१ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
सम्पादकीय

प्रेमिल प्रहरी

मुलुकमा भएको जेनजी आन्दोलनपछि आफूलाई सुधार गर्ने संस्थामध्ये नेपाल प्रहरी अग्र पंक्तिमा देखिएको छ। जेनजीकै भाषा र शैलीमा अहिले प्रहरीले ‘भ्यालेन्टाइन्स डे’लाई जोडेर ट्राफिक अनुशासनसम्बन्धी सन्देश प्रवाह गरिरहेको छ। जसको भाषाशैली जस्तो हुन्छ, त्यसलाई त्यस्तै ढंगले बुझाउन खोज्दा सहज हुन्छ। यो पक्षलाई प्रहरीले आत्मसात गरेको देखिएको छ। विश्वव्यापीकरणसँगै विभिन्न संस्कार र संस्कृति समाजमा फैलन्छन्। हाम्रो समाजमा पनि प्रेम उत्सव नभएको होइन। तर, विश्वव्यापीकरणसँगै यसलाई ‘भ्यालेन्टाइन्स’ सप्ताहका रूपमा फेबु्रअरीको दोस्रो सातामा मनाउने गरेको देखिएको छ।

यही समयलाई नेपाल प्रहरीले उपयोग गर्दै युवाहरूमा सुगम्य तरिकाले ट्राफिक सन्देश, आर्थिक अपराध र ठगीबाट बच्ने उपाय आदिबारे सन्देश प्रवाह गरिरहेको छ।

सडक अनुशासन यसकारण पनि आवश्यक छ, जसको अभावमा जीवन, परिवार र समाजमाथि गम्भीर असर पर्छ। यसै पनि हाम्रो देशमा सडक दुर्घटनाबाट ज्यान जाने र अंगभंग हुने संख्या निकै ठुलो छ। नेपालमा प्रतिदिन कम्तीमा ७५ सडक दुर्घटना हुने गर्छन्। हाम्रो देशमा बर्सेनि करिब दुई हजार पाँच सयको मृत्यु हुने गरेको छ। दुर्घटना, त्यसबाट हुने मृत्यु र अंगभंग हुने संख्या निरन्तर बढिरहेको छ। सडक विस्तार हुँदै गर्दा र सवारी साधन उपयोग पनि बढ्दै जाँदा दुर्घटना बढ्नु स्वाभाविक हो। त्यसबाहेक पनि सडकको स्तर, सवारी साधनको अवस्था र सवारी साधन प्रयोगकर्ताको मानसिकता धेरै अर्थमा दुर्घटनाको कारक बन्छ।

सडकको धर्सो खुल्न नपाई त्यसमा सवारी चलाउने हतार हुन्छ। तर, सवारी चलाउने सडकको यथोचित रेखांकन, संकेत र सावधान आवश्यक हुन्छ। सडक यातायात र यसका प्रयोगकर्ता नियमनमा जति बस्छन्, त्यति नै यसबाट हुने दुर्घटना कम हुन्छ। हवाई यातायातको कुरा गर्ने हो भने यो अत्यन्तै नियमन गरिएको क्षेत्र हो। त्यसैले एउटा दुर्घटना हुँदा पनि संसारभरिका निम्ति समाचार बन्छ। त्यसको अनुसन्धान हुन्छ। सवारी दुर्घटना जति भए पनि त्यसमा सम्बन्धित परिवार र केही सरोकारवालाबाहेक धेरैका निम्ति चासो हुँदैन। एक हिसाबले यो नियमित आकस्मिकताका रूपमा स्वीकार गरेको देखिन्छ।

त्यसैगरी बढ्दो सूचना प्रविधिको प्रयोगले आर्थिक अपराध बढिरहेका छन्। विभिन्न बहानामा ठगी गरिरहेको देखिन्छ। सर्वसाधारणसँग पिन वा एक पटकको पासवर्ड (ओटिपी) आदि मागेर ठगी गरेको देखिन्छ। कैयन् पढेलेखेका व्यक्तिसमेत ठगहरूको जालमा परेको देखिन्छ। आर्थिक उपार्जन मेहनतबाट हुन्छ। तर, कतै चिट्ठा परेको वा अनलाइन काम गरेको भनेर सजिलै आम्दानी हुँदैन। चिट्ठा पर्नलाई आफूले त्यसलाई खरिद गरेको पनि हुनुपर्छ। अनलाइन काम पाएको हो भने पनि त्यसको अग्रिम सम्झौता हुन्छ र त्यो काम गराउने व्यक्ति र संस्थाको जानकारी हुन्छ। तर, अनलाइनको मायावी संसारलाई नबुझी यसमा हाम फाल्दाका अनेकन् समस्या हुन सक्छन्। यस्तो विषयलाई सहज ढंगले बुझाउन खोज्नुलाई सकारात्मक रूपमा लिनुपर्ने हुन्छ।

प्रहरीले आर्थिक अपराधलाई बुझाउने गरी हाम्रो ध्यानाकर्षण गराएको छ। भ्यालेन्टाइन सप्ताहको पहिलो दिनमा प्रहरीले आफ्नो सामाजिक सञ्जालमा लेखेको छ– ‘माया गर्नेले मन माग्छ तर साइबर ठगले तपाईंको ओटिपी र पासवर्ड माग्छ।’ माया गर्ने र ठगी गर्नेबिच यसरी बुझाउन खोज्नु उपयुक्त हो। कसैले अनावश्यक रूपमा निकटता देखाउँदै मायामा ठक्कर लगाउने र आर्थिक अपराधको गोलचक्करमा घुमाउने खतरा सदैव हुन्छ। पछिल्ला वर्ष डिजिटल प्रविधि प्रयोग गरी ठगीका गतिविधि बढ्दै गएका छन्। ‘रोमान्स स्क्याम’, नक्कली सामाजिक सञ्जाल प्रोफाइल, अनलाइन ठगी, ओटिपी मागेर बैंक खाताबाट रकम चोरी गर्ने घटना पछिल्ला वर्ष निकै बढेका छन्।

प्रहरी र सर्वसाधारणबिच निकट साइनो हुन्छ। राज्यका कतिपय अंग र निकाय नागरिकसँग प्रत्यक्ष सम्बन्धमा हुँदैनन्। प्रहरी त सडकदेखि जीवनका अनेकन् गतिविधिमा जोडिएको हुन्छ। सडकमा हुने सामान्य विवाद मिलाउनेदेखि देशमा भइरहेका दंगा नियन्त्रणसम्म यसको संलग्नता हुन्छ। कुनै बेला हाम्रो समाजमा शिक्षकलाई बाटो देखाउने व्यक्तिका रूपमा चिनिन्थ्यो। अचेल शिक्षकभन्दा पनि बढी प्रहरी समाजमा घुलमिल गरेको देखिँदै छ। मुलुकमा निरंकुश एकदलीय शासन व्यवस्था भएका बेला प्रहरीको उपस्थिति नागरिकलाई डर देखाउने निकायका रूपमा मात्र हुन्छ। तर, लोकतान्त्रिक शासन व्यवस्थाभित्रको प्रहरीले नागरिकलाई मित्रका रूपमा सहयोग गरिरहेको हुन्छ। त्यसैकारण ‘प्रहरी मेरो साथी’जस्ता अभियान पनि बेलाबेलामा चलेको देखिन्छ।

सबै निकायले समयानुकूल आफूलाई परिवर्तन गर्नुपर्छ। जेनजी आन्दोलनका क्रममा प्रहरीमाथि ज्यादती भएको थियो। त्यसयता प्रहरीले आफूलाई झन् बढी सुधार गरेको देखिँदै छ। बाटोमा भेटिएका प्रहरीको मिठो बोली सुनिँदै छ। ठगी, झन्झट र दुर्घटनाबाट जोगाउन पनि जिम्मेवार साथीको भूमिकामा प्रहरी सक्रिय हुन थालेको छ। प्रहरी पनि हाम्रै समाजका दाजुभाइ र दिदीबहिनी हुन्। तिनले हरेक ठाउँमा सेवा गरेर हाम्रो जीवन सहज बनाएका छन्। उनीहरू रातभरि नसुतेर हामीलाई मिठो निद्रा दिएका छन्। यसकारण पनि हाम्रा प्रेमिल प्रहरीलाई अहिलेको यो भूमिकाका लागि साधुवाद भन्नुपर्ने हुन्छ।

प्रकाशित: १ फाल्गुन २०८२ ०५:५८ शुक्रबार

Download Nagarik App