विश्वप्रसिद्ध जर्नल ल्यान्सेटले बुधबार सार्वजनिक गरेको जलवायु र स्वास्थ्यको अन्तर्सम्बन्धसम्बन्धी नवौं प्रतिवेदनले मानव अस्तित्वमा आएका संकटबारे गहिरो विश्लेषण गरेको छ। ‘ल्यान्सेट काउन्टडाउन अन हेल्थ एन्ड क्लाइमेट’ नामक उक्त प्रतिवेदनले जलवायु परिवर्तनले मानव अस्तित्वमा पारिरहेको गहिरो प्रभावबारे चेतावनीसमेत दिएको छ।
यसअघि हृदयाघात र क्यान्सरजस्ता रोग विश्वव्यापी रूपमा मृत्युका मुख्य कारणका रूपमा चिनिएकोमा नयाँ प्रतिवेदनले अब जलवायु परिवर्तन पनि त्यस्तै खतरनाक स्वास्थ्य चुनौतीका रूपमा उभिएको तथ्य सार्वजनिक गरेको छ। यसमा विश्वले तत्काल ध्यान दिनु र सम्बोधन गर्नुपर्ने यसले प्रस्ट पारेको छ।
युनिभर्सिटी कलेज लन्डनको अगुवाइमा विश्वका ७१ विभिन्न शैक्षिक सस्था र संयुक्त राष्ट्र संघीय निकायका १२८ वैज्ञानिकले तयार पारेको यो प्रतिवेदनले पृथ्वीका आधारभूत प्रणालीहरू अपेक्षाभन्दा छिटो अस्थिर हुँदै गएको देखाएको छ। जलवायु परिवर्तनका कारण अभूतपूर्व हिसाबमा तापक्रम वृद्धि, तीव्र खडेरी, असामान्य वर्षा र रोग फैलाउने लामखुटे तथा अन्य जीवाणुहरू जस्ता वाहकको विस्तार भएको पाइएको छ।
ल्यान्सेटका अनुसार सन् २०२०–२०२४ मा मानिसले भोगेका उष्णलहरका ८४ प्रतिशत दिन जलवायु परिवर्तनबिना सम्भव थिएनन्। १९९० को दशकपछि गर्मीका कारण हुने मृत्यु ६३ प्रतिशतले बढेका छन्। यसरी गर्मीका कारण सन् २०१२ देखि २०२१ बिचको अवधिमा वार्षिक सरदरमा पाँच लाख ४६ हजारको मृत्यु भएको छ। यो हिसाबले हरेक लगभग एक मिनेटमा एकजनाको मृत्यु हुने गरेको छ।
प्रतिवेदनका अनुसार सन् १९६१–१९९० का तुलनामा सन् २०१५–२०२४ मा अत्यधिक वर्षा हुने दिनको तथ्यांक विश्वका ६४ प्रतिशत भूभागमा विस्तार भएको छ। यसैगरी सन् २०२४ मा विश्वको कुल भूभागको ६१ प्रतिशत क्षेत्र खडेरीबाट प्रभावित रहेको र यो मात्रा सन् १९५० को दशकमा तीन गुणाले बढेको देखिएको छ। वनडढेलोको धुवाँ पनि तापमान वृद्धिसँग जोडिएको छ। यही कारणले सन् २०२४ मा एक लाख ५४ हजारको मृत्यु भएको प्रतिवेदनको आँकलन छ। त्यस्तै, जीवाश्म इन्धन दहनबाट उत्पन्न वायु प्रदूषणले प्रत्येक वर्ष २५ लाख मानिसको मृत्यु गराउने देखिएको छ।
प्रतिवेदनले देखाएको अर्को चिन्ताजनक पक्ष अत्यधिक प्रशोधित खानामाथिको निर्भरता हो। प्रतिवेदनका अनुसार अस्वस्थ आहारका कारण मृत्यु हुनेको संख्या सन् २०२२ मा एक करोड १८ लाख थियो, जसमध्ये १९ लाख मानिसको मृत्यु रातो मासु र दुग्धजन्य पदार्थको अत्यधिक सेवनका कारण भएको पाइएको छ। प्रस्ट छ, स्वस्थ र जलवायुमैत्री आहार अनुसरण गरेको भए यी मृत्युलाई सजिलै रोक्न सकिने थियो। स्वस्थ आहार अपनाउने, वृक्षरोपणमा लगानी गर्ने र दिगो कृषि प्रणाली आत्मसात गर्नेजस्ता उपाय अब केवल पर्यावरणका लागि होइन, सार्वजनिक स्वास्थ्यका मुख्य रणनीतिहरू बन्नुपर्ने देखिएको छ। प्रतिवेदनको निष्कर्ष के हो भने जलवायु परिवर्तनले पृथ्वीका प्राकृतिक प्रणाली र वातावरणीय अवस्था क्रमश: अस्थिर बनाइरहेको छ, जसमा मानव जीवन निर्भर छ।
यो संकट समाधान गर्न वैज्ञानिकहरूले तीन प्रमुख कार्य गर्न सुझाएका छन्। जसमा तापक्रम र प्रदूषण दुवै घटाउन सहयोग गर्न नवीकरणीय र स्वच्छ ऊर्जाको विस्तार, आवास र सार्वजनिक पूर्वाधारलाई अत्यधिक मौसम प्रतिरोधी बनाउने तथा विश्वव्यापी स्वास्थ्य प्रणालीलाई सुदृढ पार्नुपर्ने विषय रहेका छन्। यसो गर्न सकेमा मात्र मानव समुदाय जलवायु संकटले ल्याउने नयाँ स्वास्थ्य चुनौतीसँग सामना गर्न सक्षम हुनेछ।
ल्यान्सेट २०२५ को प्रतिवेदनले जलवायु परिवर्तन अब केवल वातावरणीय समस्या मात्र होइन, मानव स्वास्थ्यको प्रत्यक्ष संकट हो भन्ने देखाएको छ। उष्णलहर, वायु प्रदूषण, अस्वस्थ आहार र वनडढेलो, यी सबै आजको स्वास्थ्य संकटका नयाँ रूप हुन्। अब विश्वले यसलाई ‘स्वास्थ्य आपत्काल’का रूपमा नलिएसम्म आगामी दिनमा परिणाम झन् भयावह बन्ने निश्चित छ। यसरी जलवायु संकट क्रमश: स्वास्थ्य संकट बन्न पुगेको छ। तापक्रमको प्रत्येक अंश वृद्धिले जीवन र जीविकोपार्जनमा ठुलो प्रभाव पार्ने देखिएको छ।
यति ठुलो चुनौती हुँदाहुँदै पनि विश्व समुदायले देखाएको जलवायु निष्क्रियता चिन्ताको विषय हो। यो संकट समाधानमा आवश्यक पर्ने जलवायु–कार्य नै वर्तमानको सबैभन्दा ठुलो स्वास्थ्य अवसर हो। सफा हावा, स्वस्थ आहार र मजबुत स्वास्थ्य प्रणालीमार्फत हामीले लाखौं ज्यान बचाउन सक्छौं र वर्तमान तथा आगामी पुस्तालाई सुरक्षित गर्न सक्छौं। यसमा कुनै सम्झौता हुनुहँुदैन।
प्रकाशित: १४ कार्तिक २०८२ ०६:०७ शुक्रबार

