१२ मंसिर २०८१ बुधबार
image/svg+xml
सम्पादकीय

खोइ खोप ?

झण्डै दुई महिनाको एकान्तबासपछि फेरि सर्वसाधारण सार्वजनिक जीवनमा फर्किंदै छन्। कोरोना विषाणु सिर्जित संक्रमणको दोस्रो लहर सुरु भएपछि वैशाख १६ देखि मुलुक फेरि बन्दाबन्दीमा परेको हो। बन्दाबन्दीबीच हामीले धेरै आफन्तजनलाई गुमाएका छौँ। यी कष्टपूर्ण ५४ दिन हाम्रा निम्ति अनेकन कठोर स्मृतिले भरिएका छन्। जिन्दगीमा कहर काट्नु भनेको के हो भन्ने महसुस वास्तवमै हामीलाई यी बन्दाबन्दी अवधिमा महसुस भएको छ। अत्यावश्यक काममा घरबाहिर निस्कनेबाहेक अन्य सर्वसाधारणका निम्ति यी दिन अत्यन्तै कष्टकर भइरहेका छन्। अत्यावश्यक काम नभएकाहरूका निम्ति अझै एक साता बन्दाबन्दी लम्बिएको छ तर यो पहिलाजस्तो पूर्ण बन्द भने होइन।  

एकातिर, कोरोनासँग लड्न घरै बस्दा सबैजसो व्यक्तिको आम्दानीको स्रोत सुकेका छ। अर्कोतिर, यसैबीच भएका संक्रमणमा परिवार गुमाउनुपर्दा वा कमजोर स्वास्थ्य संरचनाभित्र उपचार खोज्दाका भुक्तमान पनि हाम्रा स्मृतिमा अत्यन्तै पीडाका अक्षर लेखेर रहेका छन्। त्यस्तै, सार्वजनिक जीवन त्यागेर एकांकी जीवन बिताउनुपर्दा समग्र स्वास्थ्य स्थितिमै ठूलो प्रभाव परेको छ। यो विषम परिस्थितिमा फेरि जनजीवन सामान्यकालतर्फ फर्कन तयार छ। कैयन् दिन घरैमा थुनिएका मानिसलाई घरबाहिर निस्कने उत्कट अभिलाषा छ। तर, अझै हाम्रा निम्ति अनुकूल समय छैन। यो बन्दाबन्दी अवधिमा हामीले सबै नागरिकलाई खोप लगाउन सकेको भए स्थिति भिन्न हुन्थ्यो। अधिकांश नागरिकले खोप लगाउनुपर्ने गुरुत्तर दायित्व राज्यका तर्फबाट पूरा हुन सकेन।

अझै पनि संक्रमण दर २० प्रतिशतकै हाराहारीमा छ। संक्रमण दर ५ प्रतिशतमा नपुगेसम्म अझै खतरनाक स्थिति रहन्छ। यो बेलामा सरकारले बन्दाबन्दी खुला गरिदिए पनि सर्वसाधारणले स्वास्थ्य मापदण्डमा ख्याल गरेर जीविका चलाउनु नै अहिलेका निम्ति उत्तम विकल्प हो। 

खोप खरिदका निम्ति सरकारले गरेका प्रयास सफल हुन सकेनन्। यसबीच बिचौलियाहरूले खोपलाई पनि अतिरिक्त आयको माध्यम बनाउन खोजेका तथ्य सार्वजनिक भइसकेका छन्। खोप गरिद गर्न बेलैमा ध्यान पुर्‍याउन सकेको भए समय यतिबेला फरक हुन्थ्यो। मंगलबारदेखि उपत्यकामा जोर र बिजोर नम्बरका सार्वजनिक र निजी गाडी सडकमा निस्किने छन्। त्यसैगरी भाडाका सवारी साधनका चालक र त्यसलाई प्रयोग गर्ने व्यक्तिहरू खोप लगाउन पाएका भए अहिलेको संक्रमण दर बिस्तारै घट्न जान्थ्यो।  

अझै पनि संक्रमण दर २० प्रतिशतकै हाराहारीमा छ। संक्रमण दर ५ प्रतिशतमा नपुगेसम्म अझै खतरनाक स्थिति रहन्छ। यो बेलामा सरकारले बन्दाबन्दी खुला गरिदिए पनि सर्वसाधारणले स्वास्थ्य मापदण्डमा ख्याल गरेर जीविका चलाउनु नै अहिलेका निम्ति उत्तम विकल्प हो। सबै नागरिकले खोप लगाउन नपाएसम्म सार्वजनिक जीवनमा निस्किँदा मास्क अनिवार्यरूपमा लगाउनुलाई कर्तव्यकै रूपमा लिनुपर्छ। एकअर्काबीचको भौतिक दूरी, साबुनपानीले हात धोइरहने र आफूलाई बेलाबेलामा स्यानिटाइजर प्रयोग गरी सुरक्षित राखिरहने अभ्यास अहिलेको आवश्यकता हो। अझै पनि आवश्यकता नभई कतै जानु उचित हुँदैन। सरकारले अहिले पनि सार्वजनिक ठाउँमा भेला हुन्, पार्टी भोज आदि आयोजना गर्न रोक लगाएको छ। त्यसैगरी विवाह, व्रतवन्ध जस्ता सामाजिक गतिविधिमा पनि परिवार सदस्यमै सीमित गर्ने अहिलेका स्वास्थ्य मापदण्ड वास्तवमै हामीले ध्यान दिन लायकका छन्। बाँचीवर्ती गयौँ भने फेरि रमाइलो हुने नै छ।  

कोभिड–१९ को अर्को उत्परिवर्तित स्वरूप नेपालमा पनि देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ‘डेल्टा भेरियन्ट’ नाम दिइएको यो उत्परिवर्तित स्वरूप अन्य भन्दा धेरै सर्ने र घातक प्रकृतिको रहेको समेत विशेषज्ञहरूले चेतावनी दिइसकेका छन्। सबै नागरिकले खोप नलगाइसकेको अहिलेको स्थितिमा सर्वसाधारणलाई थप सचेत गराउनेतिर ध्यान जानु उचित देखिन्छ। वर्षको सबै भन्दा लामो दिन अर्थात् सोमबार जुन २१ लाई बेलायत सरकारले कोरोना विषाणुबाट स्वतन्त्रताको दिनका रूपमा मनाउन गरेको तयारीबाट समेत यसै कारण पछि हट्नुपरेको छ। कोरोना विषाणुले त्रसित आमनागरिकमा रहेका अनेकन बन्देज हट्ने अपेक्षामा नयाँ स्वरूपले तुषारापात गरेको छ। हामीकहाँ त अझ स्थिति सहज भइसकेकै छैन। अलिकति पनि बुद्धिमत्तापूर्ण ढंगले काम गर्ने हो भने यो विपत्तिबाट हामी सजिलै बाहिर निस्किन सक्छौँ।

त्यसका निम्ति सबैभन्दा अत्यावश्यक खोप हो। यसबीच राष्ट्रपति विद्यादेवी भण्डारीलाई अघि सारेर सरकारले खोप कूटनीति चलाउन खोजे पनि त्यसले कुनै प्रतिफल दिन सकेन। खासमा प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक योजनाअनुसार चलेका कारण आलोचित राष्ट्रपति भण्डारीको छवि सुधारका निम्ति मात्र त्यो काम गरिएको थियो। उनले पत्र लेखिसकेपछि कतिपय मुलुकले त्यसको जवाफ लेख्नुपर्ने आवश्यकतासमेत महसुस गरेनन्। जसले नेपाललाई केही खोप सहयोग दिने पूर्वघोषणा गरेका थिए, त्यसैको निरन्तरताबाहेक केही पनि भएन। वास्तवमा कोरोना संक्रमणका हिसाबले सरकार पूर्णतः असफल देखिएको छ। सरकारले आयोजना गरेको बन्दाबन्दीलाई आमनागरिकले सहयोग गरेका कारण मात्र यो केही सहज देखिएको हो। अन्यत्र मुलुकमा जस्ता आमनागरिकको यसप्रति विरोध रहेको भए यसरी बन्दाबन्दी गरिरहन सम्भव थिएन।  

बन्दाबन्दीमात्र उपाय हुन सक्दैन। जतिबेला चीनको वुहानमा कोरोना विषाणु संक्रमण देखियो, त्यतिबेला यसले गर्न सक्ने क्षति र यसको उपचारबारे धेरै जानकारी थिएन। मानव ज्ञानको र अनुसन्धानले यसलाई झण्डै करिव डेढ वर्षमै नियन्त्रण गर्न सक्ने अवस्था सिर्जना भएको छ। अत्यन्तै दु्रत गतिमा खोप विकास गरेर मानव मात्रको सेवामा लगाउन चिकित्सा विज्ञान सफल भएको छ। मुलुकमा जिम्मेवार सरकार हुने हो भने खोप लगाएर नागरिकले सहजै आफ्नो जीवनमा फर्किन सम्भव हुने छ। कतिपय विकसित मुलुकले काम गर्न नसक्ने सर्वसाधारणलाई आर्थिक सहयोगसमेत गरेका छन्। हामीकहाँ सर्वसाधारणले त्यसरी सहयोग पाउने कल्पना गर्नु सोम शर्माको सपना सावित हुन्छ। अरू केही नभए पनि खोपको व्यवस्थापनमा ध्यान दिन सकेको भए वास्तवमा सरकारप्रतिको धारणासमेत फरक हुन्थ्यो।  

सरकारको ध्यान खोपको व्यवस्थापनमा देखिएन। यसबीच राजनीतिले आमनागरिकलाई सबैभन्दा बढी असन्तुष्टि दिएको छ। कोरोना संक्रमणमा दुःख पाएपछि अहिले सबैलाई महसुस भएकै के हो भने आफ्नो अधिकारका निम्ति मरिमेट्ने भन्दा पनि आमनागरिकको सुरक्षाका निम्ति दायित्व बोध गर्ने सरकार सबैभन्दा लोकतान्त्रिक हुन्छ। आखिर लोकतान्त्रिक शासन भनेको पनि त्यही हो।

प्रकाशित: ८ असार २०७८ ०२:४४ मंगलबार

Download Nagarik App
Download Nagarik App