काठमाडौं उपत्यकामा हैजाका दुई शंकास्पद बिरामी भेटिएको समाचार सार्वजनिक भएको छ। यद्यपि दुवै बिरामीमा आरडिटीबाट संक्रमणको संकेत देखिए पनि कल्चर परीक्षणबाट अझै पुष्टि भएको छैन। त्यसैले अहिले नै त्रास फैलाउने र आत्तिने अवस्था छैन। तर, जोखिमलाई हल्का रूपमा लिने अवस्था पनि छैन। विगतका हैजा महामारीले सिकाएको पाठ के हो भने अन्य रोगझैं यस रोगको सन्दर्भमा पनि ढिलो प्रतिक्रियाभन्दा छिटो सतर्कता धेरै प्रभावकारी हुन्छ।
त्यसो त, मनसुन सुरु भएसँगै नेपालमा झाडापखाला र पानीजन्य रोग बढ्नु नियमितजस्तै हो। वर्षाको पानीले ढल मिसिएको पानी पिउने स्रोतमा पुग्नु, खानेकुरा दूषित हुनु, सडकछेउका अस्वच्छ खाद्य पदार्थको प्रयोग बढ्नु र सुरक्षित खानेपानीको अभावले हैजाजस्ता रोग फैलिने वातावरण बन्छ। काठमाडौं उपत्यकाको अवस्था झन् संवेदनशील छ। तीव्र सहरीकरण, अव्यवस्थित ढल प्रणाली, पुराना पाइपलाइन, चुहावट हुने खानेपानीका पाइप र फोहोर व्यवस्थापनको कमजोरीले जोखिमलाई अझ बढाएको छ।
हैजाको प्रमुख कारण दूषित पानी र दूषित खाना हुन्। त्यसैले यसको नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय पनि सुरक्षित खानेपानी, सरसफाइ र खाद्य स्वच्छता हो। पछिल्ला वर्षमा काठमाडौंमा पानीको आपूर्ति बढे पनि त्यसको गुणस्तरबारे जनविश्वास अझै कमजोर छ। अझै पनि कतिपय स्थानमा खानेपानीको पाइप ढलसँगै गाडिएका छन्। पाइपमा चुहावट हुँदा ढलको पानी मिसिने जोखिम रहन्छ। घरघरमा आपूर्ति हुने पानी उमालेर वा शुद्धीकरण नगरी पिउने बानी पनि यसै सन्दर्भमा जोडिएको अर्को समस्या हो।
अझै पनि राजधानीमा खानेपानीको गुणस्तरको नियमित अनुगमन अत्यन्त कमजोर मानिन्छ। पानी वितरण गर्ने निकायले केवल आपूर्ति बढाएर उनीहरूको जिम्मेवारी पूरा हुँदैन। उपभोक्ताको धारासम्म पुग्ने पानी सुरक्षित छ कि छैन भन्ने परीक्षण नियमित हुनुपर्छ। जीवाणुको उपस्थिति लगायतका अन्य परीक्षण सार्वजनिक गर्ने प्रणाली विकास गर्न आवश्यक छ। सुरक्षित पानी स्वास्थ्य अधिकारको आधारभूत सर्त हो।
उता, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रशोधित पिउने पानी, होटल, रेस्टुरेन्ट, क्यान्टिन तथा सडकछेउ बिक्री हुने खाद्य पदार्थको अनुगमन तीव्र पारेको जनाएको छ। यो स्वागतयोग्य कदम हो तर अनुगमन केवल हैजाको आशंका देखिएपछि मात्र हुने ‘मौसमी गतिविधि’ बन्नुहुँदैन। बजारमा बिक्री हुने जारको पानी, बोतलको पानी, खुला पेय पदार्थ, बरफ तथा तयार खानेकुराको गुणस्तर वर्षभरि कडाइसाथ परीक्षण हुनुपर्छ। मापदण्ड उल्लंघन गर्नेलाई कारबाही नगरेसम्म अनुगमनको प्रभाव देखिँदैन।
सरकारले अहिले गरेको अर्को सकारात्मक काम भनेको रोग निगरानी प्रणाली सक्रिय राख्नु हो। शंकास्पद बिरामी देखिएलगत्तै महाशाखालाई जानकारी गराउने व्यवस्था, आरडिटी किटको उपलब्धता, औषधि तथा आवश्यक सामग्री तयारी अवस्थामा राखिनु सकारात्मक प्रक्ष हुन् तर रोग नियन्त्रणमा निगरानी नै सबैभन्दा महत्त्वपूर्ण अस्त्र हो। प्रत्येक अस्पताल, स्वास्थ्य संस्था र स्थानीय तहबिच सूचना आदानप्रदान छिटो हुनुपर्छ। झाडापखालाको संकेत देखिनेबित्तिकै नमुना परीक्षण, बिरामीको सम्पर्क खोजी र सम्भावित स्रोत पहिचान तत्काल गर्नुपर्छ। यही प्रणाली र सक्रियताले सानो संक्रमणलाई महामारी बन्नबाट रोक्न सक्छ।
यस सन्दर्भमा सर्वसाधरणको भूमिका पनि कम महत्त्वपूर्ण छैन। झाडापखाला र बान्तालाई सामान्य समस्या ठानेर घरमै बस्ने प्रवृत्ति खतरनाक हुन सक्छ। यस्तो लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा पुग्नुपर्छ। साबुनपानीले हात धुने, पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउने, ताजा तथा राम्रोसँग पकाएको खाना खाने र खुला तथा अस्वच्छ खानेकुराबाट टाढा रहने सामान्य सावधानीले पनि ठुलो जोखिम घटाउन सक्छ।
विगतमा नेपालले हैजाको प्रकोप भोगिसकेको छ। त्यसैले अहिलेको अवस्थालाई बेवास्ता गर्नु बुद्धिमानी हुँदैन। कल्चर परीक्षणले हैजा पुष्टि नगरे पनि अहिलेको संकेतले हाम्रो खानेपानी, सरसफाइ र खाद्य सुरक्षा प्रणालीका कमजोरीलाई औंल्याइरहेको छ। रोग पुष्टि भएपछि मात्र सक्रिय हुने होइन, पुष्टि हुनुअघि नै जोखिम न्यूनीकरण गर्ने संस्कृति विकास गर्नुपर्छ। महामारी नियन्त्रणको सफलता अस्पतालमा होइन, समुदास्तरमै तय हुन्छ।
समयमै कडा निगरानी, सुरक्षित खानेपानीको सुनिश्चितता, बजार अनुगमनको प्रभावकारी कार्यान्वयन र जनचेतना अभिवृद्धि गर्न सकियो भने शंकास्पद संक्रमणलाई महामारीमा रूपान्तरण हुनबाट सजिलै रोक्न सकिन्छ। अहिलेको आवश्यकता भनेको अनावश्यक त्रास नभई प्रमाणमा आधारित सतर्कता, जिम्मेवार सरकारी संयन्त्र र नागरिकको सचेत सहभागिता हो। यही नै काठमाडौंलाई सम्भावित हैजाबाट जोगाउने सबैभन्दा भरपर्दो उपाय हुनेछ।
प्रकाशित: ३२ असार २०८३ ०६:०१ बिहीबार

