५ भाद्र २०८२ बिहीबार
image/svg+xml १४:३८ अपराह्न
सम्पादकीय

सही शब्द

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अधिनायकवाद’ शब्दको प्रयोगप्रति असन्तुष्टि प्रकट गरेका छन्। हिजो आफू र आफ्नो पुस्ताले जेल, हतकडी र कालकोठरीको कठोर यातना भोगेको स्मरण गर्दै आजको ‘लोकतान्त्रिक सहजता’ त्यही बलिदानको प्रतिफल रहेको उनको धारणा छ। अहिले जथाभाबी ‘अधिनायकवादी’ शब्द प्रयोग गर्नेहरूले वास्तविक तानाशाही र त्यसको पीडा नभोगेको भनाइ ओलीको छ।

त्यसो त प्रधानमन्त्री ओली आफूलाई लागेका धेरै विषयमा विचार व्यक्त गर्छन्। उनलाई टोपी कसरी लगाउनेदेखि भाषाका कति वरियता हुन्छन् भन्नेसम्मका विषयमा ज्ञान छ। कुनै प्रधानमन्त्रीले जीवनका हरेक क्षेत्रमा प्रतिक्रिया व्यक्त गरेको सम्भवतः यो पहिलो पटक हुनुपर्छ। तैपनि शब्दका तीन शक्ति अभिधा, लक्षणा र व्यञ्जनाको प्रयोग गर्न अब्बल विपी कोइराला, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीजस्ता प्रधानमन्त्री मुलुकले पाइसकेको छ। वर्तमान प्रधानमन्त्री पनि यस्ता अनेकन विषयमा जानकार छन्। त्यसैले उनी पत्रकारले ‘तिमी’ शब्द लेख्दा पनि आपत्ति प्रकट गर्छन्।

सबै पक्ष सापेक्षित हुन्छ। कतै माइनस २० डिग्री चिसो भएका ठाउँमा पाँच डिग्री बढेर माइनस १५ हुँदा न्यानोपन महसुस हुन सक्छ। अति गर्मी भएका ठाउँमा केही शीतल हुँदा पनि त्यसले विशेष अर्थ राख्छ। हाम्रोजस्तो अति स्वतन्त्र ठानिएको मुलुकका निम्ति थोरै अवरोध हुँदा पनि प्रतिक्रिया ठुलो हुन सक्छ। त्यस्तो बेलामा स्वतन्त्रतामा थोरै तलमाथि हुँदा केही गहन शब्दको प्रयोग हुन सक्छ। निश्चित रूपमा अधिनायकवाद वा स्वतन्त्रताविरुद्ध रहेको समाजको मानक यसमा हुने अभ्यासले निर्धारण गर्छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित ‘बीपी कोइराला राष्ट्रिय पुरस्कार–२०८१’ समर्पण समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले ‘अधिनायकवाद’ शब्दको प्रयोगबारे आपत्ति प्रकट गरेका हुन्। ‘अहिले कुनै कुरामा चित्त बुझेन भने अधिनायकवादी भनिदिए पुग्छ तर अधिनायकवाद कस्तो हुन्छ भन्ने कुरा त्यसबेला भोग्ने विपीहरू र हामीहरूलाई थाहा छ,’ उनले भने, ‘जेल, हतकडी र कालकोठरी भोग्नेहरूलाई थाहा हुन्छ। अहिले प्रजातन्त्र आएको छ, सजिलो भएको छ।’

अहिलेको पुस्तालाई स्वतन्त्रता जन्मिदै प्राप्त भएको हो। हिजोको पुस्ताले स्वतन्त्रताका निम्ति कति संघर्ष गर्‍यो भन्ने थाहा नभए पनि त्यसको उपभोगमा तिनलाई कसैले रोक्न सक्दैन। तथापि हिजोको त्यो संघर्षबारे अहिलेको पुस्तालाई बुझाउन नसकेको भने निश्चित हो। त्यसरी बुझाउन नसक्दा स्वतन्त्रता सजिलै प्राप्त भएको जस्तो महसुस हुन्छ तर अहिलेको स्वतन्त्रता विना मूल्यको होइन। यसका निम्ति धेरै ठुलो बलिदान दिइएको छ।

स्वतन्त्रताका निम्ति हिजो आफूले गरेको संघर्षको कथा भन्दै गर्दा त्यसको अवमूल्यन किन भइरहेको छ भन्ने पक्षमा पनि ध्यान पुग्नुपर्छ। उदारवादी विचार र व्यवहारले मात्र स्वतन्त्रताको मूल्य सबैलाई बुझाउन सहज हुन्छ। आफूले गरेको संघर्ष धेरै अनि अहिले कम भन्ने हुँदैन। प्रत्येक पुस्ताको जीवनमा संघर्ष हुन्छन्। ती संघर्षमा राजनीतिले कसरी सहयोग पु¥याएको छ भन्ने पक्ष महत्त्वपूर्ण हुन आउँछ। हिजो राजनीतिक सुधारका निम्ति गरेको संघर्षभन्दा आज जीविकाका निम्ति सर्वसाधारणले गरेको संघर्ष पनि उत्तिकै उल्लेख्य छ। कैयन परिवारले जीवनयापनकै निम्ति बिदेसिनु परेको छ। शिक्षा, स्वास्थ्य र जीवनका अन्य पक्षलाई अगाडि बढाउनै गाह्रो भइरहेको छ। त्यसलाई सहज बनाउन पनि राजनीतिको भूमिका उल्लेख्य हुन आउँछ।

हिजो गरेको योगदानका निम्ति आफैंले बखान गरिरहनु पनि उचित हुँदैन। हिजो योगदान गरेकै कारण आज देशले महत्त्वपूर्ण जिम्मेवारीमा पनि पुर्‍याएकै छ। हिजोको संघर्षको गौरवगाथाले मात्र आजका जीवनका व्यथा निको हुन सक्दैनन्। आजको जीवन सहज बनाइदिएपछि अधिनायकवादको आरोप पनि लाग्न छाड्छ। मानिस हुन्, तिनले प्रतिक्रिया व्यक्त गर्छन्। तिनीहरू बोल्छन्। तिनलाई बोल्न दिनु पनि पर्छ। त्यसले मात्र अहिलेको व्यवस्था अरू सहज हुन्छ। अझ सर्वप्रिय बन्छ।

कानुन निर्माण गर्दा, सामाजिक सञ्जालमा आफ्नो अनुहार हेर्दा र आम मानिसले जीविकाका सबाल उठाउँदा आफ्नै विरोध गरेको भन्ने ठान्नु हुँदैन। आम मानिसले जति धेरै सुविधा पाउँछन्, तिनले त्यति नै असन्तुष्टि पनि व्यक्त गर्छन्। असन्तुष्टि नै थप विकासलाई प्रेरित गर्ने पक्ष हो। त्यसैले अहिलेको व्यवस्थालाई कसैले ‘अधिनायकवादी’ भनेछन् भने त्यसो किन भनिएको रहेछ भनेर कारण खोज्नु उचित हुन्छ। यसलाई थप सुधार गर्दै जाँदा नै वर्तमान नेतृत्वको उचाइ बढ्छ। शब्दको अर्थ समय सापेक्ष नै हुनेगर्छ भन्ने कुरा पनि नभुलौं।  

प्रकाशित: १२ श्रावण २०८२ ०५:५८ सोमबार

Download Nagarik App
Download Nagarik App