१५ वैशाख २०८१ शनिबार
image/svg+xml
सम्पादकीय

मौसमी प्रतिकूलता

पश्चिम नेपालमा मुखमा आएको बाली यस पटकको अनपेक्षित वर्षाले नोक्सान भएको छ। वर्षभरि मेहनत गरेर बाली थन्क्याउने बेलामा आएको मौसमी प्रतिकूलताले आगामी वर्ष किसानको जीवन थप कष्टकर बनाउन सक्छ। 

दसैँ पनि सकिएर घमाइला दिन सुरु भइसकेका बेला आइतबार रातिदेखि मौसम बदलिएको छ। यसले धेरैलाई समस्यामा पारेको छ।बालीनाली खेतबारीमै नोक्सान मात्र भएको छैन, नदीको सतह बढ्दा स्थानीय त्रासमा परेका छन्।

कैयन्लाई सुरक्षाकर्मीले उद्धार समेत गरेका छन्। मौसममा आएको यस्तो अस्वाभाविक घटनाक्रमले जनजीवनलाई जहिल्यै अप्ठ्यारोमा पार्ने गरेको छ। यस वर्षको निरन्तरको वर्षाले खेती सप्रिए पनि खेतको बाली ढुकुटीमा पुग्न नपाएपछि संकट सिर्जना भएको हो।

यो वर्षा मनसुन सकिएपछि सुरु भएको छ। वर्षा हुनुअघिसम्म निकै गर्मी महसुस भएको हो। अहिले आएर यसले जाडो पनि तत्काल ल्याएको छ। बंगालको खाडी र मध्य भारतमा रहेको न्यून चापीय प्रणाली क्रमशः उत्तरतिर सर्दा त्यसको प्रभाव नेपालमा पनि परेको हो।

यसमा पश्चिमा वायु प्रणालीको संयुक्त प्रभावसमेत परेको छ। सुदूर पश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा यो बर्सादले धेरै क्षति गरेको छ। यसको प्रभाव भने प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा पनि परेको छ। 

किसानले धान थन्क्याउने बेलामा भएको यस किसिमको मौसमी प्रभावले उनीहरूको दैनिक जीवनलाई नै प्रभावित गर्छ।यो बाली भित्र्याएपछि पूरा गर्ने भनी साँचेका सर्वसाधारणका सपनालाई यसले अन्योलमा पारिदिएको छ।

मौसमी प्रतिकूलताका निम्ति कसैलाई दोष दिन सकिन्न। तर यसको क्षति कम गर्न भने कोसिस गर्नुपर्छ। यसै पनि पछिल्ला वर्षहरूमा जलवायु संकट आउन थालेको छ।सोच्दै नसोचेको मौसमी गतिविधि हुने र त्यसले जनजीवनलाई कष्टकर बनाउने अवस्था यसले सिर्जना गर्दै आएको छ।ऋतु परिवर्तनअनुसार मौसम देखिने गरेको थियो। 

अहिले जाडो हुँदा अति जाडो, कतै अति गर्मी हुने अवस्था छ। हिजो धेरै जाडो हुने ठाउँमा आज त्यस्तो नहुन सक्छ। काठमाडौँ उपत्यकाकै कुरा गर्ने हो भने हिजो जति चिसो हिउँदमा यहाँ महसुस हुन्थ्यो, अहिले त्यस्तो छैन।वर्षैभरि वर्षा भइरहेको छ। कहिले अपेक्षा गरेभन्दा कम वर्षा पनि हुन्छ। यो सबै प्रतिकूलता जलवायु संकटका कारण आइरहेको छ।

त्यसैले यस्ता संकटबाट जोगिन रणनीतिक तयारी आवश्यक हुन्छ। राज्यले यस्ता बेलामा कस्तो भूमिका खेल्ने भन्ने तयारी गर्नु आवश्यक छ। वास्तवमा व्यवस्थित ढंगले मौसमी जानकारी दिने र त्यसका निम्ति तयारी गर्ने हो भने क्षति कम गर्न सकिन्छ। 

जापानलगायतका बढी भूकम्प आउने मुलुकले त्यसबाट जोगिन आवश्यक तयारी पहिल्यै गर्छन्। क्षति कम होस् भनेर तिनले पहिल्यैदेखि सर्वसाधारण र सरकारलाई तयारी अवस्थामा राख्ने प्रणाली विकास गरिएको छ। हामीकहाँ बाढी/पहिरो, वर्षा आदिले समस्या सिर्जना गरिरहने भएकाले त्यसबाट जोगिन के गर्न सकिन्छ, रणनीति तयारी आवश्यक हुन्छ। सरकारले यस्तो प्रतिकूल परिस्थितिबाट सर्वसाधारणलाई जोगाउन भूमिका खेल्नुपर्छ।

हामीकहाँ प्राकृतिक प्रकोपका कारण किसानले बर्सेनि क्षति बेहोर्दै आएका छन्। तिनलाई क्षतिबाट जोगाउने रणनीति भनेको तिनका उत्पादनको बिमा पनि हो। एउटा खास रकम किसानबाट लिएर बिमा गराउने र यस्तो संकटका बेला तिनलाई तोकिएको रकम दिन सक्ने हो भने राहत हुन सक्छ। 

कृषि बाली बिमा प्रणालीलाई व्यवस्थित बनाउनु उचित हुन्छ। यसो भए जस्तै संकटको अवस्था आउँदा पनि किसानले निराश हुनु पर्दैन। यो एक किसिमको ढाडस पनि हो। कथं क्षति भइहालेको खण्डमा त्यसको पूर्ति हुन्छ भन्ने विश्वासमा किसान बस्न सक्ने अवस्था आवश्यक छ।

कैलाली, कञ्चनपुर, दाङ, पाल्पा, चितवन आदि स्थानका किसानको धान खेतीमा यस्तो नोक्सानी सहन सजिलो छैन। त्यसैगरी कर्णालीले सधैँ खाद्यान्न संकट झेल्दै आएको छ। यस पटक बाली भित्र्याउने बेलामा आएको यो विपत्तिले तिनलाई थप संकटमा पार्ने देखिएको छ।

एकातिर मौसमी प्रतिकूलताले सर्वसाधारणको खाद्य सुरक्षामै प्रभाव परिरहेको छ।अर्कोतिर उत्पादन क्षमतासमेत घटिरहेको छ। उत्पादन पनि घट्ने र भएकै उत्पादन पनि भित्र्याउन नपाउने स्थिति आफैँमा प्रतिकूल देखिन्छ। 

त्यसैले प्रतिकूलतासँग जुध्दै आगामी दिनमा अगाडि बढ्न सर्वसाधारणलाई अहिल्यैदेखि सजग बनाउन थालिहाल्नुपर्छ। अन्यथा, यसले भविष्यमा अरू कठिनाइ उत्पन्न गर्नेछ।

अहिले देखिएको यो मौसमी प्रतिकूलतालाई सामान्य घटनाक्रमका रूपमा मात्र हेर्न सकिन्न। संसारभर यसले अनेकन वितण्डा गर्दै आएको छ।अतः अहिल्यैदेखि स्थानीय स्तरदेखि नै जल, जंगल र विविधतालाई जोगाउँदै भविष्यको अझ कठिनतम संकटबाट जोगिन प्रयास गर्नुपर्छ। 

संकटमा रहेका समुदायलाई जोगाउन र तिनको क्षमता बढाउन विशेष कार्यक्रम आवश्यक हुन्छन्। यसका लागि नेपालले कार्ययोजनासमेत बनाएको छ। कृषि विकाससँग सम्बन्धित सेवामा किसानको पहुँच पुर्‍याउने उद्देश्य राष्ट्रिय कार्ययोजनामा राखिएको छ।

संकटग्रस्त समुदायले आफूलाई यसका निम्ति तयार पार्न सक्ने बनाउनु आवश्यक छ। हामी वर्षैभरि जलवायुसँग सम्बन्धित संकटबाट गुज्रिरहेका छौँ। अब हाम्रो जीवनमा यो अवश्यम्भावी छ भन्ने बुझिसकेपछि त्यसबाट आफूलाई कसरी जोगाउने भन्ने सोच आवश्यक छ।तदनुकूलको अभ्यासका निम्ति सरकारले नागरिकलाई तत्पर गराउन सक्नुपर्छ।  

प्रकाशित: ३ कार्तिक २०७८ ०१:०७ बुधबार

Download Nagarik App
Download Nagarik App