५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
सम्पादकीय

देश छाडिरहेको एउटा डाक्टर

यतिबेला सहरमा चर्चा छ - एकजना नामी डाक्टरले देश छाडेका छन्। देशभित्र केही गरौं भनेर कोसिस गर्न खोज्दासमेत मौका नपाएपछि देशै छाड्ने स्थितिमा उनी पुगेको टिप्पणी भइरहेको छ। चर्चाको केन्द्रमा छन् - डा. रामेश कोइराला। शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीका कार्डियोभास्कुलर विभागमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन कोइरालाले पदबाट दिएको राजीनामाले सर्वत्र चर्चा अकारण पाएको होइन। केकस्ता परिस्थितिजन्य कारणले एउटा योग्य चिकित्सकले कामबाट बिदा लिनुपर्‍यो भन्ने पक्ष आफैंमा ध्यानयोग्य छ।

डा. कोइरालाले बुधबार पठाएको राजीनामा पत्रमा ‘व्यक्तिगत कारणले सो पदहरूमा कार्य गर्न असमर्थ रहेको’ जनाएका छन् तर राजीनामा दिनुको कारण सहज छैन भन्ने जानकारी उनले सार्वजनिक गरेका सामाजिक सञ्जालका पोष्टहरूले पुष्टि गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् -‘एक्कासि सिप, देश, पेशा छाड्दा मन अमिलो त भयो तर फरक कलेबरमा फर्किने सोच पनि ज्युँदै छ। म त्यसबेला सायद सर्जन नहुँला।’

स्वाभाविक हो, एउटा काविल चिकित्सकले अनायासै यसरी दिएको राजीनामाको अर्थ खोज्न सकिन्छ। उनी एउटा व्यस्त चिकित्सक, लेखक तथा सामाजिक चिन्तकसमेत हुन्। उनले गरेका केही टिप्पणी र आलोचनाकै आधारमा उनले चाहेको नियुक्ति नपाएका हुन् भने त्यसमा यो छलफल हुनुपर्छ। सन्दर्भ चर्चाअनुसार उनी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको उपकुलपति बनेर योगदान गर्न तत्पर रहेका हुन्। उनको नियुक्तिका निम्ति स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल तयार पनि भएका हुन् तर केही उच्च राजनीतिक नेतृत्व र तिनका परिवारका दबाबमा नियुक्ति नभएको प्रसंग पनि सामुन्ने आएको छ।

यस्ता व्यक्तिले अवसर पाउनुपर्छ। त्यसमा पनि लोकतान्त्रिक शासन व्यवस्थामा योग्य व्यक्तिलाई खोजेर जिम्मेवारी दिनुपर्छ भन्ने हो। केही समययता योग्यताभन्दा नातावाद र कृपावादले काम गरेको विश्वास गर्ने आधार छन्। त्यसो त यो मुलुकमा अझै कैयन व्यक्ति छन्, जो कुनै नियुक्ति होस् वा नहोस् निरन्तर क्रियाशील छन्। तैपनि कुनै संगठित संस्थामा प्रवेश गरिसकेपछि त्यसमा नियमसंगत ढंगले उपल्लो जिम्मेवारी पाउनुपर्छ। यस्तो अवस्थामा डा. कोइरालाजस्ता चिकित्सकलाई स्वास्थ्य संस्थाको नेतृत्व गर्ने अवसर बञ्चित गरिएको छ भने त्यो स्वाभाविक होइन। यस्तो पक्षलाई विकृतिकै रूपमा लिनुपर्छ।

यसै पनि हाम्रो मुलुकमा कैयन पेशाकर्मी यहाँ काम गर्ने वातावरण नभएको महसुस गर्दै बिदेसिने गरेका छन्। विशेष गरी चिकित्सा क्षेत्रको जनशक्तिले आफूलाई यहाँ योग्यताअनुसार सेवा गर्ने अवसर र सुविधा नपाएको ठान्ने गरेका छन्। यस्तो जनशक्तिको माग अमेरिका, बेलायत, क्यानाडाजस्ता अनेकन मुलुकमा छ। त्यो अवसरका निम्ति पनि उनीहरू देश छाड्न चाहन्छन्। माल्दिभ्सलगायतका मुलुकमा समेत नेपाली चिकित्सक गएका समाचार यसअघि सार्वजनिक भइसकेका सकेका छन्।

पछिल्ला दिनहरूमा शासकीय तप्काले यो मुलुकलाई कुन अवस्थामा पुर्‍याउँदैछन् भन्ने हेक्का राख्नु आवश्यक छ। नियुक्तिमा भइरहेको बेथिति धेरैका निम्ति चित्त नुबुझ्ने पक्ष हो। यस्ता पक्षले गुणस्तरलाई घटाउँछ र चाकडीप्रथालाई बढाउँछ। प्रायः सबैजसो नियुक्ति पैसामा साटिने गरेको तीव्र गुनासोसमेत सुनिने गरेको छ। भ्रष्टाचार भनेको सिधै देख्न नपाइने पक्ष भए पनि आम मानिसमा स्थापित भएको अवधारणाले धेरै अर्थ राख्छ। नेपालमा भ्रष्टाचार बढ्दै गएको छ भन्ने आम विश्वासको आधार पनि यही हो।

नियुक्तिमा एउटा विभागीय मन्त्रीको समेत केही नलाग्ने अवस्था आउनु आफैंमा चिन्ताको विषय हो। आफ्नो मन्त्रालयअन्तर्गत कुनै निकायमा आफूले चाहेको व्यक्ति ल्याउँदा काम हुन सक्छ भन्ने मान्यता तिनको हुन सक्छ। मन्त्री आफूले चाहेको व्यक्ति मात्र होइन योग्य व्यक्ति पनि आउन सक्ने अवस्था सिर्जना गर्नु अहिलेको आवश्यकता हो तर हाम्रो मुलुकमा योग्यताभन्दा अन्य पक्ष बलियो हुनुपर्छ भन्ने दृढ विश्वास बढ्दो छ।

शासन सत्ता त्यो सरकारमा वा पार्टी केन्द्रमा होस् सशक्त हुन्छ। त्यस्तो बेलामा आफ्नैबारे आम मानिसको प्रतिक्रिया के छ? भन्ने पक्षमा जहिल्यै ध्यान दिन सक्नुपर्छ। शक्तिमा रहेका बेला डा. रामेश कोइरालाजस्ता व्यक्ति एक जना मात्र हुन् र तिनको कुनै प्रभाव हुँदैन भन्ने लाग्न सक्छ तर आम मानिसले चोक, गल्ली र चियापसलमा यसलाई लोकप्रिय गफको विषय बनाइसकेका छन्। यो यति धेरै चर्चाको विषय बनेको छ भने स्वाभाविकरूपमा नकारात्मक प्रभाव पार्न पनि उत्तिकै भूमिका खेल्न सक्छ। अतः सरकारमा हुने व्यक्तिले यस्ता विषयमा ध्यान दिनुपर्छ। विशेष गरी प्रधानमन्त्री केपी शर्मा ओली यस्ता विषयमा निकै चासो राख्छन् र उनले यसमा के भएको हो बुझेर सम्बोधन गर्नु उचित हुन्छ।  

प्रकाशित: ३० श्रावण २०८२ ०६:०१ शुक्रबार

Download Nagarik App