२ असार २०८३ मंगलबार
image/svg+xml
सम्पादकीय

चिया निर्यातमा उल्झन

कृषि उपजको मुख्य बजार नजिकैको छिमेकी मुलुक भारतमा रहनु भौगोलिक हिसाबले सहज भए पनि नेपाली तयारी चिया निर्यातमा भने सधैँ सास्ती खेप्नु परिरहेको छ। यस अघिसम्म भारतीय पक्षबाट अघोषित रूपमा भारतीय पक्षबाट हुने गरेको नेपाली चिया आयात यो पटक भने अझ गम्भीर रूपमा सतहमा देखिएको छ।

चियाको ‘फर्स्ट फ्लस’ हुने वैशाख-जेठमै भारतीय चिया बोर्डले दर्जनौँ मापदण्ड लागु गरेपछि नेपाली चिया निर्यात जटिल बनेको छ। सीमावर्ती क्षेत्रबाट नेपाली चियाको हरियोपत्ती किनेर भारतीय चिया उद्योगले उत्पादन गरेको तयारी चिया ‘गुणस्तर’को मानिने तर नेपाली उद्योगबाट गएको त्यही बगानको चिया चाहिँ खेपैपिच्छे प्रयोगशाला परीक्षण गर्नुपर्ने अवस्था सिर्जना भएको किसानको गुनासो छ। यसअघि एक पटक नमुना परीक्षण गरेपछि २० गाडीसम्म चिया निर्यात गर्न सकिने प्रावधान थियो। तयारी चिया बिक्री नै अन्योल भएपछि इलामको सूर्योदय नगरपालिका ५३ चिया उद्योग असार १ देखि बन्द गरिएका छन्। उद्योगीले उत्पादन बिक्री नहुँदा किसानको हरियोपत्तीको मूल्य दिन नसकिने जनाउँदै अनिश्चित कालका लागि उद्योग बन्दको घोषणा गरेका हुन्। झापाका थप ३० उद्योगले यही कारण देखाउँदै असार ४ देखि उद्योग बन्दको घोषणा गरिसकेका छन्। 

भारतीय चिया बोर्डले १ मे २०२६ मा नेपालबाट आयात गरिने चियामा स्टेन्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी) लागु गर्‍यो। यसमा प्रत्येक गाडीमा लगिएको चियाको गुणस्तर परीक्षण अनिवार्य गरियो। एसओपी लागु गरिएपछि यसको रिपोर्ट आउन २० दिनभन्दा बढी लाग्छ। रिपोर्ट नआउन्जेल बेच्न पाइँदैन। रिपोर्ट नराम्रो आए त्यहीँ नष्ट गर्नुपर्ने वा फिर्ता ल्याउनुपर्ने बाध्यता बनेको छ। त्यसले नेपाली किसानहरू दोहोरो मारमा परेका छन्। 

बर्सेनि चार अर्ब हाराहारीको तयारी चिया निर्यात हुन्छ। निर्यातमध्येको ९० प्रतिशत हिस्सा भारतीय बजारकै रहेको अनुमान गरिन्छ। उच्च गुणस्तरको अर्ग्यानिक अर्थाेडक्स चिया ताइवान, जर्मनी, फ्रान्सलगायत दर्जनभन्दा बढी मुलुकमा निर्यात हुन्छ। सरकारले नजिकैको अर्को छिमेकी चीनसँग सरकार र सरकार (जिटुजी) मार्फत् चिया निर्यात गर्ने प्रयास गरेको बताएको निकै समय बितिसके पनि नतिजा आउन सकेको छैन। नेपाली चियाको बजार विशेषगरी भारतमै भर रहनु अहिलेको मुख्य समस्याका रूपमा देखिएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले ‘नेपाल टी क्वालिटी फर्म दि हिमालयज’ लोगोसमेत जारी गरेको छ। तर, यो प्रभावकारी देखिन सकेको छैन।

इलाम र झापाका चिया किसान र उद्योगीले यसअघि पनि पटक-पटक सरकारको ध्यानाकर्षण नगरेका होइनन्। उनीहरूको सामूहिक आवाज नै उत्पादनको बजार सहज बनाइयोस् भन्ने नै छ। पछिल्लो पटक पनि उद्योगीले गत वैशाख २७ मा काठमाडौं नै पुगेर प्रधानमन्त्रीको कार्यालय र परराष्ट्र मन्त्रालयसँग कूटनीतिक पहलका लागि आग्रह गरे। सरकारलाई तत्काललाई पहल गरेपछि भारतीय चिया बोर्डले १९ मे २०२६ मा भारतीय घरेलु बजारमा नेपाली चिया बिक्री गर्न पाइने व्यवस्था गर्‍यो। नेपाली उत्पादनको केही हिस्सा त्यतिबेला भारतमा बिक्रीसमेत भयो। तर, पुनः त्यही बोर्ड १९ मेको विज्ञप्ति आधिकारिक नभएको भन्दै १ मेकै प्रावधानमा कडाइ गरेपछि पुरानै समस्या बल्झिएको हो।

नेपाली चियाको उत्पादन लागत अधिक भए पनि दिगो र भरपर्दो बजार अहिलेको आवश्यकता हो। नेपालमै अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशाला स्थापना हुन नसक्नुले अन्यत्रकै प्रयोगशालामा निर्भर रहने बाध्यता नेपाली चिया/किसानलाई छ। यसो गरिँदा नेपाली परीक्षणमा हुने पारदर्शितामा पनि संशय उत्पन्न भएको देखिन्छ। त्यसैले नेपालीमै कृषि उपजको गुणस्तर परीक्षण गर्ने प्रयोगशाला स्थापना गर्नु समस्याको एक हदसम्मको समाधान नै हुन्छ। तत्काल भइरहेको समस्यामा कूटनीतिक प्रयासमार्फत समस्याको समाधान खोजिनुपर्छ। नत्र, चियाजस्तो एक दिन पत्ती नटिप्दा करोडौँ रुपैयाँको नोक्सान हुने वस्तुलाई भोलि-पर्सि भन्न थालियो भने क्षतिको हिसाब निकै ठुलो आकारको हुने देखिन्छ।

सरकारले विभिन्न देशसँग अन्तरसरकारी संयन्त्र स्थापना गरी चियासहित कृषि उपज बिक्रीको दीर्घकालीन बाटो पहिल्याउनुपर्छ। किसानलाई उत्पादनको गुणस्तर वृद्धि र आवश्यक प्राविधिक सहयोग गर्नुपर्छ।

प्रकाशित: २ असार २०८३ ०६:०७ मंगलबार

Download Nagarik App