१६ वैशाख २०८१ आइतबार
image/svg+xml
सम्पादकीय

मनसुनजन्य विपद्को तयारी

यो सातादेखि नेपालमा औपचारिक रूपमा मनसुन सुरु भएको छ। सामान्यतः जेठ ३० गते अर्थात जुन १३ देखि नेपालमा मनसुन सुरु हुन्छ भन्ने मान्यता रहेकामा यसपटक साताअघि यसको आगमन भइसकेको छ। यो वर्षायाम मध्य भदौसम्म रहनेछ। मौसमी चक्रअनुसार वर्षातले किसानलाई खेतीपाती गर्न तथा वातावरणलाई हरियाली बनाउन सहयोग पुग्छ। यो नियमित चक्र मात्र होइन, प्रकृतिको आशीर्वाद पनि हो। खेतीका लागि प्रत्येक थोपा वर्षा अमृत हो। तर अत्यधिक वर्षाले सिर्जना गर्ने विपद् व्यवस्थापनको तयारी नहुँदा यसले ल्याउने जोखिम पनि उत्तिकै हुन्छ।

हरेक यो अवधिमा बाढी, पहिरो तथा अन्य जलजन्य विपद्का घटना हुने र ठूलो मात्रामा जनधनको क्षति हुने गर्छ। मनसुन सुरु भएकै साता पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा भासिएको सडकबाट एक कार र मोटरसाइकल खसेका छन्। निरन्तर वर्षाका कारण बिहीबार बिहान भासिएको सडकमा उक्त दुर्घटना भएको थियो। मोटरसाइकल चालक सुरक्षित रहे पनि कारमा सवार व्यक्तिहरूसहित नदीमा पसेको र पहिरोले पुरेको छ।

आँबुखैरेनीको घटनाले यो वर्षायाममा आउन सक्ने विपद्को संकेत गरेको छ। यस वर्ष अन्य वर्षको तुलनामा अत्यधिक वर्षाको पूर्वानुमान विज्ञहरूले गरिसकेका छन्। यो स्थितिमा वर्षाजन्य विपद् झन बढ्न सक्ने देखिएको छ। मनसुनजन्य विपद्बाट हुन सक्ने संभावित क्षति न्यूनीकरण, विपद्पश्चातको अवधिमा प्रतिकार्य तथा पुन:स्थापना लगागतका काममा लागि संघ, प्रदेश र स्थानीय तहलाई उत्तिकै जिम्मेवार बनाइएको छ।

गृहमन्त्रालयद्वारा प्रकाशित ‘मनसुन तथा बेमौसमी वर्षाका घटनासहितको प्रतिवेदन २०७८’ मा गत वर्ष मनसुन तथा मनसुनपछिका बेमौसमी वर्षाका कारण आएको बाढी, पहिरो, डुबानबाट नेपालाई ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति तथा नोक्सानी बेहोर्नुपरेको उल्लेख गरिएको छ। प्रतिवेदन अनुसार गत वर्षको मनसुन अवधिमा ९१० घरपरिवार प्रत्यक्ष प्रभावित हुन पुगे भने १४२ जनाले ज्यान गुमाए। सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका बासिन्दाले सबैभन्दा धेरै क्षति बेहोर्नुपर्‍यो। यसैगरी मनसुनपछिको बेमौसमी वर्षाका कारण ४०४ घर परिवार प्रभावित भई १२० जनाको मृत्यु भएको थियो भने सबैभन्दा धेरै घटना पहिरोका कारण भएका थिए।

प्राकृतिक विपद्का हिसाबले नेपाल विश्वको अग्र सूचीमा आउँछ। भूकम्पीय जोखिमको हिसाबले नेपाल विश्वको ११औँ स्थानमा र बाढी पहिरोको जोखिमको हिसाबले ३०औँ स्थानमा पर्छ। यो वर्ष मनसुनी विपद्ले २० लाख मासिन प्रभावित हुन सक्ने पूर्वानुमान राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरिसकेको छ।

यो सन्दर्भमा नेपालले संभावित संकट सम्बोधनका लागि गंभीर हुन आवश्यक छ। त्यसो त, विपद् पूर्वसूचना दिएर आउँदैन। यसका लागि पर्याप्त पूर्वतयारी तथा उत्थानशीलता जरुरी हुन्छ। नेपालको सन्दर्भमा संभावित विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि नेपाल सरकार कार्यविभाजन नियमावली २०७४ का अनुसार गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धमा सम्पर्क मन्त्रालयका रूपमा काम गर्दै आएको छ।

यसैगरी अन्य विषयगत मन्त्रालय, प्रदेश सरकार, प्रदेश विपद् व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति, विपद् व्यवस्थापनको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकाय एव संघ/संस्थाहरूले विपद् जोखिम न्यूनीकरण तथा व्यवश्थापनको विषयमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन्। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ ले गरेको व्यवस्था अनुसार गृह मन्त्रालय मातहत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काम गर्दै आएको छ।

यसैगरी गृह मन्त्रालय अन्तर्गतको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा अन्तर्गत विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले संभावित विपद्जन्य घटनाहरूको पूर्वसचना दिने, मनसुन समेत देशभर भएका विपद्सँग सम्बन्धित घटनाको जानकारी लिने, तथ्यांक संकलन तथा वर्गीकरण तथा दैनिक अवस्थाको पोर्टलमार्फत अद्यावधिक प्रतिवेदन सार्वजनिक गर्ने काम हुँदै आएको छ।

यसरी हेर्दा नेपालले विपद् व्यवस्थापन तथा पूर्वतयारीमा केही राम्रा काम गरेको देखिन्छ। तर अझै पनि मनसुनका कारण हुने मानवीय क्षति कम गर्न सकिएको छैन र यो हरेक वर्ष बढ्दो क्रममा छ। राज्यका तीनै तहका सरकारले यो विषयमा थप सहकार्य गर्न सके क्षति घटाउन सकिन्छ। त्यसो त, विगत २ वर्षमा कोभिड–१९ महामारीका कारण नेपालमा अन्य प्राकृतिक विपद्का विषय ओझेलमा परेका थिए। राज्य सयन्त्रको सम्पूर्ण ध्यान महामारीले लिँदा समस्या उत्पन्न भएको थियो। महामारी लगभग नियन्त्रणमा आइसकेको अवस्थामा अब त्यो स्थिति छैन।

यो प्रसंगमा महत्त्वपूर्ण पक्ष के हो भने विपद् व्यवश्थापन बहुक्षेत्रगत विषय हो। यो विषयमा सरकारको कुनै एक मन्त्रालय तथा निकायको प्रयास मात्र पर्याप्त हुँदैन। इतिहास हेर्ने हो भने पनि २०७२ सालको भूकम्प, कोभिड–१९ रोकथाम तथा न्यूनीकरणका लागि भएका हरेक प्रयासमा राज्यका विषयगत निकायको संयुक्त प्रयास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहन्छ।

यसैगरी वर्षाजन्य विपद् निम्त्याउन हामी आफैँ पनि जिम्मेवार छौँ। विकासका गतिविधि एवम् भौतिक पूर्वाधार निर्माणका सम्बन्धमा वैज्ञानिक भूउपयोग नीतिको परिपालना नभएका कारण बाढी पहिरोका घटना बढेका हुन। त्यसैले यस्ता संभावित विपद् आउन नदिन समग्रमा प्रयास हुन आवश्यक छ। विषम प्रकृतिका घटना जलवायुका कारण भइरहेको छ। यसो हुनुमा मानवीय गतिविधि जिम्मेवार छ। मानिसले आफूलाई नसुधारेसम्म स्थिति झनझन बिग्रिँदै जानेछ। अतः विपद् आउन सक्छ भन्ने बुझेर पूर्वतयारी गर्नु आफैँमा आवश्यक छ।

प्रकाशित: २९ जेष्ठ २०७९ ००:०३ आइतबार

Download Nagarik App
Download Nagarik App