१६ चैत्र २०८० शुक्रबार
सम्पादकीय

स्वास्थ्य नै सम्पत्ति

कोरोना विषाणुको प्रभावबाट थिल्थिलो भएको अर्थतन्त्र केही जागृत होला कि भन्ने बेलामा फेरि यसको अर्को चरण सुरु भएर सबैलाई चिन्तित तुल्याएको छ। एकातिर अर्थतन्त्रलाई जीवन्त तुल्याउनु छ अर्कोतिर यो विषाणु प्रभावबाट मुलुकलाई जोगाएर पुनः सामान्य स्थितिमा फर्कनुपर्ने चुनौती छ। स्थितिलाई सामान्य बनाउने जिम्मेवारी हामी प्रत्येक व्यक्तिमा छ। निश्चय पनि प्रत्येक व्यक्तिको जीविकाको सवाल छ। त्यसका निम्ति सबैले दैनिक कार्य गर्नैपर्ने हुन्छ। धेरै बचत भएर बसीबसी खाने अवस्थामा समाजको साह्रै सानो वर्ग मात्र हुन्छ। अन्यले दैनिक रोजीरोटीका निम्ति क्रियाशील हुनैपर्छ। कोरोना महामारीबाट आफू र अर्थतन्त्र दुवैलाई कसरी जोगाउने भन्ने जिम्मेवारी वोध सरकारदेखि सर्वसाधारणसम्ममा हुनु अहिलेको पहिलो सर्त हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७८ का अवसरमा वैशाख १ गते देशबासीका नाममा संबोधन गर्दै तत्काल बन्दाबन्दी नगर्ने दृढता व्यक्त गरेर आश्वस्त तुल्याउन खोजेका छन्। यो कठोर बाटोतर्फ हिँड्नु नपरोस् भन्ने चाहना सबैको छ। त्यही चाहना प्रधानमन्त्रीको पनि हुनु स्वागतयोग्य छ। त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले पटक–पटक स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरिरहेका छन्। स्वास्थ्य मापदण्ड अपनाउने हो भने थप कडाइका साथ बन्दाबन्दी गर्नुपर्ने अवस्था आउने छैन। तर अहिले हेल्चेक्र्याइँ गरियो भने स्वाभाविकरूपमा त्यसले कठिन अवस्थातर्फ उन्मुख गराउनेछ।  

छिमेकी भारतमा यतिबेला साताव्यापी बन्दाबन्दी सुरु भइसकेको छ। भारतका महाराष्ट्र, दिल्लीलगायत राज्यमा कारोना महामारीले पारेको खराब असरबाट हामी सबै भुक्तभोगी छौँ। भारतमा जतिजति यसको प्रभाव खराब हुँदै जान्छ, त्यसले हामीलाई प्रत्यक्ष तथा परोक्षरूपमा असर पार्छ। भौगोलिक सीमा जोडिएको र दुई देशका नागरिक एकअर्का मुलुकमा निर्वाध जान सक्ने अवस्था भएका कारण संक्रमणको प्रसार पनि उत्तिकै गतिमा हुन्छ। हामी एकअर्काबाट अलग भएर बस्न सक्दैनौँ तर सावधानी अपनाउन सक्छौँ। भारतमा कोरोना महामारीले खराब असर देखाउन थालेपछि हामीले यहाँको अवस्था त्यस्तै नहोस् भनी बेलैमा ध्यान दिनुपर्ने हो। नेपालगन्ज, वीरगन्जलगायतका मुलुकमा सीमा जोडिएका सहरी क्षेत्रमा यसको दुष्परिणाम देखापर्न थालिसकेको छ। यो स्थितिबाट पाठ सिक्दै आगामी दिनका सावधानीतर्फ ध्यान दिनु अहिलेको बुद्धिमत्तापूर्ण कार्य हुनेछ।  

स्वास्थ्य सावधानीले हाम्रो जीवन मात्र होइन, अर्थतन्त्रलाई समेत जोगाउँछ। अहिले आफूलाई मात्र होइन, परिवार, समाज र देशको स्वास्थ्य र अर्थतन्त्रलाई ध्यानमा राखेर काम गर्नुपर्ने आवश्यकता छ। हामीमध्ये केहीले खोप लगाएका छौँ तर अझै ठूलो जनसंख्या खोपबाट विमुख छ। खोप लगाइसकेका व्यक्तिले पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने छँदैछ। खोप नलगाएको जनसंख्यालाई पनि हामीले फेरि प्रेरित गर्नुपर्ने अवस्था देखिन्छ।  

कोरोना भनेको केही होइन भन्दै यसका बारेमा लापरबाही गराउन सक्ने सामग्रीको बजारमा उत्तिकै उपस्थिति देखिन्छ। सूचना र सामग्रीमा सबैको पहुँच भएका कारण यस्ता गलत मनसायका सूचना पनि उत्तिकै प्रसार भइरहेका हुन्छन्। त्यही भएर गलत सूचना अर्थात् ‘इन्फोमेडिक’ बाट समेत समुदायलाई जोगाउनु अहिलेको महत्वपूर्ण कार्यभार हो। कोरोना संक्रमणले लगातार हाम्रो गाँस, बास, कपास र जीवन खोसिरहेको छ। विकास निर्माणका निम्ति खर्च गर्नुपर्ने हाम्रो जस्तो मुलुकले भएभरको स्रोतसाधन यसैमा लगाउनुपर्ने अवस्था छ। हामीले यसमा थोरै पनि सावधानी अपनाउन सक्यौँ भने मुलुकको अर्थतन्त्रका निम्ति ठूलो योगदान पुग्न सक्छ। अतः कोरोना विषाणुसँगको अहिलेको संघर्ष हाम्रो बहुआयामिक समस्यासमेत हो। यो स्वास्थ्यसँग मात्र सम्बन्धित छैन। यसले सामाजिक–आर्थिक सम्बन्धमै प्रभाव पारेको छ। यसले हाम्रो कार्यशैली र जीवनमै नयाँ ढंगले काम गर्नुपर्ने अवस्था ल्याइदिएको छ।  

कोरोना भनेको केही होइन भन्दै यसका बारेमा लापरबाही गराउन सक्ने सामग्रीको बजारमा उत्तिकै उपस्थिति देखिन्छ। सूचना र सामग्रीमा सबैको पहुँच भएका कारण यस्ता गलत मनसायका सूचना पनि उत्तिकै प्रसार भइरहेका हुन्छन्। त्यही भएर गलत सूचना अर्थात् ‘इन्फोमेडिक’ बाट समेत समुदायलाई जोगाउनु अहिलेको महत्वपूर्ण कार्यभार हो। 

कोरोना विषाणु महामारीबाट हाम्रो पारिवारिक र देशको आर्थिक स्थितिलाई थप डाँवाडोल हुन नदिन अहिलेदेखि नै सावधानी आवश्यक हुन्छ। बीचमा यसको प्रभाव कम हुन थाल्ने बित्तिकै हामीले आफूलाई सामान्य अवस्थामा फर्काएका पनि हौँ। त्यो बेलामा मास्क नलगाउने, साबुन पानीले हात नधुने र भीडभाड गर्ने हाम्रो प्रवृत्ति फेरि देखिएको हो। यो विषाणुले आफ्नो स्वरूप निरन्तर परिवर्तन गर्दै आएको हुनाले कुनै पनि बेला खराब अवस्था आउन सक्छ भनेर आफूलाई चनाखो राख्नु बुद्धिमानी हुन्छ। स्वास्थ्य क्षेत्रमा पहिलेदेखि नै चल्दै आएको एउटा भनाइ लोकप्रिय छ– रोग लाग्नुभन्दा रोग लाग्न नदिनु बुद्धिमानी हो। रोग लाग्न पाएन भने हाम्रो शरीर र सम्पत्ति दुवै क्षय हुनबाट जोगिन्छ। आखिर राम्रो स्वास्थ्य हुनु भनेको पनि त सम्पत्ति रहेछ। अहिले आएर हामी सबैले बुझेका छौँ।  

सरकारले पछिल्लोपटक भिडभाड हुने पार्टी प्यालेस, क्लब आदिमा रोक लगाएको छ। २५ जना भन्दा बढी भेला नहुन भनेको छ। सरकार आफूले यो भनिरहेको छ तर उसैका कार्यक्रममा यस्तो भिड देखेपछि सर्वसाधारण पनि त्यसै गर्न प्रेरित हुने खतरा हुन्छ। जिम्मेवार व्यक्तिहरूले समेत स्वास्थ्य मापदण्ड पालना गरेनन् भने पनि हरेक व्यक्ति आफैँले जिम्मेवारी वोध गरेर यसको पालना गर्नु उचित हुन्छ। यसो गरेर हामीले परोक्षरूपमा अर्थतन्त्रलाई योगदान गरिहेका हुन्छौँ।  

नेपालगन्जमा बन्दाबन्दी भइसकेको छ। अन्यत्र पनि संक्रमण बढ्दै गएको खण्डमा यो स्थिति आउँदैन भन्ने छैन। त्यसैले अहिले अपनाइने स्वास्थ्य मापदण्डले यो कठिन बाटोतर्फ हामीलाई लैजाने छैन। अन्यथा हामीले फेरि कठोर बाटोमा जानुपर्ने हुन्छ। गत वर्ष गरिएका लगातारका बन्दाबन्दीले हामीलाई निकै कठिन अवस्थामा पु¥याएको हो। त्यो बेला अनाहकमै त्यतिका धेरै बन्द गरिएछ भन्ने पनि हामीलाई लागेको छ। तर त्यो बेला यो विषाणुबारे धेरै जानकारी नभएको र नयाँ ढंगले परिस्थिति अघि बढेको हो। यसबीच हामी सबैले विषाणु संक्रमणको तरिका बुझेका छौँ। स्वास्थ्य मापदण्डले कसरी यसलाई नियन्त्रण गर्छ भन्ने पनि थाहा पाएका छौँ। यो पक्षलाई मात्र ध्यान दिने हो भने हाम्रो जीवन र अर्थतन्त्र दुवै जोगिनेछ। बन्दाबन्दी नगरी हामीले यसलाई नियन्त्रण गर्न सक्नेछौँ। त्यसमा हरेक व्यक्तिले जिम्मेवार बन्नैपर्छ। 

प्रकाशित: ८ वैशाख २०७८ ०२:३५ बुधबार

Download Nagarik App
Download Nagarik App