११ असार २०७८ शुक्रबार
सम्पादकीय

संक्रमणमा सक्रियता

केही सातायता कोरोना कहरले जनजीवनलाई थप आतंकित तुल्याएको छ। यो साताको सुरु आइतबार संक्रमणको दर केही घटेका कारण थोरै भए पनि आशा लागेको हो। तर, सोमबार सार्वजनिक पछिल्लो २४ घन्टाको तथ्यांक अनुसार २ सय १४ जनाको मृत्यु पुष्टि भएको छ। जाँचको दायरा नबढाइ यथार्थको नजिक पुग्न सकिन्न। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार संक्रमण ८ प्रतिशतले कम भएको देखाइए पनि त्यो यथार्थ नजिक छैन। छिमेकी भारतमा पनि केही दिनयता यो क्रमशः घटिरहेको छ। भारतमा कोरोना संक्रमणको उत्कर्ष र त्यसको कमी दुवैको प्रभाव यहाँ पनि केही साताको अन्तरालमा देखिने गरेको छ। यसकारण पनि क्रमशः यहाँ संक्रमण कम हुँदै जाने अनुमान गरिएको छ। पर्याप्त जाँच नगरी यसै भन्न सकिने स्थिति भने छैन।  

कोरोना संक्रमण केही कम हुन थालेकोमा आशा गर्नु एउटा पक्ष हो तर यसले अहिलेसम्म गरेको क्षतिको ठूलो मूल्य परिवार र देशले चुकाउनुपर्ने अवस्था छ। केही दिनयता हामीले चिनेजानेका र प्रसिद्ध व्यक्तिहरूको निधनका खबरले दुःखी बनाइरहेको छ। प्रियजन गुमाएका परिवारको अथाहा वेदनाको कुनै हिसाब छैन। त्यसैगरी बिरामी भएका परिवारले पाएको दुःखको वर्णन गर्न सकिन्न। यसबीच औषधोपचारमा तिनले पाएको सास्तीले हामीलाई वर्षौँ वर्षसम्म गिज्याइरहनेछ। समयमा उपचार नपाएर मृत्युको मुखमा पुगेका व्यक्तिहरूको दोष जिम्मेवारीमा रहनेहरूले लिनुपर्छ। यो एक किसिमको हत्या हो। अक्सिजनको प्रवाह नपुगेर वा अस्पतालमा शैया नपाएर मृत्युको मुखमा धकेलिनु जस्तो पीडादायी परिवारका निम्ति केही हुन सक्दैन।  

औषधोपचारमा तिनले पाएको सास्तीले हामीलाई वर्षौँ वर्षसम्म गिज्याइरहनेछ। समयमा उपचार नपाएर मृत्युको मुखमा पुगेका व्यक्तिहरूको दोष जिम्मेवारीमा रहनेहरूले लिनुपर्छ। यो एक किसिमको हत्या हो। अक्सिजनको प्रवाह नपुगेर वा अस्पतालमा शैया नपाएर मृत्युको मुखमा धकेलिनु जस्तो पीडादायी परिवारका निम्ति केही हुन सक्दैन।  

यसबीच हाम्रो राज्यको अवस्था कुनै तयारीबिनाको रह्यो। उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा कोरोना संक्रमणसँग लड्न केपी शर्मा ओली सरकारले उच्चस्तरीय संयन्त्र बनाएको छ। तर, यो संयन्त्रले बेलैमा सम्भावित खतरालाई ध्यानमा राखेर काम गरेन। यो समितिले सक्रिय भएर कोरोनाको गतिलाई बुझ्ने र तद्नुकूलका व्यवस्थापन गर्ने काम मात्रै गरेको भए पनि धेरै जीउधनको रक्षा हुन्थ्यो। जतिबेला भारतका महाराष्ट्रलगायतका राज्यमा कोरोना आतंक फैलिएको थियो, त्यतिबेला हामीले आवश्यक तयारी गर्न सक्थ्यौँ। त्यति मात्र होइन, कोरोना विषाणुको नयाँ उत्परिवर्तन थप खतरनाक छ भन्ने जानकारीमा लिएर यहाँ बेलैमा रणनीति बनाउने काम भएन।  

गत वर्ष यतिबेला केही सयको संख्यामा मात्र कोरोना संक्रमण थियो। तर त्यो बेला विकसित भनिएका मुलुकहरू इटाली, अमेरिका आदिमा यसको खराब स्थिति देखिएको थियो। कैयन् व्यक्ति उपचार नपाएर मरिरहेका थिए। यो एक वर्ष हाम्रा निम्ति तयारीको वर्ष हुन सक्थ्यो। अहिले आएर उपप्रधानमन्त्री पोखरेलले यो महामारी हो, यसबारे कसरी थाहा हुन सक्थ्यो भनेर पन्छिने गरेका छन्। वास्तवमा महामारीको पनि पूर्वानुमान हुने गरेको छ। त्यसमा पनि विषाणु हरेक सय वर्षमा यसरी नै मानव समुदायमा आक्रामक हुने गरेको भविष्यवाणी गरिएका थिए। त्यति मात्र होइन, चीनको वुहानमा यो विषाणु संक्रमण सुरु हुनेबित्तिकै बिल गेट्सले खोपका निम्ति पहल सुरु गरेका थिए। यस्तो विषाणु संक्रमण सुरु भएपछि उनी चूप लागेर बसेका भए पनि हुन्थ्यो। तर उनी जस्ता धेरै व्यक्तिको सक्रियताका कारण आज विश्वले खोप लगाउन सक्ने अवस्था आएको छ।  

त्यसकारण यस्ता विपत्तिमा तयारीको धेरै ठूलो अर्थ हुन्छ। अहिले व्यक्तिहरूलाई अस्पताल पुगेर अक्सिजनको भरमा बाँच्ने संघर्ष गर्नुपर्ने अवस्थामा पुग्नुअघि नै बन्दाबन्दी गरेर वा अन्य नियन्त्रणात्मक उपाय अपनाउन सकिने थियो तर सरकारले केही गरेन। अझ सरकार त अन्य विपक्षीले जस्तै सडक प्रदर्शनमा लागेको थियो। त्यो बेला सतर्कता अपनाएको, बेलैमा संरचनागत सुधारमा ध्यान दिएको र भारत र अन्य मुलुकमा कोरोना विषाणुले मच्चाइरहेको उत्पातबारे बेलैमा ध्यान पुर्‍याएको भए स्थिति अहिले जस्तो खराब हुने थिएन। त्यो बेला हामी हाम्रो प्रतिरोध क्षमता विश्वमै उच्च भएको दम्भ गर्नमै व्यस्त थियौँ। अम्बाका पात, बेसारपानी, हाच्छ्यँुसाच्छ्युँका विदुषक वाणीले हाम्रो जनजीवनलाई अहिले पनि दिग्भ्रमित पारिदिएको छ। ठूला पदमा रहेका व्यक्तिले बोलेको कुरा सर्वसाधारणले पनि पत्याउँछन्। त्यसैकारण लापरबाही गर्दा अहिलेको अवस्था आएको हो।  

यतिबेला काठमाडौँ उपत्यका र अन्य सहरी क्षेत्रमा केही सजगता देखिए पनि गाउँ र दुर्गम क्षेत्रमा समेत यसको खतरनाक प्रभाव देखिएको छ। उपत्यका बाहिरका कतिपय गाउँमा पूराका पूरा मानिसलाई कोरोना संक्रमण भएका खबर आइरहेका छन्। गाउँगाउँमा हुने विवाह, व्रतबन्ध आदिमा त्यतिबेलै सजग तुल्याउन सकेको देखिएन। यस्ता कार्य अहिले नगरेर केही समयपछि गरेको भए पनि हुन्थ्यो। कतिपय अवस्थामा बेहुलीलाई अक्सिजन दिन अस्पताल पुर्‍याएर फेरि विवाहको मण्डपमा फर्काएका घटना पनि सार्वजनिक भइसकेका छन्। विवाहपछि कतै बेहुला कतै बेहुलीको निधन भएको छ। अझ कतिपयले खोप लगाउने मौका पाएर पनि गुमाए। खोपका निम्ति कतिपयले चाहना गर्दा पनि पाएका छैनन्। यसपटकको संक्रमण खोप लगाएका व्यक्तिमा पनि देखियो। तर तिनलाई ज्यादै गम्भीर बनाएका थोरै घटना मात्र रहेका छन्।  

राजधानी काठमाडौँलगायत देशका विभिन्न ठाउँमा गरिएको अहिलेको बन्दाबन्दीले कोरोना संक्रमणको चक्रलाई केही हदसम्म नियन्त्रण गर्न सफल भएको देखिन्छ। तैपनि हाम्रो सन्दर्भमा ५ हजार भन्दा बढीको मृत्यु भइसकेको छ। यो संख्या सानो होइन। देशका निम्ति यो सानो होला तर व्यक्ति र परिवारका निम्ति यो अपुरणीय क्षति हो। त्यसकारण यो असफलताबाट पाठ सिक्दै भावी दिनका निम्ति पनि रणनीति तयार गर्दै अघि बढ्न तत्पर हुनुपर्छ। बेलैमा मेडिकल सामग्री खरिद र पूर्वाधार व्यवस्थामा ध्यान पुग्नुपर्छ। थप जनधनको क्षति नहोस् भनेर राज्यले भरोसायोग्य प्रणाली विकास गर्न सक्नुपर्छ। संक्रमणको रेखालाई क्रमशः घटाउँदै लैजान सरकारले विशेषज्ञहरूलाई सुन्ने र उनीहरूकै रणनीतिमा हिँड्ने गर्नुपर्छ। राजनीति गर्ने व्यक्तिहरूका हावादारी कुराले कोरोना संक्रमण नियन्त्रण होइन झन् बढी फैलिएको छ भन्ने बुझ्न ढिला गर्नुहुँदैन।

प्रकाशित: ४ जेष्ठ २०७८ ०८:५० मंगलबार

Download Nagarik App
Download Nagarik App