१५ वैशाख २०८१ शनिबार
image/svg+xml
सम्पादकीय

दोहोरिएका देउवा

सत्तारुढ नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई पुनः पार्टी सत्ताको जिम्मेवारी प्राप्त भएको छ। राजनीतिक दलहरूमा नेतृत्व परिवर्तनका निम्ति आवाज उठिरहेका बेला मुलुककै पुरानो पार्टी कांग्रेसको नेतृत्वमा दोहोरिने अवसर ७६ वर्षीय देउवालाई प्राप्त हुनु आफैँमा रोचक पक्ष हो।

कांग्रेसजनले अझै देउवाको आवश्यकता महसुस गरेका रहेछन् भन्ने बुझ्नुपर्ने हुन्छ। दलको मात्र होइन, सरकारको नेतृत्वमा पनि पटक–पटक पुग्न सक्ने क्षमता देउवाले राख्नुलाई उनको नेतृत्व क्षमताकै खुबीका रूपमा लिनुपर्ने हुन्छ। नेतृत्व परिवर्तनका निम्ति जतिसुकै आवाज उठे पनि त्यसलाई पार्टी पंक्तिले अस्वीकार गर्नुको अर्थ देउवामाथि अझै पत्यार रहेको बुझाउँछ।

कांग्रेस महाधिवेशन यसपटक नेतृत्व प्रतिस्पर्धाका हिसाबले रोचक रहेको छ। घुमाउरो पाराले देउवाले फेरि एकपटक वरिष्ठ नेता रामचन्द्र पौडेललाई दलको नेतृत्व गर्ने अवसरबाट सधैँका निम्ति पाखा पारेका छन्। पहिलो चरणमा देउवासँग प्रतिस्पर्धामा उत्रिएका शेखर कोइरालाले पाएको मत उत्साहजनक थियो।

पहिलो चरणमा देउवाले २ हजार २ सय ५८ मत पाउँदा कोइरालाले १ हजार ७ सय २९ मत पाएका छन्। अरू तीन प्रत्याशी प्रकाशमान सिंह,विमलेन्द्र निधि र कल्याण गुरुङले पाएको मत क्रमशः ३ सय ७१, २ सय ४९ र २० रहेको छ। यही चरणमा विजयी हुन देउवालाई ८२ मत मात्र कम प्राप्त भएको हो।

दोस्रो चरणको मतदानमा विरुद्धमा उठेका कोइरालाबाहेक सबै उम्मेदवारले देउवालाई समर्थन गरी उनको जित सुनिश्चित गरेका छन्। सिंह र निधि दुवै कोइरालालाई सभापति बनाउनुभन्दा देउवाकै नेतृत्व मान्य हुने निष्कर्षमा पुगेको देखिन्छ। दलभित्रका विभिन्न गुटबाट लाभान्वित हुनेमा देउवा छन् भने पौडेलले यसपटक निर्वाचित हुन सक्ने मौका गुमाएका छन्।

देउवाविरोधी सबै खेमा एक ठाउँमा आएका भए पौडेल यसपटक निश्चित रूपमा सभापति बन्न सक्ने देखिएको छ। संस्थापनइतर पक्षमा आफू मात्र उम्मेदवार बन्ने पौडेलको चाहना भए पनि त्यो सम्भव भएन। कोइराला पनि एकजना मात्र उम्मेदवार बनाउन तत्पर भएका हुन्।

खासगरी सिंहको आफैँ उठ्ने रुचिले यसपटकको परिणाम फेरि देउवाको पोल्टामा गएको छ। संस्थापनइतर खेमाका कोइरालालाई जिताउन पौडेलले कुनै अपिल गरेनन्। यसको अर्थ उनी जुनसुकै पक्षले जिते पनि भविष्यमा राष्ट्रपति पदका निम्ति तयार हुन खोजेको देखिएको छ।

देउवाले मत परिणाम आफ्नो पक्षमा पार्न सफल भए पनि उनको विकल्पमा उभिएको संख्या उल्लेख्य छ। यसकारण यी सबैलाई उनले मिलाएर जानुपर्ने चुनौती आगामी दिनमा हुनेछ। गुट, उपगुट सबै दलका निम्ति चुनौती हुन्।

यो स्थिति कांग्रेसमा समेत छ। यति हो,कांग्रेसमा विरोधका स्वर सुन्ने अभ्यास हुनाले अन्य दलमा जस्तो विभाजनको पीडा व्यहोर्नुपर्ला भन्ने छैन। देउवा आफैँले विगतमा कांग्रेस विभाजन गरेका हुन्।

 कालान्तरमा कांग्रेसमै मिसिएर यसको नेतृत्व गर्ने अवसर पाएका हुन्। उनलाई पार्टी एक ढिक्का बनाएर निर्वाचनमा जानुपर्ने चुनौती छ। तुलनात्मक रूपमा युवा नेताहरू महाधिवेशनबाट निर्वाचित भएर आउने छन्।

यसअघिका पदाधिकारीले जस्तो उनलाई जसो गरे पनि हुने भनेर छाड्ने छैनन्। दोस्रो चरणको निर्वाचनमा साथ दिएकालाई समेत आगामी दिनमा समेट्दै अगाडि बढ्नुपर्नेछ।

यसअघि एक्लै हिँड्न सक्ने देउवालाई विजयपछि कार्यशैली परिवर्तन गर्नुपर्ने दबाब पर्न सक्नेछ। तर, दलको नेतृत्व पाइसकेपछि एक्लै हिँड्ने बानी सबैजसो नेताको छ। देउवामा पनि त्यस्तो नहोला भन्न सकिन्न।

देउवाले निर्वाचनको मुखमा दिएको सन्देश तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीको त्रासबाट मुक्त गराएको र आगामी निर्वाचनमा कांग्रेसलाई संघ, प्रदेश र स्थानीय तहमा विजयी गराउने भन्ने हो। वामपन्थीको नेतृत्वमा यी सबै तहमा सरकार हुँदा कांग्रेसले खेप्नुपरेको चुनौतीप्रति कार्यकर्ता तह जानकार छ।

यस्ता आह्वानले पार्टी पंक्तिलाई आकर्षित गर्नु स्वाभाविक हो। महाधिवेशनबाट नेतृत्वमा आएपछि देउवालाई आगामी निर्वाचनको तयारी गर्न भने सहज हुनेछ। यसका साथै उनलाई अहिलेको गठबन्धनलाई निरन्तरता दिने वा नेकपा (एमाले) सँग मिलेर निर्वाचनमा जाने भन्ने विकल्पमा जान पनि सहज हुनेछ।

देउवाले ओलीका यसअघिका गतिविधिप्रति आलोचनात्मक अभिव्यक्ति दिँदै आएका कारण एमालेसँगै मिलेर अगाडि बढ्न भने सहज हुनेछैन। तैपनि नेपाली राजनीतिमा स्थायी शत्रु र मित्र भन्ने हुँदैन। आवश्यकताअनुसार जो जससँग पनि मिल्न सक्ने अवस्था छ।

आगामी निर्वाचनमा पार्टीलाई सफल बनाउन देउवामाथि दबाब छ। त्यसका निम्ति उनले सरकारलाई गति दिनुपर्ने अवस्था छ। अहिलेसम्मका कामका आधारमा भने कांग्रेसलाई सहज हुनेछैन। ओलीका अभिव्यक्ति र सरकारको कामका आधारमा आम मतदाता अलमलिने अवस्था आउन सक्छ। त्यो स्थिति चिर्नु र पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउनु देउवाका निम्ति चुनौती हो।

अघिल्लो निर्वाचनमा कम्युनिस्टले जिते भने रुन पनि पाइँदैन भनेका देउवाले आम मतदाताको मन जित्न खोजेका हुन्। आगामी निर्वाचनमा पनि यसअघिको सरकारले संविधानविरुद्ध गरेका कामलाई आम मतदातासम्म लैजानुपर्ने हुन्छ। त्यसका निम्ति उनले पार्टीलाई एक ढिक्का नबनाई सुख छैन।

दल आफैंमा विभाजित मानसिकतामा रह्यो भने प्रतिस्पर्धामा उम्दा हुन सजिलो छैन। सुदूर पश्चिमबाट नेपाली राजनीतिमा उदाएका देउवाले दलको नेतृत्व गर्न पाएको सफलता भने लोभलाग्दो छ। यो सफलताका निम्ति देउवालाई बधाई।

प्रकाशित: २९ मंसिर २०७८ ०१:५२ बुधबार

Download Nagarik App
Download Nagarik App