१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
सम्पादकीय

अर्थतन्त्रका अवरोध

कोभिड–१९ महामारीले विश्वका सबै मुलुकको अर्थतन्त्रमा कम–बेसी असर पारेको छ। करिब दुई वर्षदेखि मुलुकको अर्थतन्त्र कोभिडको चपेटामा परे पनि यसको तस्बिर ज्यादै खराब देखिएको थिएन। गत आर्थिक वर्षमा अर्थतन्त्रका परिसूचक धेरै नराम्रा देखिएनन्। 

कोभिड पीडामा आम सर्वसाधारण जति पिल्सिएका थिए, त्यसको तुलनामा अर्थतन्त्रमा समस्या कमै देखिए। गत आवमा मूल्यवृद्धि, आयातनिर्यात व्यापार, रेमिटेन्स आय, शोधनान्तर अवस्था, विदेशी विनिमय सञ्चिति, बैंकमा निक्षेप संकलन र निजी क्षेत्रमा गएको कर्जा लगानी लगायत अधिकांश परिसूचक अघिल्ला वर्षभन्दा कमजोर देखिएका थिएनन्।

चालू आर्थिक वर्षको पहिलो महिना साउनको तथ्यांकले भने केही निराश पारेको छ। नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित तथ्यांकले अर्थतन्त्रका बाह्य र आन्तरिक दुवै पाटोमा समस्या देखिन थालेको संकेत गरेको छ। मूल्य वृद्धि, आयात निर्यात व्यापार, रेमिटेन्स आय, शोधनान्तर अवस्था, चालू खाता, विदेशी विनिमय सञ्चिति लगायत अधिकांश परिसूचकमा दबाब पर्न सुरु गरेको प्रस्टै देखिन्छ। अर्थतन्त्रको आन्तरिक पाटोमा समस्या छँदै छ।

राष्ट्र बैंकको तथ्यांक अनुसार यो वर्षको साउनमा महँगीको दर ४.३५ प्रतिशतले बढेको छ। यो सरकारले राखेको लक्ष्यभन्दा धेरै नभए पनि पोहोरको भन्दा धेरै हो। गत वर्ष महँगी ३.४९ प्रतिशत मात्र थियो। 

यस्तै लामो समयदेखि अर्थतन्त्रको समस्याका रूपमा रहेको बढ्दो आयातले फेरि समस्या ल्याउने संकेत गरेको छ। कोभिडका कारण गत २ वर्ष आयात दर घटिरहेको थियो। तर, साउनमा फेरि अस्वाभाविक रूपमा उकासिएको छ।

साउनमा कुल वस्तु आयात ७५.७ प्रतिशतले बढेको छ। एकै महिनामा हामीले १ खर्ब ५० अर्ब ७३ करोडका सामान आयात गरेका छौं। गत वर्ष यस्तो आयात उल्टै १९.६ प्रतिशतले घटेको थियो। विगतका सरकारले दुई दुईपटक अन्तर्राष्ट्रिय लगानी सम्मेलन गरे पनि त्यसको प्रभाव वैदेशिक लगानी वृद्धिमा देखिएको छैन। 

वर्षमा २० अर्ब रूपैयाँ पनि लगानी नआउने अवस्थाले सरकार चुकेको प्रस्टै देखाउँछ। यो वर्ष उच्च दरले आयात बढ्दा निर्यात त्योभन्दा धेरै छ। तर आयातको तुलनामा नेपालबाट हुने वस्तु निर्यात परिमाण ज्यादै थोरै छ। त्यसैले कुल व्यापारमा यसको योगदान खासै रहँदैन। 

अघिल्लो वर्ष ८.९ प्रतिशत रहेको निर्यात यो वर्ष ११५.९ प्रतिशतले बढेर २० अर्ब ७६ करोडका वस्तु निर्यात गरिएको छ। आयात र निर्यात बीचको खाडलका कारण निर्यात उच्च दरले बढे पनि कुल वस्तु व्यापार घाटा ७०.६ प्रतिशतले बढेर १ खर्ब २९ अर्ब ९७ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो घाटा उल्टै २२.२ प्रतिशतले घटेको थियो।

करिब दुई वर्षको कोरोना कालभर बढेको रेमिटेन्स आय यो वर्षको सुरुमै घट्न पुगेको छ। यो वर्षको साउनमा रेमिटेन्समा १८.१ प्रतिशतले घटेर ७५ अर्ब ९६ करोड मात्र आएको छ। 

अघिल्लो वर्ष साउनमा रेमिटेन्स आप्रवाह २३.० प्रतिशतले बढेकोे थियो। अहिले रेमिटेन्स आय घटे पनि वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपाली बढेका कारण आगामी दिनमा फेरि रेमिटेन्स बढ्ने अनुमान गर्न सकिन्छ। यो वर्ष साउनमा १३ हजार ८ सयजना रोजगारीका लागि विदेश गएका छन्। यो विगत दुई वर्षयता सबैभन्दा धेरै हो।

अघिल्ला वर्षमा नाफामा रहेको चालू खाता साउनमा ४७ अर्ब ९० करोडले घाटामा रहेको छ। अघिल्लो वर्ष साउनमा चालू खाता २४ अर्ब ८९ करोडले बचतमा थियो। यस्तै खुद प्रत्यक्ष वैदेशिक लगानीमा पनि ६५.५ प्रतिशतले कमी आएको छ। एक महिनामा ४८ करोड ६ लाख मात्र लगानी आएको छ। 

जब कि गत वर्ष साउनमा १ अर्ब ३९ करोड आएको थियो। यस्तै अघिल्लो वर्ष ५१ अर्ब ४६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति यसपटक ३८ अर्ब ७५ करोडले घाटामा छ। यो वर्ष विदेशी मुद्रा सञ्चितिमा पनि कमी आएको छ। लामो समयदेखि बढिरहेको सञ्चितिमा अहिले एक्कासि रोक लागेको छ। गत असार मसान्तसम्म १३ खर्ब ९९ अर्ब बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति साउनमा ३.२ प्रतिशतले घटेको हो। एक महिनामै ४६ अर्ब सञ्चिति घटेको छ।

अर्थतन्त्रका परिसूचकमा यो वर्ष देखिन सुरु गरेका समस्यालाई सरकारले तत्कालै सम्बोधन गर्नुपर्छ। अहिलेको कुल व्यापार घाटा कम गर्न निर्यात बढाएर मात्र सम्भव छैन। सरकारले आयात प्रतिस्थापन रणनीति बनाए सफल हुन सकिन्छ। कुनकुन वस्तुमा आयात प्रतिस्थापन गर्न सकिन्छ भनेर निचोड निकाली त्यसअनुसारको कार्यक्रम बनाउनुपर्छ। 

हाम्रोमा करिब ५ खर्ब बराबरको आयात हुने कृषिजन्य वस्तुलाई मात्र प्रतिस्थापन गर्न सके व्यापार घाटा कम गर्न सहयोग पुग्नेछ। व्यापार घाटा चुलिएकै कारण अर्थतन्त्रका अन्य क्षेत्रमा पनि प्रभाव परेको हो। चालू खाता, शोधनान्तर, विदेशी विनिमय सञ्चिति लगायत परिसूचक नकारात्मक हुनुमा उच्च व्यापार घाटाको पनि योगदान रहन्छ। रेमिटेन्स आयमा एक्कासि आएको गिरावटप्रति पनि सरकार थप चनाखो हुनुपर्नेछ। रेमिटेन्स घटेर विदेशी मुद्रामा कमी आए सरकारलाई विभिन्न समस्या पर्नेछ।

यो वर्ष सरकारका लागि सकारात्मक पक्ष राजस्व संकलन करिब लक्ष्य अनुसार हुनु मात्र हो। राजस्व उठाए पनि खर्च गर्न नसक्दा ढुकुटी भरिनुबाहेकको अर्को उपलब्धि छैन। खर्च नहुँदा चौतर्फी समस्या सुरु भएको छ। त्यसै पनि यो वर्ष करिब साढे २ महिनापछि मात्र बजेट पास भएको छ। त्यसैले वर्षका साढे दुई महिना खेर गएका छन्। यही बेला अर्थतन्त्रका अधिकांश परिसूचकमा समस्या देखिन सुरु गरेपछि आगामी दिन सरकारका लागि सुखद हुने देखिँदैनन् । 

प्रकाशित: १२ आश्विन २०७८ ०१:०० मंगलबार

Download Nagarik App
Download Nagarik App