१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
सम्पादकीय

सूचना प्रविधि जीवनरेखा

विश्वले सोमबार राति साढे नौ बजेदेखि ६ घन्टासम्म अनौठो समस्या अनुभव गर्‍यो। इन्टरनेटमा आधारित भई अहिले विश्वले प्रयोग गरिरहेका तीन सेवा अवरुद्ध हुन पुगेको हो। फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको सेवा अवरुद्ध हुँदा विश्वले समान रूपमा असजिलो महसुस गरेको छ। 

सूचना प्रविधिले विश्वलाई कसरी एउटा परिवारका रूपमा जोडेको रहेछ भन्ने योभन्दा गतिलो उदाहरण अरू के हुन सक्छ र ? आज इन्टरनेटले आमजनजीवन जोडेको छ। 

यसैका कारण सूचना तथा सञ्चारका निम्ति विश्वका प्रत्येक कुनामा बस्ने व्यक्तिले आफूलाई जानकारीको हकदार ठान्न सक्ने अवस्था छ। अमेरिकाको न्युयोर्कमा बस्ने हुन् वा काठमाडौँको न्युरोडमा, सबै ठाउँका मानिसले सूचना प्राप्तिमा नानो सेकेन्डको ढिलाइ पनि महसुस गर्नुपर्दैन।

सूचना प्रविधिको अकल्पनीय विकासले आजको युगलाई दिएको योगदान यही हो। सूचना र जानकारीका निम्ति कसैले कसैलाई कुरिरहनु पर्दैन। विनाअवरोध जानकारी फैलिइरहेका छन्। हिजो सूचना प्रवाह सीमित व्यक्तिको पकडमा थियो। 

आज हरेक व्यक्ति सूचना प्रवाहका हिस्सा हुन्। सबैले त्यसलाई प्रयोग गर्न सक्ने भएकाले स्वामित्व पनि सबैको भएको छ। त्यसैले यस्ता माध्यमलाई अहिले सामाजिक सञ्जालका रूपमा चित्रण गर्न थालिएको छ। 

सामाजिक सञ्जाल कति ठूलो भएछ भने फेसबुककै स्वामित्वमा रहेका यी तीन सेवा अवरुद्ध हुँदा संसारभर समाचार बन्न पुगेको छ। सेवा अवरुद्ध हुँदा कैयन् व्यक्ति र संस्थाले आफ्नो काममा अवरोध महसुस गरेका छन्। त्यो अवधिमा धेरैले अन्य सेवाबाट आफ्ना काम गर्नुपर्ने अवस्था उत्पन्न भएको छ।

विश्वका ४.८ अर्ब मानिसले इन्टरनेट प्रयोग गर्छन्। यसमध्ये २.८५ अर्ब मानिसले फेसबुक प्रयोग गर्छन्। त्यसैगरी ह्वाट्सएप र इन्स्टाग्रामको प्रयोग पनि उत्तिकै ठूलो छ। यी सामाजिक सञ्जाल आज हरेक व्यक्तिको जीवनमा अभिन्न अंग बन्न पुगेका छन्।

व्यक्तिगत र पारिवारिक जीवनमा मात्र होइन, व्यावसायिक रूपमा पनि यी माध्यमले सहज पारेका छन्। यिनको प्रयोग गरी  व्यक्तिले आफ्नो कामलाई सहज तुल्याएका छन्। सुखमा होस् वा दुःखमा, यी माध्यममार्फत व्यक्तिले आफूलाई प्रस्तुत गरिरहन्छन्। यी व्यक्तिगत जानकारी आदान–प्रदानका निम्ति मात्र होइन, सूचना प्रवाहका निम्ति पनि महत्त्वपूर्ण माध्यम बनेका छन्।

कुनै बेला परम्परागत सञ्चार माध्यम रेडियो, टेलिभिजन, पत्रपत्रिकाले मात्र सूचना र जानकारी सार्वजनिक गर्ने गर्थे। आज यस्तो जानकारीका निम्ति सामाजिक सञ्जालको भर नगरी सुख छैन। यसले आमनागरिकलाई सूचनाका उपभोक्ता मात्र बनाएको छैन, उत्पादकको श्रेणीमा पनि उकासेको छ। 

त्यसै कारण विगत वर्षहरूमा जति समाचार र सूचना उत्पादन हुन्थ्यो, त्यो मात्रा बढेको छ। त्यति मात्र होइन, परम्परागत माध्यमले उत्पादन गरेका सामग्रीको प्रसारका निम्ति पनि यी माध्यम नभई नहुने अवस्थामा पुगेका छन्। आमव्यक्तिको जीवनमा प्रभाव पार्न सक्ने गम्भीर खबर सार्वजनिक भएर पनि सामाजिक सञ्जालमार्फत वितरण भएन भने धेरैमा पुग्न सक्दैन। यस हिसाबले पनि यी सूचना र जानकारीको संसारका नयाँ खेलाडी बन्न पुगेका छन्।

कोभिड–१९ महामारीका कारण इन्टरनेटको महत्ता धेरै बढेको छ। यसै कारण विगतमा अनलाइन माध्यम प्रयोग कम गर्ने व्यक्तिले पनि यसलाई बढाएका छन्। अहिले इन्टरनेटका माध्यमबाट हुने कारोबार र व्यवसायको मात्रासमेत बढेको छ। 

कुनै बेला सामान्य खेलाडीका रूपमा हेरिएका प्रविधिमा आधारित विशाल कम्पनी अर्थात् ‘टेक जायन्ट’ का रूपमा चिनिन थालेका छन्। तिनले गर्ने व्यवसायको मात्रा निकै ठूलो भइसकेको छ। जति ठूला कम्पनी हुँदै जान्छन् तिनको आमसर्वसाधारणप्रतिको जवाफदेही पनि उत्तिकै हुँदै जान्छ। फेसबुकका यी सेवा अवरुद्ध हुँदा र खुल्दा यसका जिम्मेवार पदाधिकारीले दिएको जानकारी र उनीहरूको माफी मगाइबाट पनि यो बुझ्न सकिन्छ।

कुनै बेला किताब छाप्ने सामान्य प्रविधि मात्र हुँदा पनि समाजले आफूलाई त्यसबाट ज्ञान प्राप्तिको अनुपम अवसरका रूपमा लिएको थियो। त्यति मात्र होइन, पुस्तक धेरै छापिएर खराब विचार फैलिएला भन्ने चिन्ताले पनि मानिसलाई त्यत्तिकै आक्रान्त नपारेको होइन। आज त्यही स्थिति प्रविधिको बिजुली गतिले पारेको छ।

 हाम्रा हिजोका कैयन् मूल्य/मान्यता फेरिएका छन्। हिजो जे कुरा सार्वजनिक रूपमा बताउनुहुन्न भन्ने ठानिन्थ्यो, आज त्यो सबैको चासोको विषय भएको छ। एक हिसाबले हामीले आफूलाई सर्वाङ्ग खुला बनाउने अवसर पनि यसबाट पाएका छौँ। हिजो हामीले डिनरमा के खायौँ भन्ने कुरा आज अरूलाई बताउनुपर्ने समय आएको छ। हिजो यही पक्ष लाजको विषय हुन्थ्यो भने आज गर्वको विषय।

सूचना प्रविधिको यो बिजुली गति यत्तिकै रोकिने छैन। अझ केही वर्षमा हामीले आफूलाई कुन ठाउँमा पाउने छौँ कल्पना गर्न सकिन्न। निरन्तरको अनुसन्धान र विकासका कारण प्रविधि क्षेत्रले अरू प्रगति गर्नेछ। करिब तीन दशकको अभ्यासले प्रविधिमा आधारित जीवन सहज देखिएको छ। 

यो नभई हामीलाई अब कसैको घर/ठेगानासम्म पुग्न वा कुनै शब्दको अर्थ जान्नसमेत सहज हुने छैन। यति धेरै भर गरेको क्षेत्रमा कुनै किसिमको दुर्घटना हुँदा भने त्यसले तुल्याउने क्षति धेरै ठूलो हुने रहेछ। फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम ६ घन्टा अवरुद्ध हुँदा त यति धेरै गाह्रो हुन्छ भने भोलि इन्टरनेट केही लामो समय अवरुद्ध भए के होला ? त्यो बेला न हाम्रा बैंक चल्छन् न त अस्पतालले सेवा दिन सक्छन्। वास्तवमै प्रविधि हाम्रो जीवनरेखा बनेको संकेत हो यो।  

प्रकाशित: २० आश्विन २०७८ ००:१२ बुधबार

Download Nagarik App
Download Nagarik App