले विगतमा दिने गरेका थिए। आजको परिस्थिति भिन्न छ। नेपालले चीनसँगका आफ्ना नाका खुलाएर ‘कनेक्टिभिटी’ बढाएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले अघिसारेको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ मा नेपालसमेत सहभागी भएको छ। नेपालको विकासमा चीनले ‘एड’ (अनुदान) भन्दा ‘ट्रेड’ मा ध्यान दिन भन्दै आएको छ। नेपालले आफ्नो क्षमता विकास गरेर आफूलाई सामान बिक्री गरोस्, व्यापार बढाओस् भन्ने नीति चीनले लिएको देखिन्छ। नेपालले क्षमता बढाएर चीन र भारत दुवैसँग व्यापार गर्दा लाभ हुन्छ। यसै पनि चीन र भारतले आपसमा पनि ठुलो मात्रामा व्यापार गर्दै आएका छन्। तिनका बिचमा केही प्रतिस्पर्धाका विषय भए पनि एकअर्कालाई तिनले नकारेको स्थिति छैन।

यसकारण पनि नेपालले चीनसँग मैत्रीपूर्ण सम्बन्धलाई बलियो बनाउँदै उसको अन्वेषण, विकास र आधुनिकीकरणबाट फाइदा उठाउनुपर्छ। चीनले जुन मात्रामा गरिबीलाई यसबिचमा जितेको छ, त्यो हाम्रा निम्ति पनि अनुकरण र उत्साहको पक्ष हो। प्रविधि क्षेत्रमा चीनले गरेको उन्नति आफैंमा लोभलाग्दो छ। कागजी नोट र बारुदको आविष्कार गरेर इतिहासमा नाम लेखाउने चीनले अहिले पश्चिमा विश्वलाई समेत हल्लाउने गरी सूचना प्रविधिको अत्याधुनिक उपज कृत्रिम बौद्धिकतासम्ममा उपलब्धि हासिल गरेको छ। चीनले अन्तरिक्षदेखि जीवनका अनेकन आयाममा पश्चिमा विश्वलाई समेत आश्चर्यचकित तुल्याउँदै आएको छ।

कुनै बेला भोकमरीले आक्रान्त मुलुक आज समृद्धि यात्रामा अग्रसर छ। यस्तो मुलुकसँग नेपालले सन् १९५५ अगष्ट १ मा स्थापना गरेको दौत्यसम्बन्धलाई आजको सन्दर्भमा पनि उत्तिकै महत्त्वका साथ हेर्नुपर्छ। औपचारिक सम्बन्ध स्थापनाको ७० वर्ष भए पनि हामी दुई मुलुकको सम्बन्ध सदियौं पुरानो छ। यो सम्बन्ध सगरमाथाभन्दा अग्लो छ। नेपाल–चीन सम्बन्ध अमर रहोस्।

प्रकाशित: १६ श्रावण २०८२ ०५:५८ शुक्रबार

Download Nagarik App
Download Nagarik App