७ वैशाख २०८१ शुक्रबार
सम्पादकीय

सवारी सास्ती

मुलुकमा एकजना अति विशिष्ठ पाहुना (भिभिआइपी) आउनासाथ सडक अस्तव्यस्त छन्। ती पाहुनाको चर्चाभन्दा बढी नागरिकले पाएको सास्तीले सबैलाई त्राहीमा पारेको छ। आमनागरिकप्रति चिन्ता र चासो नभएको सरकारले गर्ने योभन्दा बढ्ता केही होइन। जहिल्यै अति विशिष्ठ पाहुना आउँदा यो स्थिति आउँछ। बुद्धिमानले एकपटक परेपछि सिक्छ। तर मूर्ख भएपछि जतिपल्ट परे पनि मतलब हुँदैन। आमनागरिकले अहिले भोगेको सास्तीबाट भविष्यमा गुज्रिनु नपरोस् भन्ने सोच बनाएको देखिएन। त्यस्तो हुँदो हो त अहिले चिनिया विशिष्ठ पाहुना लि झान्सुको भन्दा बढ्ता चर्चा सवारी अवरुद्ध स्थितिको हुने थिएन।

चिनियाँ कम्युनिस्ट पार्टीको तेस्रो वरियताक्रमका नेता एवं राष्ट्रिय जनकंग्रेस अध्यक्ष लि झान्सु चार दिने नेपाल भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्कँदै छन्। दुई देशबीचको सम्बन्ध सुदृढीकरणका निम्ति यो भ्रमणको महत्त्व छ। तर सरकारले उनको भ्रमणका क्रममा यातायात व्यवस्था गर्न नसकेका कारण चौतफी आलोचना भइरहेको छ। यो आलोचना विशिष्ठ पाहुनाप्रतिको असम्मान होइन। आफ्नै मुलुकको व्यवस्थापकीय क्षमतामाथिको प्रश्न हो। मुलुकमा अति विशिष्ठ व्यक्तिहरूको भ्रमण हुनु गर्वको कुरा हो। यस्तो अवस्थामा आमनागरिकले तिनको स्वागत सत्कार गर्न पाउनु झनै ठूलो अवसर हो। तर यहाँ दैनिक जीवन चलाउन भ्रमणका कारण मुस्किल परेपछि सर्वसाधारण आक्रोशित भएका हुन्।

विदेशी मुलुकका विशिष्ठ पाहुनाको भ्रमण विगत शासनकालमा पनि हुने गरेको हो। पञ्चायतकालमा यस्ता विशिष्ठ व्यक्तिका भ्रमण नियमितजसो हुने गरेका हुन्। मुलुकमा लोकतन्त्र आएपछि नेपालको महत्त्व स्थापित हुन नसक्दा भ्रमणमा केही कमी आएको पनि हो। पछिल्ला वर्षमा अन्तर्राष्ट्रिय तनावले नेपालको आफ्नै विशिष्टताका आधारमा दबाब पर्न थालेको छ। अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तिका भ्रमण बढ्न थाल्नुको कारण हाम्रो मुलुकको आर्थिक तथा राजनीतिक प्रभावभन्दा पनि अन्तर्राष्ट्रिय राजनीतिको दबाब खासरूपमा जिम्मेवार छ। त्यसैकारण यस्ता भ्रमण भइरहेका छन्। यस्ता भ्रमण हुँदा तिनलाई आमनागरिकले प्रशंसा गर्न सक्ने गरी व्यवस्थित गर्नु आवश्यक हुन्छ।

पाहुनालाई हामीले महत्त्व दिएको देखाउन सम्पूर्ण सडक खाली गर्दा दैनिक जीवन अस्तव्यस्त हुन्छ। यस्तो स्थितिमा वैकल्पिक उपाय अपनाउन सकिन्छ। एक, सम्बन्धित पाहुना जहाँ बसेका छन्, त्यहीँ हाम्रो मुलुकका नेताले गएर भेट्ने अभ्यास सुरु गरे हुन्छ। दुई, विशिष्ट पाहुनालाई हेलिकोप्टरबाट आवतजावत गराउन सकिन्छ। तीन, विशिष्ठ पाहुनाका धेरै गतिविधि हुने दिनलाई सार्वजनिक बिदाका रूपमा घोषणा गर्न सकिन्छ। चार, भ्रमण हुनुभन्दा अगाडि नै सडक अवरुद्ध हुन सक्ने विषयमा सर्वसाधारणलाई सार्वजनिक सञ्चार माध्यममार्फत् जानकारी गराउन सकिन्छ। पाँच, जोर वा विजोर सवारी चलाउन सकिन्छ।

त्यसो भयो भने पटक-पटक सडक खाली गरिरहनु पर्दैन। सर्वसाधारणका गतिविधि सहज हुन्छन्। अति विशिष्ठ व्यक्तिको भ्रमण संसारका सबै मुलुकमा हुन्छ। तर हामीकहाँ जस्तो कोकोहोलो मच्चाउनुपर्ने अवस्था आउँदैन। हामीले पूरै सडक खाली गराएर सम्मान दर्शाउन चाहेको देखिन्छ। पूरै सडक खाली गर्ने हो भने यस्ता पाहुनाका निम्ति तय गरेको बाटोको विकल्प सर्वसाधारणका निम्ति खुला हुनुपर्छ। त्यसैगरी लामो समयसम्म सडक खाली गराइरहने होइन। सवारी रोक्ने हो भने पनि छोटो समय मात्र हुनुपर्छ। तर दिनभरिमा पटक-पटक यही प्रक्रिया अपनाउँदा सडक अस्तव्यस्त बन्छ। अझ अत्यावश्यक काममा निस्किने चिकित्सकलाई समेत काममा जान अवरोध गरेको पक्ष भने आलोचनायोग्य छ। त्यसैगरी शव बाहन, एम्बुलेन्स आदिको पनि सहज आवागमन हुने व्यवस्था मिलाउनुपर्छ।

काठमाडौँ सामान्य दिनमा समेत यातायातका कारण असामान्य अवस्थामा पुग्छ। सार्वजनिक यातायातमा ठूला बसको प्रयोग हुने वातावरण नबनाइ अहिलेको अवस्थामा सुधार आउँदैन। विशेषगरी मोटरसाइकलले सहरलाई अस्तव्यस्त बनाइसकेको छ। अझ यसलाई सार्वजनिक यातायातका रूपमा भाडामा लगाउने परिपाटी भएपछि स्थिति झनै बिग्रिन थालेको छ। एउटा महानगरभित्र सार्वजनिक यातायात सहज हुनुपर्छ। त्यसो भयो भने कसैलाई पनि जोखिमयुक्त दुईपाङ्ग्रे सवारी प्रयोग गर्ने वाध्यता हुँदैन। झरी, बादल, जाडो, गर्मीज स्ता प्रतिकूल मौसममा समेत दुई पाङ्ग्रे सवारीको यात्रा असहज हुन्छ। त्यसैकारण पनि सुरक्षित, आरामदायी र भरपर्दो यातायात व्यवस्था गर्न ढिला भइसकेको छ।

देशमा पाहुना बोलाएर तिनका प्रति सर्वसाधारणको भावना नै नकारात्मक हुने अवस्था सिर्जना गर्नु उचित हुँदैन। यातायात व्यवस्थालाई व्यवस्थित नबनाउने सहरको भविष्य हुँदैन। बंगलादेशको राजधानी ढाकामा सवारीको अस्तव्यस्त अवस्था देखिन्छ। हाम्रो राजधानी काठमाडौँ पनि अहिले त्यही बाटोमा अग्रसर भइरहेको छ। यस्तो बेथितिको राजधानी हुन नदिन सरकारले बेलैमा ध्यान दिनु आवश्यक छ। चिनियाँ विशिष्ठ पाहुना आएका बेला राजधानीबासीले पाएको चार दिनको दुःखले भविष्यका निम्ति योजना बनाउन प्रेरित गर्नुपर्छ। अहिलेकै अवस्था राख्ने र पाहुना बोलाएर सडक अस्तव्यस्त तुल्याउने हो भने नागरिकले सबैभन्दा बढ्ता दुःख महसुस गर्छन्।

अति विशिष्ट पाहुना आउँदा मात्र होइन, अरू बेलामा समेत काठमाडौँमा सहज यात्रा गर्न सकिने अवस्था कम हुँदैछ। त्यसैले बढीभन्दा बढी सडक खुलाउन र सवारी व्यवस्थापनमा ध्यान दिन ढिला भइसकेको छ। यो सहरले कति सवारी धान्ने हो त्यसमा पनि ध्यान पुग्नुपर्छ। सार्वजनिक यातायात राम्रो हुन सकेको भए कसैले पनि निजी सवारी किन्ने थिएनन्। त्यसले यस्ता सवारी आयात गर्न हुने विदेशी मुद्राको खर्चसमेत रोकिने थियो। खाइनखाइ गरेर निजी सवारी साधन किन्दा आज सडकमा कोही पनि सहज ढंगले हिँड्न नसक्ने अवस्था आइसकेको छ। सडकको वास्तविक सकसलाई कम गर्ने दृष्टिकोण सरकारमा हुनु आवश्यक छ। 

प्रकाशित: ३० भाद्र २०७९ ००:१८ बिहीबार

Download Nagarik App
Download Nagarik App