केही दिनयता मुलुकमा अभिव्यक्त हुँदै आएका प्रतिक्रिया उत्साहजनक छैनन्। गत भदौ २३–२४ को जेनजी आन्दोलन र त्यसको आडमा भएको आगजनी र तोडफोडपछि निम्तिएको भयावह स्थितिले अझै पनि आम मानसिकतालाई आश्वस्त पार्न सकेको छैन। कुनै पनि बेला यो मुलुकमा अरू खतरनाक घटना हुन सक्छन् भन्ने भयको मानसिकता चौतर्फी देखिन्छ। तुलनात्मक रूपमा हाम्रो समाज उत्थानशील छ। जति ठुला घटना भए पनि त्यसलाई पचाउँदै अगाडि बढ्ने गरेको छ। तर यसपटक नेपाली आत्मविश्वासमाथि निकै गहिरोसँग आक्रमण भएको छ।
हाम्रो मुलुक इतिहासमै ठुला राजनीतिक परिवर्तन गर्न सफल भएको हो। यसपटकको परिवर्तनले धेरैलाई झस्काइदिएको छ। आफूलाई मन नपर्ने व्यक्तिको सम्पत्ति र जीवनमाथि धावा बोलेको यो अवस्थाले धेरैलाई चिन्ताको भुमरीमा पारिदिएको छ। कुनै पनि समाजमा बल हुनेले अर्कोमाथि थिचोमिचो गर्ने प्रवृत्ति बढ्यो भने पालैपालो सबैका सम्पत्ति खरानी बनाउने र व्यक्तिमाथि आक्रमण गर्ने अवस्था आउँछ। नेपाल एउटा गम्भीर मोडमा उभिएको महसुस यतिबेला प्रस्ट रूपमा हुँदै छ।
विगतमा जहिल्यै राजनीतिक परिवर्तन भएपछि सत्तामा रहेका पूर्ववर्ती समूहप्रति धेरै गाह्रो अवस्था रहँदैनथ्यो। छिटफुट आक्रमण भए पनि तिनको बास उठाउने गरी आगजनी भएका घटना थिएनन्। केही समयका निम्ति राजनीतिक गतिविधि गर्ने बेलामा तिनीमाथि अवरोध हुन्थ्यो। अहिलेको जस्तो अवस्था हुन्थ्यो भने २०४६ सालको परिवर्तनपछि पूर्वपञ्चहरू राजनीतिमा आउन सक्ने अवस्था हुँदैनथ्यो। उनीहरूले आन्दोलनको सफलतालगत्तै दल खडा गरेर राजनीति गर्न पाएका हुन्। नेपाली समाज त्योबेलासम्म क्षमाशील रहेको हो । तिनले विगतमा गरेका कामका निम्ति माफी दिँदै अगाडि बढ्ने हैसियत पनि प्रदान गरेको हो।
यसपटक जेनजी आन्दोलनपछि जसरी देशलाई खरानी बनाउने काम भएको छ, त्यसले त्यो आन्दोलनको पवित्रतामाथि नै धावा बोलेको छ। जेनजीको पवित्र उद्देश्यमाथि स्वार्थ बोकेका अन्य तत्त्वहरूले योजनाबद्ध रूपमा उपयोग गरी आफूअनुकूल नेपाललाई ध्वंश गरेका छन्। यसका लागि कुनकुन तत्त्व र संस्थाको प्रयोग भए भन्ने विश्लेषण भइरहेको छ। धेरैले यसलाई निकटबाट अध्ययन गरिरहेका छन्। तोडफोड र व्यक्तिगत सम्पत्तिमाथिको आक्रमण मात्र होइन, राष्ट्रिय धरोहरलाई मटियामेट पार्ने जुन काम भएको छ, यसले प्रत्येक देशभक्त नेपालीको मन रुवाएको छ।
सबैभन्दा दुःखको कुरा हाम्रो उत्तरको छिमेकी चीनलाई समेत आक्रामक बनाउने गरी नेपालमा आश्रय पाएको शरणार्थी समुदाय परिचालित भएका तथ्य सार्वजनिक भइरहेका छन्। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको सरकार बन्नेबित्तिकै ‘निर्वासित सरकार’का तर्फबाट दलाई लामाको बधाई सन्देश आउनेबित्तिकै आशंकाका बादल मडारिएका हुन्। नेपालमा रहेका उनका अनुयायीप्रति सदैव सद्भावपूर्ण व्यवहार गरिएकै हो। मुलुकका सुरक्षा निकायहरूले यसमा गम्भीरतापूर्वक अनुन्धान गरी भविष्यमा यस्तो अवस्था आउन नदिनेतर्फ ध्यान पुर्याउनुपर्छ।
तथापि नेपालले दुई छिमेकी भारत र चीनका सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै विगतमा तदनुकूल व्यवहार गर्दै आएको हो। शरणार्थीलाई नेपालको संस्कृतिअनुरूप जहिल्यै ‘अतिथि देवो भवः’ को मूलमन्त्रलाई आत्मसात् गरिएको हो। कतिपय छिमेकीले ती देशबाट आएका शरणार्थी बुझाउन नेपाललाई दबाब दिँदा पनि यहाँ ‘शरणको मरण’ गर्नु हुँदैन भन्दै यहाँ आश्रय दिइएको हो। तर अहिले नेपाललाई भूराजनीतिको भूमरीमा फसाउने किसिमका गतिविधि भएका छन्। देशमा आश्रय दिएकै समुदाय यसमा लागेका हुन् भने यो निकै चिन्ताको विषय हो।
मुलुकमा एउटा तहको दुर्घटना भएपछि त्यसबाट उठेर अगाडि बढ्ने तत्परताको खाँचो पर्छ। मुलुकमा निर्वाचन प्रयोजनका निम्ति सरकार बनेको छ तर यो सरकारलाई काम गर्न नसक्ने अवस्थामा सरकार इतर पक्षभन्दा पनि आफूलाई जेनजी आन्दोलनका अगुवा भन्नेहरूबाटै अप्ठ्यारो पर्न थालेको महसुस हुन्छ। प्रधानमन्त्री कार्कीबाट यसबिच अभिव्यक्त भएका प्रतिक्रियाले पनि यसलाई संकेत गर्छ। यो सरकारलाई सहज ढंगले काम गर्न नदिने र आफूले ‘क्रान्ति’ गरेको भनी आफूअनुकूलका काम गर्न दबाब दिने हो भने निर्वाचन गराउन सम्भव हुने छैन।
अहिलेको अवस्थामा सबै पक्षको संयम बढ्ता आवश्यक छ। पुराना दलको नेतृत्व अस्वीकार गर्दै युवाले आन्दोलन गरेका हुँदा तिनले पनि निकासका निम्ति तयार हुनुपर्छ। दैनिक रूपमा मुठभेड बढाउने किसिमका अभिव्यक्ति दिनुभन्दा सकेसम्म शान्तिको मार्ग पहिल्याउन तयार हुनुपर्छ। प्रमुख दलले समयमै दलको नेतृत्व युवा पुस्तामा हस्तान्तरण गरी अगामी बाटो तय गर्न सक्नुपर्छ। यो मुलुकमा निर्वाचन नहुने अवस्था आउने र सरकारका प्रधानमन्त्री कार्कीले संक्रमणकालीन अवस्थालाई पार लगाउन नसक्ने अवस्था भयो भने स्थिति गम्भीर हुन सक्छ। यसतर्फ सबैको इमानदारीपूर्ण सहभागिता जरुरी छ।
प्रकाशित: २ कार्तिक २०८२ ०६:१० आइतबार

