आमचुनावको पूर्वसन्ध्यामा दलका उम्मेदवार तथा नेताले सार्वजनिक मञ्चमा बोल्ने विषय, भाषा तथा प्रस्तुति चासोको विषय बन्छ। झन् खास खास समुदाय तथा क्षेत्रलक्षित टिप्पणीले तत्तत् नेताप्रतिको सर्वसाधारणको धारणा र चुनावी नतिजामा समेत प्रभाव पर्न सक्ने हुन्छ। यो विषय विगतमा जति संवेदनशील थियो, अहिले पनि उत्तिकै छ। नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र विविध भौगोलिक क्षेत्रमा बाँडिएको राष्ट्र हो र सदियौंदेखि नेपालीहरू विविधताका बाबजुद पनि एकता र आपसी सद्भावमा रहँदै आएका छन्।
चुनावी प्रचारप्रसारमा निश्चित दल र समुदायलाई फाइदा पुग्ने गरी सद्भावलाई बिथोल्ने प्रयास हुने गर्छ। त्यसमा सबै सचेत हुन जरुरी छ। यो सन्दर्भमा एमालेका नेता महेश बस्नेत र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि व्यक्त गरेका भनाइ विवादास्पद बन्न पुगे। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्दै मैथिली भाषामा भनेका थिए, ‘आइ एगो मधेसी छौरा प्रधानमन्त्री बनेवाला हैं, तइ लेल घण्टी मे भोट नइ दइ के हइ, सही लोग आबै हइ, तइ लेल मत दइ के हइ।’ उनले ‘आज मधेसको एउटा छोरा प्रधानमन्त्री बन्दै छ भनेर घण्टीमा भोट दिने होइन, सही मान्छे आउँदै छ भनेर त्यसका लागि मत दिने हो’ भनेका थिए। मैथिली भाषाका बालेन्द्रले भनेको ‘छौरा’ शब्दको अर्थ नेपालीमा ‘ठिटो’ वा ‘केटो’ हुन्छ।
बालेन्द्रका आलोचक रहँदै आएका एमाले नेता महेश बस्नेतले एक सार्वजनिक कार्यक्रमा बालेनको त्यही ‘छौरा’ शब्दलाई ‘छाउरा’का रूपमा व्याख्या गरेर ठट्टा गरेका थिए। उनको त्यो भनाइको चौतफी आलोचना भयो। भाषाविद्, आफ्नै पार्टीका नेता र अन्यको चर्काे विरोधपश्चात् उनले सार्वजनिक सञ्जालमार्फत उक्त भनाइलाई फिर्ता लिँदै आफ्नो भनाइले कसैलाई चोट पुगेको भए माफीसमेत मागे। चुनावको पूर्वसन्ध्यामा विचार नपु¥याई बोलिएको यो भनाइले कसैको हित गरेन। अहिले पनि सामाजिक सञ्जालमा उनको यो भनाइलाई लिएर आलोचना भइरहेको छ र चुनावमा मधेसले यसको प्रत्युत्तर दिने भनाइसमेत आइरहेका छन्। यो अनपेक्षित हो।
यसैगरी पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले एउटा टेलिभिजन च्यानलको अन्तर्वार्तामा ‘झापाको दमक सफा नगरहरूमध्ये पर्छ, व्यवस्थित नगरहरूमध्ये पर्छ। महोेत्तरी, धनुषाजस्तो अवस्थामा होइन, त्योभन्दा धेरै एडभान्स छ, सफासुग्घर बेग्लै छ। उहाँ (बालेन्द्र) त्यो कल्चरबाट आएको मान्छे यस कल्चरमा उहाँले गुइँठा बाल्न सिकाउनुहुन्छ कि के गर्नुहुन्छ, मलाई थाहा छैन। यो ठाउँ त धेरै एडभान्स छ नि’ भनेका थिए। ओलीको उक्त भनाइले मधेसलाई अपमान गरेको भन्दै सामाजिक सञ्जालमा निकै आलोचना भयो। उनले अभिव्यक्ति आफ्ना चुनावी प्रतिस्पर्धी बालेन्द्रलक्षित भए पनि यो भनाइले ती जिल्लाका स्थानीयले असजिलो महसुस गर्नु स्वाभाविक हो।
यसैगरी रास्वपाका उम्मेदवार खगेन्द्र सुनारले गाईको मासुको विषयमा बोलेको भनेर सामाजिक सञ्जालमा आएको भनाइ पनि विवादास्पद बनेको छ। यसको सामाजिक सञ्जालमा चर्काे विरोध भइरहेको छ। कतिपय स्थानका उनको पुत्ला दहनसमेत भएका भिडियो सामाजिक सञ्जालमा देख्न सकिन्छ। आफ्नो सामाजिक सञ्जालमा उक्त भनाइको खण्डन गर्दै आफू शाकाहारी रहेको र आफ्नो भनाइलाई तोडमोड गरेर घृणा फैलाउने कार्य भएको सुनारले दाबी गरेका छन्। उता, विश्व हिन्दु महासंघले सुनारको भनाइप्रति रास्वपाका अध्यक्ष रवि लामिछानेले प्रस्टीकरण गर्नुपर्ने मागसमेत गरेका छन्। रास्वपाका बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार समेत रहेका सुनारलाई निर्वाचन आयोगले मंगलबार स्पष्टीकरण सोधेको छ। यस विषयमा सत्यतथ्य आउने नै छ तर यस्ता विषयले सामाजिक तथा धार्मिक सद्भाव बिथोल्ने निश्चित छ।
स्मरणीय छ, केही साताअघि मात्र रौतहटका केही युवाले सामाजिक सञ्जालमा सम्पे्रषण गरेका घृणात्मक विषयवस्तुबाट सुरु भएको एक विवाद मधेस प्रदेशका विभिन्न स्थानमा हिन्दु तथा मुस्लिम समुदायबिच द्वन्द्व र वीरगन्जमा कफ्र्युसमेत लगाउनुपर्ने स्थितिमा पुगेको थियो। विशेषगरी साम्प्रदायिक सद्भाव खलबल्याउन पछिल्ला दिनमा सामाजिक सञ्जाल, मिथ्या सूचना र केही हदसम्म गलत समाचार सम्प्रेषण जिम्मेवार देखिएका छन्। अफवाह, उक्साहट, राजनीतिक स्वार्थ र सामाजिक सञ्जालमार्फत फैलाइने घृणात्मक सामग्रीले यस्ता घटनाका लागि भूमिका खेलेको देखिन्छ। चुनावको बेला नेताको बोलीको सन्दर्भ संवेदनशील बन्ने गर्छ। निहित उद्देश्य बोकेर धार्मिक, सांस्कृतिक, सामाजिक सद्भाव बिथोल्न चाहनेलाई सामाजिक सञ्जाल सजिलो माध्यम बनेको छ। सामाजिक सञ्जाल वा अन्य माध्यममा कसैको भनाइलाई सजिलै तोडमोड गर्ने गरिन्छ। एआईको प्रयोगले यसलाई झनै सहज पारेको छ।
नेपालले अशिक्षा, गरिबीसँग लड्नुपर्ने समयमा घृणा, हिंसा र विभाजनमा समाज धकेलिँदा हिंसा बढाउन चाहने मुट्ठीभर व्यक्तिबाहेक कसैको स्वार्थपूर्ति हुँदैन। आधुनिक समाजमा यो अस्वीकार्य विषय पनि हो। यस प्रकारका घटनाले समग्र समाज, राज्य तथा नागरिक सबैलाई कमजोर पार्छ। त्यसैले संयम, संवाद र सहअस्तित्वको बाटो अवलम्बन गर्नु नै अहिलेको पहिलो आवश्यकता हो। सबैभन्दा महत्त्वपूर्ण विषय नेपालले आफ्नो बहुसांस्कृतिक र बहुधार्मिक चरित्रलाई कायम राख्नुपर्छ र यो विषयमा सबै सजग सजक रहनुपर्छ।
प्रकाशित: १५ माघ २०८२ ०६:१४ बिहीबार

