२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
सम्पादकीय

सामान्यीकरणका निम्ति सोच

कोरोना संक्रमणको दोस्रो लहरबाट सिर्जित खतराबीच गत वैशाख १६ देखि सुरु भएको बन्दाबन्दी खुकुलो हुने क्रम सुरु भएको छ। बन्दाबन्दी खुकुलो गत सातादेखि हुन थालेको हो। मंगलबारदेखि २५ सिटभन्दा माथिका सार्वजनिक यातायातसमेत जोर र बिजोर गरी खुलेपछि सर्वसाधारणको जीवन पनि धेरै हदसम्म खुलेको छ। निजी सवारी पनि जोर र बिजोर गरी गत साताबाटै चल्न थालेका हुन्। खासमा गत सातादेखि नै जनजीवन सक्रिय हुन थालिसकेको छ। कोरोनाको यो लहरमा झण्डै दुई महिना हाम्रा खेर गएका छन्। गत वर्षको लामो बन्दाबन्दी र यो वर्षको फेरि दुई महिनाको अवरोध दुवैले कुल मिलाएर सर्वसाधारणलाई निकै अप्ठ्यारो बनाएको छ। खासगरी दैनिक गुजाराका निम्ति काम गर्ने व्यक्तिहरूलाई यसले निकै मुस्किल पारेको छ।  

बितेका दुई महिनामा धेरैभन्दा धेरै सर्वसाधारणलाई खोप लगाउन पाएको भए जनजीवन निकै सहज हुने थियो। सरकारले यसबीच खोपको व्यवस्था गर्न सकेन। खोप उत्पादक मुलुकहरू भारत र चीनको बीचमा अवस्थित नेपालले खोप व्यवस्था गर्न नसक्नुलाई कूटनीतिक असफलताका रूपमा समेत लिइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नागरिकलाई खोपको व्यवस्था गरिन्छ भन्ने आश्वासन दिए पनि त्यसलाई कार्यान्वयन गर्न उनको सरकार अक्षम सावित भएको छ। कोरोना विषाणुबाट हुने महामारीबाट जोगिने प्रमुख उपाय खोपको व्यवस्था हो। आफ्ना नागरिकलाई बढीभन्दा बढी खोप लगाउन सक्ने हो भने यो महामारीबाट जोगाउन सहज हुनेछ। कोरोनाको तेस्रो र चौथो लहरको खतरातर्फ पनि विशेषज्ञहरूले ध्यानाकर्षण गराइसकेका छन्। छिमेकी भारतमा तेस्रो लहर आउने घोषणा विज्ञहरूले गरिसकेका छन्। त्यसकारण भारत सरकारले आफ्ना नागरिकलाई खोप लगाउने तत्परता देखाइरहेको छ।  

जनजीवन सामान्यकालमा जस्तो गरी चल्न थालिसकेको छ। एकातिर सर्वसाधारण घरभित्रै बस्दाबस्दा आत्तिएका स्थिति छ। अर्कोतिर सबैले खोप पनि पाइसकेका छैनन्। दैनिक जीवन चलाउन बाहिर निस्कँदा फेरि पनि कोरोना संक्रमणमा पर्ने खतरा यथावत् छ। सर्वसाधारणले आफूलाई यसबाट जोगाउँदै कसरी जनजीवनलाई सहज बनाएर अघिबढ्ने भन्ने पक्ष निकै चुनौतीपूर्ण छ। घरबाट ननिस्कने हो भने मुखमा माड लाग्दैन। निस्कौँ अझै जोखिम कम भएको छैन। यो स्थितिमा सर्वसाधारणले सुरक्षा मापदण्डलाई अत्यन्त सतर्कताका साथ पालना गर्नु उचित हुन्छ। जस्तै परिस्थितिमा पनि भीडभाडमा जाँदा मास्क लगाउने, अरू व्यक्तिसँग निर्धारित दूरी कायम गर्ने, साबुन–पानीले हात धोइरहने र स्यानिटाइजर आदिको प्रयोग गर्ने अभ्यासलाई यथावत् राख्नुपर्ने अवस्था छ।  

अहिलेको ‘न्यु नर्मल’ अर्थात् नवीन सामान्यकाल हिजोजस्तो सहज स्थिति छैन। मुलुकको राजनीति कोरोना संक्रमणसँग जुध्न सहज किसिमको हुन सकेन। कोरोना संक्रमण जत्तिकै यहाँको राजनीतिक संक्रमण पनि संग्रालिएको छ। राजनीति प्रभावकारी भएको भए कोरोना संक्रमण सामना गर्न पनि सहज हुने थियो। सरकारको ध्यान पूर्णरूपमा यसको नियन्त्रण, खोप खरिद र जनजीवनलाई सामानय बनाउनतिर हुनुपर्ने हो। तर सरकार र सबैजसो राजनीतिक दलको ध्यान आज पनि दैनिक राजनीतिमै छ। दलभित्रको तानातानले दलहरूको अवस्था अत्यन्तै कठिन भइरहेको छ। यसको थालनी भने तत्कालीन नेपाल कम्युनिस्ट पार्टीमा देखिएको विवादबाटै भएको हो। डेढ वर्षदेखि नेकपामा आएको विवादले नेकपा (एमाले), माओवादी केन्द्र आदि हुँदै अहिलेसम्म आइपुग्दा पनि यो स्थिति सङ्गिलएको छैन। सत्तारुढ एमालेका प्रधानमन्त्री ओली समूह र वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल समूह बुधबार पनि आआफ्ना रणनीतिक तयारीमै लागेका छन्। बितेको समयमा यी दल र नेताले कोरोनाका निम्ति भन्दा पनि आफ्नै दलभित्रको समस्यामा बढ्ता ध्यान केन्द्रित गरेका छन्। आफ्नै समस्या समाधान गर्न नसकेर तिनले देशका समस्यालाई अलपत्र पारेका छन्।

आमसर्वसाधारणले महसुस गर्नुपर्ने पक्ष के हो भने आफू र परिवारलाई ध्यान नदिने हो भने यहाँको ‘कल्याणकारी’ संरचनाले तिनलाई कतैबाट छुँदैन। कोरोना संक्रमण उत्कर्षमा पुगेका बेला सर्वसाधारणले अस्पतालमा शैया नपाएको, उपचारका निम्ति अत्यन्तै कठिन भएको अवस्था तिनले महसुस गरेका छन्। धन्य, अस्पतालमा रहेका चिकित्साकर्मीले खेलेको भूमिकाका कारण मात्र सर्वसाधारणले केही राहत महसुस गरेका हुन्। खासगरी सेवा/सुविधाका हिसाबले निकै कठिन स्थिति भए पनि सरकारी अस्पतालले दिएको सेवा हाम्रा निम्ति निकै मूल्यवान रह्यो। निजी क्षेत्रले पनि सेवा त दिए तर कतिपय व्यक्तिले यसलाई उपभोग गर्न सक्ने स्थिति रहेन। अतः सार्वजनिक स्वास्थ्य सेवालाई नै प्रभावकारी बनाउनुपर्छ भन्ने सन्देश यसपटकको महामारीले दिएको छ।  

जनजीवन फेरि सामान्य हुन सक्छ। तर अर्को लहर आउनुअघि खोपको व्यवस्था गर्नेतर्फ सरकारको ध्यान जानुपर्छ। त्यसका निम्ति मुलुकका दल र नागरिक समाजले सरकारलाई यसका निम्ति घच्घच्याउनुपर्छ। त्यतिमात्र हैन, नागरिकस्तरमा पनि हाम्रो खोपको अवस्थालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने अवस्था छ। त्यसो भयो भने आमनेपालीको जीवन रक्षाका निम्ति केही हुन सक्छ। खोप खरिदकै निम्ति सरकारले पहल थालिहाल्नुपर्ने हो। कतैबाट सहयोग आउँदैन भने खरिदको विकल्प छैन। यथोचित रणनीति बनाएर काम गर्ने मुलुकका नेतृत्वले पहिल्यै खोप खरिद गरेर राख्न सके। हामीले त्यतातिर ध्यान दिएनौँ। जतिबेला किन्न पाइने स्थिति थियो, त्योबेलामै अलि बढी ल्याउन सकेको भए पनि हुन्थ्यो। सरकारी ठुल्ठूला खरिद र निर्माणभन्दा आमनागरिकको स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्छ। त्यसका निम्ति खोप खरिद गर्न सरकारको ध्यान जानुपर्छ। यसो भयो भनेमात्र आगामी कोरोना लहरहरूबाट मुलुक र मुलुकबासीलाई जोगाउन सकिन्छ।  

प्रकाशित: १७ असार २०७८ ०२:५४ बिहीबार

Download Nagarik App
Download Nagarik App