२३ वैशाख २०८१ आइतबार
image/svg+xml
सम्पादकीय

क्रिकेटमा फड्को

त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा नेपालले फाइनलमा नेदरल्यान्ड्समाथि फराकिलो जित निकाल्दै जुन उपाधि हासिल गर्‍यो, त्यो सम्पूर्ण नेपाली क्रिकेटप्रेमीका लागि उत्साहको विषय हो। त्यसो त शृंखलाभरि नै निडरतापूर्वक ब्याटिङ प्रस्तुत गरेको नेपालले घरेलु मैदानमा ११ वर्षपछि उपाधि पाउनु त्यसै पनि सफलताको विषय हो।

शृंखलामा उत्कृष्ट ब्याटिङ प्रदर्शनलाई फाइनलसम्म निरन्तरता दिँदै नेपालले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा नेदरल्यान्ड्समाथि १ सय ४२ रनको विशाल अन्तरको जित निकाल्यो। सन् २०१० पछि पहिलोपटक घरेलु भूमिमा उपाधि उचाल्नु आफैंमा गौरवको विषय बन्यो। ट्वान्टी–२० अन्तर्राष्ट्रियको पहिलोपल्ट फाइनल जितेको नेपालले सन् २०१० मा आइसिसी विश्व क्रिकेट लिग डिभिजन–५ को फाइनलमा घरेलु भूमिमा पहिलो उपाधि सुरक्षित राखेको थियो। अहिले डेभ ह्वाटमोरको प्रशिक्षणमा नेपालले यसै फरम्याटमा आफ्ना लागि सबैभन्दा ठूलो योगफल (२ सय ३८ रन ) खडा गर्दा ट्वान्टी–२० को अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकै छैटाैं ठूलो अन्तरको (१ सय ४२ रन) जित हात पारेको छ। त्यसैले यस शृंखला पनि नेपाल र नेपालीका लागि गौरवको विषय बन्यो।  

गत १३औं सागमा भुटानविरुद्ध १ सय ४१ रनको जित निकाल्दा नेपालले २ सय ३६ रनको योगफल खडा गरेको थियो। तर त्यो देशको रेकर्डलाई अहिले नेपाली टोलीले त्रिकोणात्मक शृंखलामा ब्रेक लगाइदिए। नेपालले उत्कृष्ट ब्यटिङ गर्दा डच टोलीले भने सन् २०१८ मा स्कटल्यान्डसँग १ सय १५ रनले स्तब्ध भएयता सबैभन्दा ठूलो हार सामना गर्नुपर्‍यो। कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरीलगायत खेलाडीले उत्कृष्ट खेल खेलेकै परिणाम नेपाली टोलीले यो सफलता पाएको हो भन्दा अन्यथा नहोला। शृंखलामा सबैभन्दा खुसीको विषय नेपालको ब्याटिङ प्रदर्शन रह्यो। यसअघि हरेक प्रतियोगितामा नेपालको हारमा ब्याटिङ मुख्य कारक बन्ने गथ्र्याे जुन यस शृंखलामा नेपालले भोग्नुपरेन। यस नतिजाको पछाडि पहिलोपटक नेपाली टोलीको प्रशिक्षण समालेका डेभ ह्वाटमोरको भूमिकालाई पनि सराहनीय मान्नैपर्छ। 

सन् १९९६ मा श्रीलंकाले अपत्यारिलो रूपमा पहिलोपटक विश्वकप उपाधि उचाल्दा उनै ह्वाटमोरको रणनीति सफल भएको थियो। त्यसपछि बंगलादेश, पाकिस्तान र जिम्बाब्वेलगायत प्रशिक्षण सम्हालिसकेका ह्वाटमोरले एसोसिएट राष्ट्रमा बलियो रूपमा उदाएको नेपालको नेतृत्व लिँदा धेरैले उनीबाट आशा राखेका थिए, जुन उनले कोरोना महामारीबीच कीर्तिपुरमा सम्पन्न शृंखलामा पूरा गरिदिए। नेपाली क्रिकेटले एक दशकमा धेरै फड्को मारे पनि उतारचढाव भने आइरहेको छ। त्यसलाई सुधारका निम्ति ह्वाटमोर नायक बन्न सक्नेछन्।

युवा ब्याट्सम्यानमार्फत आधुनिक क्रिकेटको आक्रामक शैली नेपाली टोलीमा भित्रने संकेत देखिएको छ। यद्यपि सबैभन्दा ठूलो प्रश्न, के नेपालले यो उच्च मनोबलको ब्याटिङ प्रदर्शनलाई निरन्तरता दिन सक्छ त ?

पूर्वकप्तान एवं महत्वपूर्ण खेलाडी पारस खड्काबिना नै प्रतियोगिता खेलेको थियो। प्रतियोगिता सुरु हुनुभन्दा एक दिनअगाडि मात्र चोटका कारण उनी बाहिरिँदा घरेलु टोलीमाथि ठूलो दबाब परेको थियो। प्रायः नेपालको खराब ब्याटिङ हुँदा दरिलो भरोसा बन्दै आएका पारसको अनुपस्थितिले घरेलु टोलीमाथि दबाब पर्नु स्वाभाविक नै थियो। यद्यपि, प्रशिक्षक ह्वाटमोरले शृंखलाको पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध चुनौती मोल्दै डेब्यु गरेका कुशल र आसिफ सेखलाई ओपनिङ साझेदारीमा पठाए। यो जोडी प्रशिक्षकको भरोसाप्रति खरो उत्रिए। पहिलो खेलमै शतकीय साझेदारी गरेका कुशल र आसिफको जोडीले नेपाली क्रिकेटमा नयाँ आशाको किरण पनि जगाए। उनीहरूले दोस्रोपटक शतकीय साझेदारी गर्दा नेपाली क्रिकेटको परम्परागत समस्या खराब ब्याटिङमा सुधार ल्याइदिए। कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी र कुशल मल्लको ब्याटिङ पनि निकै प्रसंशनीय रह्यो।  

क्रिकेट टोलीको यो सफलतासँगै केही प्रश्न पनि उब्जिएका छन्। के अब यस शृंखलाबाट नेपाली क्रिकेटमा पुस्ता परिवर्तन हुने सम्भावना देखिएको हो ? नेपाली क्रिकेटले डिभिजन पाँचदेखि विश्वकप छनोटको यात्रासम्म तय गर्दा पछिल्ला एक दशकभन्दा बढी समय योगदान पुर्‍याएका दिग्गज खेलाडीहरू एकपछि अर्को गरी विश्राम लिने क्रम छ। त्यसैले पछिल्ला केही प्रतियोगितामा सिनियर खेलाडीहरू कमै देखिने गरेका छन्। सम्पन्न शृंखलाको नेपाली टोलीमा पनि कप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीबाहेक धेरैजसो युवा क्रिकेटरको बाहुल्य थियो।

यिनै युवा ब्याट्सम्यानमार्फत आधुनिक क्रिकेटको आक्रामक शैली नेपाली टोलीमा भित्रने संकेत देखिएको छ। यद्यपि सबैभन्दा ठूलो प्रश्न के नेपालले यो उच्च मनोबलको ब्याटिङ प्रदर्शनलाई निरन्तरता दिन सक्छ त ? सोमबारदेखि नेपाली खेलाडी राष्ट्रिय जिम्मेवारीबाट घर फर्किनेछन्। कोरोना भाइरस महामारीका कारण केही समय सिनियर टोली क्रिकेटबाट अलग्गिने हुँदा उनीहरूको यस किसिमका प्रदर्शनमा पनि असर पर्ने चिन्ता बढेको छ।  

आगामी जेठमा अफ्रिकी टोली नामिबिया र तान्जिनियासँग तय शृंखला पनि बढ्दो महामारीका कारण हुनेमा द्विविधा नै छ। त्यसो भए तत्कालै कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछैनन्। जसका कारण खेलाडीको यो उच्च मनोबल र उत्कृष्ट ब्याटिङमा ह्रास आउन सक्ने चिन्ता बढ्नु स्वाभाविकै रहन्छ। त्यसैले नेपाली क्रिकेटको प्रशासकीय निकाय नेपाल क्रिकेट संघ (क्यान) ले पनि यसतर्फ समयमा नै ध्यान दिन जरुरी छ। महामारी फैलिएका समयमा पनि विश्वका विभिन्न देशले सञ्चालन गरेका सुरक्षित खेल गतिविधिलाई पनि क्यानले ध्यान दिनैपर्छ। क्यानले स्वास्थ्य सुरक्षामा मापदण्ड अपनाएर खेलाडीलाई क्रिकेटमै इन्गेज गराउनेतर्फ पनि तयारी गर्नुपर्ने देखिन्छ। 

प्रकाशित: १३ वैशाख २०७८ ०३:२३ सोमबार

Download Nagarik App
Download Nagarik App