४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
सम्पादकीय

भारत–चीन दुवैसँग व्यापार समस्या

नेपालका दुवै छिमेकी मुलुक भारत र चीनबीचको व्यापारिक सम्बन्धको इतिहास धेरै लामो छ। विगतमा भारत र चीनबीचको व्यापारबाट नेपालले मनग्गे आम्दानी गरेको थियो। तिब्बतमा नेपाली व्यवसायीको छुट्टै पहिचान थियो। तिब्बती बजारमा समय–समयमा नेपाली पैसासमेत प्रचलनमा आउने गरेको थियो। भारत भन्दा तिब्बतमा नेपालको व्यापारिक गतिविधि बढी थियो। व्यापारमा समस्या आउँदा तिब्बत र नेपालबीच युद्धसमेत भएका उदाहरण छन्। अझै यी दुई छिमेकीसँग हाम्रो व्यापारिक नाता टुटेको छैन। तर हामी विगतको नाफामूलक व्यापारबाट अत्यासलाग्दो घाटामा आएका छौँ।

नेपालको कुल वैदेशिक व्यापारमध्ये झण्डै ९० प्रतिशतभन्दा बढी यी दुवै मुलुकसँग हुने गरेको छ। भारतबाहेक नेपालको तेस्रो मुलुकसँग हुने व्यापारको अधिकांस हिस्सा पनि भारत भएरै गर्नुपर्ने अवस्था छ। व्यापारको यति ठूलो आकार र परनिर्भरता भए पनि समस्यारहित व्यापार गर्न सक्ने वातावरण बनाउन चुक्दै आएका छौँ। व्यापारिक गतिविधिलाई सहजीकरण गर्ने उद्देश्यले नेपालले दुवै मुलकसँग वाणिज्य सन्धि पनि गरेको छ। तर व्यापारमा समस्या आउँदा दुवै छिमेकीले आआफनै स्वार्थअनुरूप सन्धिलाई प्रयोग गर्दै आएका छन्।

अहिले दुवै मुलुकसँगको व्यापारमा फेरि समस्या आएको छ। भारतले नेपाली तयारी चियाको निर्यात अवरोध गर्ने गरी कानुन बनाउने तयारी गरेको छ। पूर्वी नेपालको चियाको प्रमुख बजार भारत हो। भारतीय बजारलाई हेरेर नेपाली व्यवसायीले चिया उद्योगमा अर्बौँ रुपियाँ लगानी गरेका छन्। भारतका कतिपय स्थानमा उत्पादन हुनेभन्दा नेपाली चियाको गुणस्तर उच्च छ। यही कारण भारतमा नेपाली चिया लोकप्रिय बन्दै गएको छ। भारतीय व्यापारीले आफ्नो उत्पादनको बजार खोस्ने संभावना देखेपछि कानुन बनाएरै नेपाली चियाको आयात रोक्ने प्रयास गरेका छन्। भारतीय व्यापारीको दबाबमा नेपाली तयारी चिया आयातमा ४० प्रतिशतसम्म कर लगाउने गरी लोकसभा र राज्यसभामा प्रस्ताव उठाइएको छ। नेपाली चियालाई विभिन्न बहाना बनाएर ३० जना सांसदले राज्यसभा र लोकसभा अध्यक्षलाई प्रतिवेदन बुुझाइसकेका छन्। राज्यसभा र लोकसभामा उठेको प्रस्ताव पारित भए ६० हजार नेपाली चिया किसान र व्यावसायीको भविष्य अन्धकार हुनेछ।

नेपाली तयारी चिया निर्यात निरुत्साहित गर्ने गरी कानुन बनाउन लागेपछि त्रसित पूर्वेली व्यवसायीको एउटा टोलीले हालै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको थियो। टोलीसमक्ष देउवाले गुणस्तरीय उत्पादन गरे भारतीय बजारमा निर्यात गर्न सहजीकरण गर्ने प्रतिबद्धता जनाए पनि भारतसँग खुलेर वार्ता गर्न सक्ने क्षमता उनमा देखिँदैन। अर्को छिमेकी चीनले पनि यही बेला नेपालसँग जोडिएका प्रमुख २ नाका तातोपानी र रसुवागढी बन्द गरेको छ। परराष्ट्र मन्त्री नारायण खड्का चीन भ्रमणबाट फर्किएकै दिन बिहीबार कुनै औपचारिक जानकारी नदिइ नाका बन्द गरिएको हो। खड्काले भ्रमणबाट कूटनीतिक सम्बन्ध सुधार भएको दाबी गर्दैगर्दा नेपाली सामान चिनिया नाकामा रोकिएका छन्।

नेपाली अधिकारीहरूले चीनले कोभिडलाई देखाएर मौखिकरूपमा गाडी पठाउन रोक लगाएको र कहिले खुल्छ भन्ने निश्चित नभएको जानकारी दिएका छन्। पछिल्लो समय तातोपानी नाका हुँदै दैनिक ८/१० र रसुवागढी नाकाबाट करिव १५ वटा मालबाहक ट्रकमा सामान आउने गरेको थियो। २०७२ अघि यी दुवै नाकाबाट दैनिक ३ सयको हाराहारीमा कन्टेनर आउने गरेका थिए। भूकम्प र कोभिडपछि यी दुई नाकाबाट हुने व्यापारमा धेरैजसो समस्या आइरहेको छ। यी दुई स्थल नाकाबाट सामान आयात गर्दा २०–२२ दिनमै आइपुग्नेमा समस्या आएपछि व्यापारी भारतको कोलकताबाट सामान मगाउन बाध्य छन्। भारत भएर आउँदा करिब ४२ दिन लाग्छ। व्यापारमा समस्या आइरहे पनि नेपालले कूटनीतिक पहलबाट यसलाई सुल्झाउन सकेको छैन।

गत वर्षदेखि आयात चुलिएर अर्थतन्त्र समस्या उन्मुख छ। अहिले पनि कुल आयातको ९० प्रतिशत भन्दा धेरै यिनै दुई छिमेकी मुलकमा उत्पादन भएका सामान खरिद गरिरहेका छौँ। कुल व्यापारमा ठूलो हिस्सा मात्र होइन, तेस्रो मुलुक भन्दा यी दुई छिमेकीका सामान गुणस्तरमा पनि कमजोर छन्। हाम्रो व्यापारलाई पूर्णतः आफ्नो मुठीमा पारेका यिनै २ मुलुकले व्यापारीक गतिविधिमा भने सधैँ समस्या खडा गर्दै आएका छन्। दक्षिणको छिमेकी भारतले खुलेरै समस्या पार्छ। तर चीनको रणनीति बेग्लै छ। उसको रवैया बुझिनसक्नुको छ। ऊ अवरोध गर्छ तर बोल्दैन। दुई मुलुकका पदाधिकारी व्यापार वार्तामा बस्दा पनि चिनिया पक्ष खुल्दैन र माथिको आदेश मात्र भन्छन्। समस्या समाधानका उपाय बताउँदैनन्। २०७२ सालको भूकम्पपछि नेपालसँग व्यापार गरिरहेको तातोपानी नजिकको खासा क्षेत्रका चिनिया व्यवसायीलाई त्यहाँबाट उठाएर अन्यत्रै लगियो। अचानक चिनिया व्यवसायी हराएपछि वर्षौँदेखि व्यापार गरिरहेका नेपाली व्यापारीको लेनदेन अझै सुल्झिएको छैन। अहिलेसम्म उनीहरूलाई कुन स्थानमा स्थानान्तरण गरियो भन्नेसमेत जानकारी छैन।

चीनले २०७२ पछि बेलाबेलामा आफ्नै किसिमले नाकाहरूमा अवरोध गर्दै आएको छ। नेपाली व्यवसायीलाई सामान बेच्ने तर घरसम्म ल्याउन नदिने चीनको रणनीति बुझिनसक्नुको छ। अहिले तिब्बतमा कोभिड–१९ संक्रमण फैलिएको बहानामा नेपालसँगका २ प्रमुख नाका बन्द गरिएको भनिएको छ। त्यो पनि औपचारिक जानकारी नेपाललाई दिइएको छैन। कोभिड कालमा साढे २ वर्षमा चीनले अन्य मुलुकमा सामान निर्यात रोकेको थिएन। अहिले पनि चीनका विभिन्न भूभागमा कोभिड संक्रमण देखिने गरेको छ। तर नेपालबाहेक अन्य मुलुकमा सामान निर्यात रोकिएका सूचना अहिलेसम्म आएका छैनन्। फेरि तिब्बतमा कोभिड फैलिएका कारण नेपालमा सामान पठाउँदा त्यसको जोखिम नेपाललाई हुने हो, चीनलाई होइन।  

वार्षिक १६–१७ खर्ब रुपियाँको व्यापार गर्दा सधैँ समस्या झिक्ने यी दुई छिमेकी मुलुकको भित्री खेलमा नेपाली शासक अनविज्ञ छन्। खासगरी भारतले आफ्ना सामान निर्यात भन्दा नेपाली उत्पादनको आयात रोक्न बहानाबाजी गर्दै आएको छ भने चीनले आयात/निर्यात दुवै व्यापारमा समस्या झिक्ने गरेको छ। मुलुकको आयात/निर्यात दुवै व्यापारमा झण्डै ९० प्रतिशत हिस्सा ओगट्ने यी मुलुकसँगको व्यापारलाई सहजीकरण गर्न ढिलो भइसकेको छ। पछिल्लो समय नेपालको निर्यात २ खर्ब रुपियाँ पुगेको सन्दर्भमा यस्ता समस्या अल्झिरहे फेरि ओरालो झर्ने निश्चित छ। नेपाललाई आफ्नो बजार मात्र बनाउने र नेपाली सामान निर्यातलाई असजिलो पार्ने नियतप्रति हाम्रो ध्यान जान सकेको छैन। 

प्रकाशित: २९ श्रावण २०७९ ००:३८ आइतबार

Download Nagarik App
Download Nagarik App