११ पुस २०८२ शुक्रबार
image/svg+xml
सम्पादकीय

उपायहीन अर्थतन्त्र

मुलुकको अर्थतन्त्रमा एकपछि अर्को संकट आइरहेको छ। कोभिड-१९ पछि मात्र होइन, बितेका दुई दशक नेपालका निम्ति सधैं चिन्ताको समय रहेको छ। नेपाली अर्थतन्त्रमाथि संकट आएको २०५२ सालदेखि निरन्तर हो। २०४६ सालको राजनीतिक परिवर्तनपछि अर्थतन्त्रको उकालो यात्रा सुरु भएको हो। २०५२ सालसम्म उकालो यात्रा कायमै रहकोमा तत्कालीन नेकपा (माओवादी)ले ‘दीर्घकालीन जनयुद्ध’ सुरु गरेपछि फेरि ओरालो यात्रा सुरु भयो। यो २०६२/६३ सम्मै कायम रह्यो। नेपाल प्राकृतिक रूपमा जटिलता थपिएको मुलुक हो। त्यसमा पनि सधैंजसो आइरहने राजनीतिक संकटले अर्थतन्त्रलाई उठ्नै नसक्ने गरी थला पारेको छ।

भदौ २३-२४ को जेनजी आन्दोलनले मुलुकको अर्थतन्त्रमा गम्भीर चुनौती थपेको छ। त्यसलगत्तै आएको प्राकृतिक विपत्तिले थप क्षति पुर्‍याएको छ। बाढीपहिरोले क्षति पुर्‍याएका सडक संरचनाको पुनर्निर्माणका लागि मात्र १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटमा करिब एक खर्ब र निजी क्षेत्रको करिब ८० अर्ब रुपैयाँ बराबरको सम्पत्ति क्षति भएको छ। यसरी दुई साताकै बिचमा नेपालमाथि अर्थतन्त्रको गम्भीर संकट आइलागेको छ। यी घटनाक्रमले मुलुकको अर्थतन्त्र संकुचित हुँदै जाने अनुमान गर्न गाह्रो छैन। विश्व बैंकले मंगलबार गरेको प्रक्षेपणका आधारमा पनि चालु आर्थिक वर्षको नेपालको आर्थिक वृद्धि दर ३.१ प्रतिशतमा सीमित हुनेछ। अझ यो अनुमान प्राकृतिक विपत्तिले पार्ने असर समाविष्ट छैन। यस आधारमा नेपालको अर्थतन्त्रमा एकपछि अर्को चुनौती थपिँदै गएको छ।

मुलुकको अर्थतन्त्रमा केही सकारात्मक संकेत देखिन थालेका थिए। सरकारले अर्थतन्त्रका बाह्य सूचक राम्रो अवस्थामा रहेको दाबी गर्दै आएको पनि हो। वर्तमान अर्थमन्त्री रामेश्वर खनालले मुलुकका अर्थतन्त्र जति खराब छ भन्ने ठानिएको छ, त्यस्तो होइन भन्दै पनि आएका हुन्। विश्व बैंकले गत अप्रिलमा यो आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ५.२ प्रतिशत हुने प्रक्षेपण गरेको थियो। तर, पछिल्लो घटनाक्रमले अर्थतन्त्र खुम्चिने पर्याप्त आधार र कारण दिएको छ। हाम्रो मुलुकले जहिले जहिले अर्थतन्त्रलाई तीव्र बनाउन कोसिस गर्छ, त्यति नै बेला कुनै न कुनै संकट आइरहेका छन्।

केही समययता देशमा ठुला तारे होटल खुलिरहेका थिए। तिनले मुलुकमा पर्यटक आगमनमा गुणात्मक योगदान गर्ने निश्चित थियो। पर्यटकीय मौसमको मुखमा हिल्टन, वर्णवासलगायतका गुणस्तरीय होटलमा गरिएको आक्रमणले यस क्षेत्रको आम्दानी खुम्चिने निश्चित छ। पर्यटन व्यवसायलाई आधार मानेको नेपाललाई अस्थिर रहेको सन्देश दिने काम जेनजी आन्दोलनको आडमा गरिएको योजनाबद्ध आगजनी, तोडफोड र लुटपाटले गरेको छ। नेपाली शान्तिप्रिय हुन् भन्ने सन्देश खण्डित भएको छ। आफ्नै देशलाई यो तहको तहसनहस पारेर अन्तर्राष्ट्रिय समुदायमा लज्जास्पद स्थितिमा पुर्‍याएका छन्। त्यति मात्र होइन, अन्तर्राष्ट्रिय श्रम बजारमा गएर काम गर्ने वातावरण पनि धुमिल बनाउने काम भएको छ। कैयन् देशले नेपालीलाई भिसा दिन रोक्ने अवस्थासमेत सिर्जना गरिएको छ।

बनाउन निकै कठिन हुन्छ। त्यसलाई तहसनहस पार्न छोटो समय पर्याप्त हुन्छ। प्रत्येक दशकका राजनीतिक परिवर्तनमा सार्वजनिक सम्पत्तिमा ठुलो क्षति गरिएको छ। माओवादी गतिविधिका क्रममा एक दशक प्रहरी लगायतका सार्वजनिक कार्यालयमा तोडफोड र आगजनी गरिएको थियो। उद्योगधन्दा बन्द भएका थिए। माओवादी आक्रमणको डरले नयाँ लगानी आउन सकेनन्। भएकाले पनि भाग्नुपर्ने अवस्था आएको थियो। नेपाललाई अधोगतितर्फ लैजान त्यो दशकले ठुलो भूमिका खेलेको थियो। भलै, त्यस गतिविधिले राजनीतिक अधिकारप्राप्तिमा भूमिका खेलेको पनि हो। तर, त्यो अधिकारले मात्र मुलुकलाई अगाडि बढाउन सकेन। त्यतिका समय पीडा भोगे पनि नेपालको जुन हिसाबले आर्थिक उन्नति हुन्छ भन्ने थियो, त्यो हुन सकेन।

मुलुकमा २०७२ सालमा नयाँ संविधान आएपछि आर्थिक नाकाबन्दीको सामना गर्नुपर्ने बाध्यता आइपर्‍यो। त्यसपछि कोभिड–१९ को संकट पनि त्यसैगरी आयो। अहिले आएर संविधानको एक दशकमै मुलुक तहसनहस हुने गरी पछि परेको छ। हाम्रो मुलुकमा राजनीतिक परिवर्तन र सुधारका निम्ति अर्थतन्त्रमाथि नै आक्रमण गर्ने नराम्रो परिपाटी बसेको छ। त्यसमा पनि यसपटक सार्वजनिक र निजी सम्पत्तिमाथि आक्रमण गर्ने काम भएको छ। भएका उद्यममाथि आक्रमण गर्दा नयाँ लगानी गर्ने व्यक्तिहरू निरुत्साहित भएका छन्। कुनै पनि बेला आगो लगाइन सक्छ, लुटपाट हुनसक्छ भन्ने त्रासको वातावरण बनाएको छ। यसले कुनै अर्थमा पनि अर्थतन्त्रलाई मद्दत गर्दैन।

यसले तत्कालका लागि मात्र क्षति गरेको छैन। भविष्यमा पनि यसको प्रभाव निकै रहनेछ। रोजगारी सिर्जना गरिरहेका क्षेत्र खुम्चिँदा त्यसले नकारात्मक प्रभाव पार्नेछ। रोजगारी अभावमा युवाले तड्पिनुपर्ने अवस्था आउनेछ। उद्योगधन्दा र उद्यम खुल्नेभन्दा नखुल्ने अवस्थाले अर्थतन्त्रलाई चलायमान बनाउन सकिँदैन। जेनजी आन्दोलनको आडमा नेपालको अर्थतन्त्रको मेरुदण्डमै आक्रमण भएको छ। अर्थतन्त्रमा सुधारका निम्ति अर्थमन्त्री खनालको तदारुकता राम्रो छ। तैपनि उद्यमी, व्यवसायको गिरेको मनोबल उचाल्न निकै मेहनत गर्नुपर्ने देखिन्छ।  

प्रकाशित: २४ आश्विन २०८२ ०६:०६ शुक्रबार

Download Nagarik App
Download Nagarik App