९ मंसिर २०८१ आइतबार
image/svg+xml
सम्पादकीय

वातावरणीय स्वच्छताका विकल्प

आज विश्व वातावरण दिवस। प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा मनाउने गरिएको छ। हाम्रो एउटै पृथ्वी छ। यसलाई कसरी भावी पुस्तासम्मले बस्न मिल्ने बनाउन सकिन्छ भन्ने चिन्ताले अहिले बुझ्जकीहरूलाई गाँजेको छ।

जसले नबुझी पृथ्वीको दोहन गरेका छन्, तिनको कुरा बेग्लै हो। जसले बुझेका छन्, तिनका निम्ति आगामी दिन सहज छैनन्। वातावरण बिगारेका कारण आज अनेकन हिसाबले मानवले दण्डित हुनुपरेको छ। त्यसैले विगतका गल्ती सच्याउँदै हाम्रो साझा घर पृथ्वीको संरक्षण गर्नु सबैको दायित्व हो।

यस वर्ष विश्व वातावरण दिवसको नारा ‘एक मात्र धर्ती’ लाई अगाडि सारिएको छ। प्रकृतिसँग तादाम्य राख्दै दिगो किसिमले बाँच्नु आजको कर्तव्य भएको छ। हाम्रो मुलुक यतिबेला वातावरणीय संकटको संघारमा छ। एकातिर, विकास निर्माणको गति समात्नुपरेको छ भने अर्कोतिर हाम्रो सुन्दर देशलाई वातावरणीय दृष्टिले कसरी जोगाउने भन्ने चिन्ता छ। विकासका नाममा डोजर लगाएर डाँडाहरू ध्वस्त पार्ने काम भएको छ।

सबै ठाउँमा सडक पुर्‍याउनै पर्छ भन्ने सोच यतिबेला सबैको छ। केही ठाउँलाई सडक सञ्जालबाट टाढै राखे पनि फरक पर्दैन। सडक आवश्यक भए प्रकृति संरक्षणको दिगो अवधारणालाई पनि साथै लिएर हिँड्नुपर्ने अवस्था छ। यसै पनि हाम्रा पहाड कमला छन्। तिनलाई जोगाउँदै विकासको काम गर्नुपर्ने हो। तर, डोजर लगाएर तिनलाई छियाछिया पारिएको छ।

विश्व वातावरण दिवस मनाउनुको अर्थ यसको गम्भीरतालाई मनन् गर्दै कार्ययोजना बनाउनु पनि हो। तर, यसलाई एउटा गफको विषय मात्र बनाउने गरिएको छ। वास्तवमा वातावरण जोगाउने स्वर आफैँमा कमजोर भएको छ। बलियाबांगा मानिसको ध्यान दोहनपट्टि गएको छ।

वास्तवमा हाम्रो मुलुकले वातावरणसँग सम्बन्धित समस्या बढ्ता भोग्न थालिसकेको छ। जथाभावी दोहन रोक्न खोज्ने व्यक्तिको ज्यानै जानेसम्मको हर्कत हुन थालिसकेको छ। यसै सिलसिलामा धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थिति औरही खोलामा भएको वातावरण अभियन्ता ओमप्रकाश महतो ‘दिलीप’ को हत्यालाई पनि सम्झनु उचित हुन्छ।

औरही खोलामा बर्सेनि आउने बाढीबाट गाउँ/समाजलाई जोगाउन संघर्षरत दिलीपलाई क्रसर माफियाले हत्या गरेका छन्। उनका हत्याराहरूमाथि कारबाही गर्न सक्ने स्थितिमा अहिलेको सरकार रहेको छैन। आफ्नो जीवनको वास्ता नगरी वातावरण जोगाउन तिनले संघर्ष गरे।

अन्ततः उनी माफियाको हातबाट मारिएका छन्। यो विषयलाई गम्भीरतापूर्वक लिएर दोषीमाथि कारबाही गर्न सकेको भए भोलि अरूले यस्तै हर्कत गर्न हच्किने अवस्था हुन्थ्यो। माफियाहरूको निर्वाध उत्खनन यहाँ सत्ताले देख्दैन। यस्तो अवैध उत्खननमा धेरैको आम्दानी जोडिएको छ।

यसरी हुने अवैध आम्दानीलाई राजनीतिले समेत उपयोग गर्दै आएको छ। त्यसैको परिणामस्वरूप आज स्थानीय स्रोत÷साधन आफ्नो बनाउन राजनीतिक व्यक्तिहरू लागेका छन्। तिनैले वातावरण विनाशको कारक रहेका माफियालाई समेत साथ दिने गरेका छन्। यस्ता पक्षमा राजनीतिक दल र सरकार इमानदार हुने हो भने समस्या धेरै कम हुने थियो।

यतिबेला स्थानीय तहमा नयाँ सरकार आइसकेको छ। तिनले वातावरण र सरसफाइमा ध्यान दिनुपर्ने हुन्छ। काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित बालेन्द्र साह (बालेन) फोहरमैला व्यवस्थापन र यहाँको वातावरणीय स्वच्छताका निम्ति संघर्षरत हुनुपर्ने अवस्थामा छन्। आफूले कार्यभार समालेको एक साता नहुँदै उनी फोहर व्यवस्थापनको चर्को दबाबमा परिसकेका छन्।

फोहर थन्क्याउने ठाउँ बन्चरे डाँडामा उनले तीनपटक भ्रमण गरिसकेका छन्। उनका एकपछि अर्को बैठक यसैमा केन्द्रित भइरहेका छन्। वातावरणीय समस्यालाई बेलैमा समाधान गर्न सकिएन भने यसैसँग जोडिएर अन्य समस्या आउँछन्। आज राजधानी काठमाडौँको प्रदूषणको स्थिति भयाबह छ। वायु प्रदूषणबाट नेपालमा मात्र एक वर्षमा ४२ हजार एक सय जनाको मृत्यु भएको छ।

वायु प्रदूषण एउटा ठूलो समस्याका रूपमा विश्वमै रहेको छ। काठमाडौँ उपत्यकामा रहेका धुवा निष्कासन गर्ने उद्योगधन्दा, सवारी साधन आदिको प्रदूषण बढाउन योगदान रहेको छ। जथाभावी फ्याँकिएको फोहरले पनि यहाँ प्रदूषण बढाएको छ। फोहरलाई घरघरमै व्यवस्थापन गर्न नसकेका कारण सबै फोहरलाई ल्यान्डफिल्ड साइटमा लैजानु र व्यवस्थापन गर्नु पनि अर्को ठूलो समस्या रहेको छ।

राजधानीभित्रको ढल व्यवस्थापन राम्रो हुन नसक्दा जनस्वास्थ्यमा यसको प्रभाव परेको छ। यी सबै समस्या वातावरणसँग जोडिएका छन्। त्यति मात्र होइन, पृथ्वीको तापक्रम बढ्दै जाँदा कालान्तरमा हाम्रा हिमाल पग्लिने गति अरू बढ्नेछ। अहिले नै यसको दुष्प्रभाव बढिरहेको छ। संसारले औद्योगिक क्रान्ति सुरु हुनुअघिकै स्थितिमा विश्व तापमानलाई राख्न प्रयास गरिरहेको छ।

अहिलेको तापक्रम वृद्धिलाई रोकिएन भने हाम्रो संसार बस्नलायक हुने छैन। यसले नयाँनयाँखालका संकट ल्याउनेछ। कैयन् मुलुक समुद्रभित्र पर्नेछन्। पहाडी मुलुकहरू पनि बढ्दो तापक्रमका कारण नयाँनयाँ समस्यामा पर्नेछन्। नयाँखालका रोगले आक्रमण गर्न थाल्नेछ। त्यसैले विकास र विनाशलाई बुझेर अगाडि बढ्नु जस्तो बुद्धिमत्तापूर्ण निर्णय अरू हुन सक्दैन।

मानिसले आफूलाई सम्हाल्नुको विकल्प छैन। आफूले गर्ने उपभोगबाट पृथ्वीमा कति दबाब पर्दैछ भन्ने महसुस गर्नु प्रत्येक बुद्धिमान मानिसको कर्तव्य हो। विकासको चरमचुलीमा पुगेको मानव सभ्यताले फेरि एकपटक आफूलाई रोकेर वातावरणीय दिगोपनका निम्ति सोच्नुपर्ने बेला भएको छ। वातावरण दिवसमा यो सद्विचार सबैमा प्रवेश गरोस्।  

प्रकाशित: २२ जेष्ठ २०७९ ०१:२० आइतबार

Download Nagarik App
Download Nagarik App