१२ असार २०८१ बुधबार
image/svg+xml
सम्पादकीय

संकटका आगामी स्वरूप

दुई वर्षयता बेलायती अखबार दि गार्डियनले ‘जलवायु परिवर्तन’ को सट्टा ‘क्लाइमेट क्राइसिस (जलवायु संकट)’, ‘ग्लोबल हिटिङ (विश्वव्यापी ताप)’ आदि शब्दावली प्रयोग गर्दै आएको छ। विशेषज्ञहरूले यसलाई संकटका रूपमा ग्रहण गर्नुपर्ने सुझाव दिइरहेका छन्। पृथ्वीको तापक्रम बितेका केही वर्षमा जुन अनुपातमा बढ्दै गएको छ, त्यसमा रोक नलाग्ने हो भने मानव जातिका निम्ति अकल्पनीय संकट आउन सक्छन्।

कोभिड–१९ विगत शताब्दीमा आएको जस्तै हामीकहाँ दोहोरिँदा हामीलाई जुन संकट आइपरेको छ, त्यो भन्दा कैयन् गुणा बढी संकट जलवायु संकटले ल्याउन सक्छ। त्यसैले कोभिड–१९ संकट टार्न विश्व राष्ट्रहरू एक भएर जसरी यसका विरुद्धमा क्रियाशील भएका छन्, त्यसैगरी क्रियाशील नहुने हो भने यो विश्व आफैँ समस्यामा पर्नेछ।

अहिलेसम्म जलवायु संकट प्राविधिक विषय जस्तो रहँदै आएको छ। यो विषय उठाइहाले पनि यसले आमनागरिकको जीवनमा छुँदैन भन्ने जस्तो अवस्था छ। यसका प्रभावले क्रमशः हाम्रो जनजीवनलाई छुन थालिसकेको छ। यसैको प्रभावका कारण कतिपय ठाउँमा वृष्टि हुन थालेको छ। 

कुनै ठाउँमा भने अति वृष्टि भइरहेको छ। सुक्खा लागेर धेरै मुलुक यतिबेला आक्रान्त छन्। एउटै देशमा कतै अति सुक्खा हुँदा आगलागीको समस्या भइरहेको छ भने अर्कोतिर अति वृष्टिबाट जनजीवन सामान्यीकरण गर्न कठिन भइरहेको छ। त्यसैले यो धर्ती भावी पुस्ताका निम्ति सुरक्षित छाड्ने हो भने अहिलेका संकटसँग जुध्ने रणनीति तयार पार्नु जरुरी छ।

पृथ्वीको तापमान बढ्दै जाँदा कुनै एउटा मुलुक मात्र बढ्ता प्रभावित हुँदैन। यसले कुनै न कुनै रूपमा विश्वका सबै मुलुकलाई छुँदै जानेछ। भारतीय सहर प्रदूषित हुँदा त्यसले नेपालका सीमावर्ती सहरलाई पनि उत्तिकै प्रभाव पार्छ। प्रदूषित वायुका कारण आममानिसका आयु कम भइरहेको छ। हाम्रो मुलुकले जुन गुणस्तरको वायुलाई गुणस्तरीय भन्ने मान्यता दिएको छ, त्यसको मापदण्ड विश्व स्वास्थ्य संगठनले बनाएको भन्दा कमजोर छ।

त्यसमा सुधार गर्नुपर्ने अवस्था आइसकेको छ। गत हिउँदमा राजधानी काठमाडौँ चारैतिरबाट आएको धुँवा र प्रदूषण मिश्रित वायुबाट पीडित भएको अनुभव हामी सबैलाई भएकै छ। अघिल्ला वर्षसम्म यस्तो स्थिति चीनको बेइजिङ वा भारतको नयाँ दिल्लीमा देखिँदा हामी आश्चर्यमा पथ्र्यौँ। समयक्रममा हामी आफैँ त्यसका भुक्तभोगी हुन पुगेका छौँ।

यो स्थितिलाई सामान्य रूपमा लिँदै चूप लागेर बस्ने हो भने आगामी दिनमा स्थिति अरू  भयावह हुँदै जानेछ। हामीले हेर्दाहेर्दै काठमाडौँ उपत्यकाको स्थिति धेरै खराब भइसकेको छ। केही दशकमै यहाँको वातावरण स्वास्थ्यका दृष्टिले अत्यन्तै कठिन भइसकेको छ। अहिलेसम्म वरिपरि पहाड र जंगलले घेरिएका कारण शीतल रहेको काठमाडौँ यही अवस्थामा रहन्छ भन्ने छैन। विशेष गरी वर्षाद्को मौसममा यहाँ प्रदूषण पखालिएका कारण जनजीवन सहज हुन्छ। तर दुई दिन पानी नपर्नेबित्तिकै स्थिति  भयावह हुन्छ। 

कचौरा आकारको काठमाडौँ उपत्यकाको वातावरणीय पक्षमा ध्यान नदिने हो भने आगामी वर्ष अरू कठिन हुनेछन्। यो वर्ष अलि बढी पानी परेका कारण त्यसको यथोचित निकास हुन सकेन। सिंगै काठमाडौँ कंक्रिटको जंगलमा रूपान्तरित भएका कारण वर्षाद्को पानी जमिनले सजिलै सोस्न सक्ने स्थितिमा छैन। ढलमै परेर हालै एक किशोरको मृत्यु भएको छ। यस्ता मृत्यु नियमित हुन थालिसकेका छन्।

यी सबै स्थितिलाई ध्यानमा राखेर काम गर्नुपर्ने अवस्था छ। अहिले जलवायु संकट भोगिरहेका विश्वका अन्य मुलुकलाई पनि हेर्नु र तिनीबाट सिकेर अघि बढ्नुको विकल्प छैन। यो वर्ष जुन २९ मा क्यानडाको लिटोन गाउँको तापक्रम ४९.६ डिग्री सेल्सियस अभिलेख गरिएको थियो। 

त्यसको भोलिपल्ट त्यहाँ डढेलो लाग्दा पूरै सहर ध्वस्त भएको थियो। कुनैबेला आमेजन जंगल वातवरणीय हिसाबले हाम्रा निम्ति सहयोगी थियो भने अहिले निरन्तर आगलागी हुने गरेको छ। हामीकहाँ सुक्खा बढ्नेबित्तिकै आगलागीका घटना बढेको देखिएको छ। वातावरणीय संकट आउँदा एउटा क्षेत्रमा मात्र प्रभाव पर्दैन। यसको बहुआयामिक असर हुन्छ।

हामी जस्ता मुलुकले गर्दै नगरेको कामका निम्ति वातवरणीय संकट सजायका रूपमा आइरहेको छ। धेरै मुलुकले आफूलाई औद्योगिकीकरणतर्फ लैजाँदा अत्यधिक कार्बन उत्सर्जन गरेका छन्। हामी आफैँले कार्बन उत्सर्जन अन्य विकसित मुलुकको तुलनामा कम गरेका छौँ। प्रतिव्यक्ति कार्बन उत्सर्जन नेपालमा सन् २०१६ को तथ्यांकअनुसार ०.१६ टन रहेको छ। 

हाम्रा दुई ठूला छिमेकी भारत र चीनको तुलनामा यो धेरै होइन। तर उनीहरूले गरिरहेका आक्रामक औद्योगिकीकरणको असर हामी र सिंगो पृथ्वीलाई पर्नेछ। सँगै उनीहरूले आफूलाई क्रमशः नवीकरणीय ऊर्जा र शून्य कार्बन उत्सर्जन गर्ने सवारी साधनतर्फ उन्मुख गराइरहेका छन्। यो स्थितिमा नेपाललाई अरू अवसर छन्। हामीले कसरी आफूलाई कम प्रदूषित मुलुक बनाउने भन्नेमा ध्यान  पुर्‍याउन सक्नुपर्छ।

वातावरणीय क्षेत्रमा आएका संकटले क्रमशः हाम्रा पूर्वाधारमा प्रभाव पार्न थालिसकेको छ। मेलम्ची खानेपानी आयोजनालाई यसपटक माथि पहाडबाट आएको लेदोले पुरेको घटना हाम्रा निम्ति गम्भीर शिक्षाको विषय हो। हाम्रा आयोजनाहरूको वातावरणीय प्रभाव मूल्यांकन प्रभावकारी भएको छैन भन्ने यो उदाहरण पनि हो। अझै पनि हाम्रो मुलुकले पूर्वाधार विकासमा धेरै काम गर्नुपर्ने अवस्था छ। त्यसैले वातावरणीय हिसाबले यसलाई ध्यानमा राख्दै अगाडि बढ्ने रणनीतितर्फ उन्मुख हुनुपर्छ। तर त्यो बाटोमा देश अघि बढेको देखिएको छैन। 

खासगरी सार्वजनिक यातायातको भरपर्दो व्यवस्थापन गर्नै त्यसलाई विद्युतीय माध्यमबाटै चल्ने बनाउने हो भने प्रदूषण कम हुन्छ। विद्युतीय सवारीमा सर्वसाधारणलाई आकर्षित गर्दै जानुपर्नेमा अझै पनि सरकारको रणनीति त्यस्तो बन्न सकेको छैन। वातावरणीय संकटलाई बुझेर अगाडि नबढ्ने हो भने हामीले सन्ततिलाई सुन्दर संसार हस्तान्तरण गर्न सक्ने छैनौँ। अहिले हामीले यस दिशामा राम्ररी काम गर्न सके विश्वलाई हामीले धाकका साथ सिकाउन र त्यसतर्फ लाग्न प्रेरित पनि गर्न सक्ने छौँ।  

प्रकाशित: १४ आश्विन २०७८ ००:०० बिहीबार

Download Nagarik App
Download Nagarik App