१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
सम्पादकीय

भूकम्पपीडितलाई भर

मुलुक निर्वाचनमा पुरै व्यस्त रहेका बेला पश्चिम नेपालमा बुधबार बिहान आएको भूकम्पले फेरि त्रासको पुनरावृत्ति गरेको छ। २०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्र बनाएर आएको भूकम्पले गरेको क्षति पुनः सम्झनु परेको छ।

नेपालमा यसै पनि भूकम्पको उच्च जोखिम छ। निर्वाचनमा सबै व्यस्त रहेका बेला आएको भूकम्पले यस मुद्दालाई पनि बिर्सन नमिल्ने गरी झस्काएको छ। वास्तवमा दल र यसका उम्मेदवारले भविष्यमा आउन सक्ने भूकम्पबारे समेत सचेतता अपनाउनु र त्यससम्बन्धी कार्यक्रम ल्याउनुपर्ने सन्देशसमेत यसले दिएको छ।

पश्चिम नेपालमा पाँच सय वर्षयता ठूलो भूकम्प आएको छैन। त्यसैका आधारमा पनि भूकम्पबारे जानकारहरूले यस सम्बन्धी सचेतता अपनाउनुपर्ने आवश्यकता औल्याएका छन्। ६.६ रेक्टर स्केलको भूकम्प आए पनि त्यस क्षेत्रमा शताब्दियौँदेखि सञ्चित ऊर्जा अझै निष्काशनका लागि पर्याप्त नभएको विज्ञहरूको राय छ। बीच-बीचमा भूकम्प आइरह्यो भने सञ्चित ऊर्जा निष्काशन भई भविष्यमा ठूलो क्षति हुँदैन भन्ने मान्यता छ। पोखरादेखि पश्चिम भारतको देहरादुनसम्म ठूला भूकम्पीय गतिविधि नभएको लामो समय भइसकेको छ। त्यही भएर १९९० माघ १ गते भूकम्प आएको सय वर्ष नपुग्दै २०७२ मा गएको भूकम्पले सञ्चित ऊर्जा निष्काशन गर्न सहयोग पुर्‍याएको ठानिन्छ। पश्चिम नेपालबाहेकका क्षेत्रमा बीच-बीचमा भूकम्प गइरहेका छन्। २०४५ भदौ ५ मा पूर्वी नेपालको उदयपुर जिल्लाको मुर्कुचीलाई केन्द्रविन्दु बनाएर आएको ६.७ रेक्टर स्केलको भूकम्पले पनि ठूलो क्षति गरेको थियो।

पश्चिम नेपालमा बुधबार बिहान १ बजेर १२ मिनेटमा आएको भूकम्पले ६ जनाको ज्यान गएको छ। सात जना घाइते भएका छन्। यसअघि मंगलबार राति ९ बजेर ७ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको पहिलो झट्का ५.७ रेक्टर स्केलको थियो। डोटीको पूर्वी चौकी गाउँपालिका ३, गैरीगाउँका बासिन्दा मस्त निद्रामा रहेका बेला भूकम्प गएको थियो। भूकम्पमा परी ९ वटा घर पूर्णरूपमा क्षति भएका छन्। पश्चिम नेपालमा शुक्रबार पनि भूकम्पको धक्का महसुस भएको छ। बाजुराको खप्तड छेडेदर गाउँपालिकाअन्तर्गत काँडा आसपास केन्द्रविन्दु भएर बिहान ५ बजेर १३ मिनेट जाँदा ४.१ रेक्टर स्केलको भूकम्प गएको हो। डोटीमा भूकम्प गएलगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले राति नै उद्धार कार्य सञ्चालन गरेका थिए। यो तत्परताका कारण पुरिएका केही व्यक्तिलाई बचाउन सक्नु उपलब्धिको पक्ष हो। भूकम्पमा घर र अन्य संरचनाभित्र पुरिएका व्यक्तिलाई उद्धार गर्ने कार्य निकै महत्त्वको हुन्छ। बेलैमा उद्धार हुँदा ज्यान जोगिन सक्छ।

भौगोलिक विकटता र गरिबीसमेत रहेको यो क्षेत्रमा भएको यो घटनाको प्रारम्भिक विवरण मात्र आएको हो। अझै कैयन् घर क्षतिग्रस्त भएका हुन सक्छन्। तिनलाई बेलैमा सहयोग पुर्‍याउन स्थानीय, प्रदेश र संघीय सरकारको ध्यान पुग्नुपर्छ। निर्वाचनमा सबै व्यस्त हुँदा त्यहाँका पीडित बेवास्तामा पर्ने खतरा हुनुहुँदैन। राजनीतिक नेतृत्व व्यस्त भए पनि स्थायी सरकारका रूपमा रहेको कर्मचारीतन्त्रले आफूलाई यस्तो अवस्थामा सक्रिय बनाउनु उचित हुन्छ।

भूकम्पको जोखिमयुक्त क्षेत्र भएको हुनाले नेपालले भविष्यका निम्ति तयार गर्नुपर्ने आवश्यकता छ। भूकम्प आएको केही दिन यस विषयमा चर्चा/परिचर्चा हुने र पछि बिर्सने बानी हामीकहाँ छ। जापान भूकम्पको अत्यधिक क्षति हुने मुलुक हो। त्यसैले उसले भूकम्पसँगै बाँच्न सिकेको छ। स्कुलदेखि नै साना नानीहरूलाई यस सम्बन्धी पाठ सिकाउने र भूकम्पका बेला गर्नुपर्ने व्यवहारबारे सचेत गराउने गरेको देखिन्छ। हामीले पनि भूकम्प अवश्यम्भावी भएको हुनाले स्कुलदेखि नै बालबालिकालाई सचेत गराउनु आवश्यक छ। त्यसैगरी प्रत्येक व्यक्तिलाई भूकम्पका बेला आवश्यक तयारी अवस्थामा राख्नुपर्ने स्थिति छ।

२०७२ सालमा भूकम्प आएपछि कैयन् व्यक्तिले आफ्नो घरमा समेत सुत्न नसक्ने अवस्था आयो। त्यसैले भूकम्पका लागि तयारी गर्ने, त्यस्तो आपत्कालीन अवस्थामा बाँच्न चाहिने ज्ञान र सिप आवश्यक हुन्छ। भूकम्प आएका बेला कैयन् व्यक्ति सुरक्षित ठाउँबाट असुरक्षित स्थानतिर दौडिएका घटना पनि त्यो बेला सार्वजनिक भएका थिए। यी सिकाइलाई ध्यानमा राखेर पनि तयारी गर्नुपर्छ। तर अहिले भने पश्चिम नेपालका भूकम्पपीडित सर्वसाधारणतर्फ ध्यान पुग्नुपर्छ। तिनका निम्ति अत्यावश्यक वस्तुको सहज आपूर्ति हुनुपर्छ। घर भत्किएका नागरिकका निम्ति अस्थायी बासको प्रबन्ध हुनुपर्छ। यसै पनि जाडो मौसम आइसकेको छ। यस्तो अवस्थामा बाँचेकाहरूलाई थप पीडा नहोस् भन्नेतिर ध्यान पुग्नुपर्छ। घर भत्किएकाहरूको पुनर्निर्माणमा पनि उत्तिकै ध्यान दिनुपर्ने अवस्था छ। विगतमा भूकम्पपछि व्यक्तिका घर निर्माणका बेला देखिएका समस्याहरू दोहोरिनु उचित हुँदैन।

पश्चिम नेपाल काठमाडौं भन्दा टाढा रहेको महसुस हुन्छ। त्यहाँ गएको भूकम्पको धक्का काठमाडौंमा भन्दा बढी भारतको राजधानी दिल्ली र अन्य स्थानमा महसुस भएको थियो। त्यहाँ भूकम्पलगत्तै सञ्चार माध्यम र सामाजिक सञ्जालले यसका बारेमा व्यापक चर्चा गरेका थिए। त्यस हिसाबले काठमाडौंमा भने यसको कमै चर्चा भएको छ। भूकम्प पीडितलाई सहयोग गर्ने मामिलामा पनि त्यहाँको धक्का काठमाडौंमा कम महसुस गरेको जस्तो व्यवहारमा नदेखियोस्। त्यसका निम्ति पनि बढ्ता तत्परता र सक्रियता आवश्यक छ। 

प्रकाशित: २४ कार्तिक २०७९ २३:४० बिहीबार

Download Nagarik App
Download Nagarik App