१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
सम्पादकीय

प्रदूषणको प्रभाव

काठमाडौँ उपत्यकामा अहिले वायु प्रदूषणको मात्रा ह्वात्तै बढेको छ, त्यसले जनस्वास्थ्यमा गम्भीर असर गर्ने भएको छ । पछिल्ला दिनमा विशेषगरी सोमबार र मंगलबार काठमाडौँ उपत्यकामा प्रदूषणको मात्रा निकै बढ्यो जुन आफैँमा जनस्वास्थ्यका हिसाबले चिन्ताको विषय हो । यतिसम्म कि सोमबार काठमाडौँ उपत्यकाको वायु गुणस्तर एअर क्वालिटी इन्डेक्स अघिल्लो दिनको तुलनामा दोब्बरभन्दा बढी बिग्रिएको पाइएको छ । वातावरण विभागले दिएको जानकारीअनुसार आइतबार १७३ एअर क्वालिटी इन्डेक्स भएको काठमाडौँस्थित भैँसेपाटीमा २४ घण्टा नपुग्दै ४०३ पुग्यो । त्यसो त काठमाडौँले प्रदूषणको मामिलामा विश्वका अन्य प्रदूषित सहरहरूलाई समेत उछिन्दै १ नम्बरमै आइपुगेको छ । एक्युएअरले काठमाडौँको एअर क्वालिटी इन्डेक्स (एक्युआइ) ४८७ सम्म मापन गरेको छ जबकि त्यहीबेला दोस्रो स्थानमा रहेको किर्गिस्तानको बिस्केकमा २९६ र तेस्रो स्थानमा रहेको भियतनामको हनोइमा २४१ पुगेको थियो । यस हिसाबले काठमाडौँ संसारको प्रदूषित सहरमध्ये पहिलो नम्बरमा मात्रै पुगेको छैन कि दोस्रो र तेस्रो प्रदूषित सहरको तुलनामा झण्डै दोब्बर बढी हाराहारीमा प्रदूषणको मात्रा पुगेको छ । यसले पनि विश्वका अन्य स्थानको तुलनामा काठमाडौँको वायु प्रदूषणको अवस्था भयाबह देखिन्छ । 

काठमाडौँ संसारको प्रदूषित सहरमध्ये पहिलो नम्बरमा मात्रै पुगेको छैन कि दोस्रो र तेस्रो प्रदूषित सहरको तुलनामा झण्डै दोब्बर बढी हाराहारीमा प्रदूषणको मात्रा पुगेको छ । यसले पनि विश्वका अन्य स्थानको तुलनामा काठमाडौँको वायु प्रदूषणको भयाबह अवस्था देखिन्छ ।  

वायु प्रदूषणको यही भयाबह अवस्थालाई ध्यानमा राख्दै वातावरण विभागले विज्ञप्ति जारी गरेरै घरबाहिर निस्किँदा विशेष सावधानी अपनाउन र बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास एवं मुटुसम्बन्धी रोगका बिरामीलाई सकेसम्म घरबाहिर ननिस्कन आग्रह गरेको हो । विशेषगरी उपत्यकामा बिहान र बेलुकीको समयमा प्रदूषण अत्यधिक भएकाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ नै साथै फोहोर र आगो बाल्दा प्रदूषण झनै बढ्ने भएकाले त्यसो नगर्न पनि सुझाएको छ । त्यसो त सरकारले गत वर्ष पारित गरेको काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजनामा वायु प्रदूषणको तह ३०० एक्युआइ नाघेपछि आपत्काल घोषणा गर्ने प्रावधान छ । तर अहिले सरकारी कार्ययोजनामा उल्लेख भएभन्दा एक्युआइ १०० बढी हुँदा पनि सरकारले खासै चासो दिएको छैन । यसरी सरकारले अहिले उपत्यकाको वायु प्रदूषणका विषयमा अनदेखा गर्नु अचम्मलाग्दो पक्ष हो ।  

त्यसो त अन्य मुलुकमा पनि वायु प्रदूषणको मात्रा बढेको अवस्थामा जनस्वास्थ्य संकटकाल घोषणा गर्ने प्रचलन छ । गत वर्ष मात्रै भारतको दिल्लीमा अत्यधिक वायु प्रदूषण भएपछि दिल्ली सरकारले जनस्वास्थ्य संकटकाल घोषणा गर्नुका साथै त्यसको असर न्यूनीकरणका कार्यक्रमहरू ल्याएको थियो । सर्वसाधारणलाई मास्क वितरणदेखि अन्य सचेतनामूलक कार्यक्रमहरू नै सञ्चालन गरेको थियो । अन्य मुलुकमा पनि यसरी वायु प्रदूषणको मात्रा बढ्दा जनस्वास्थ्य संकटकाल घोषणा गर्ने र प्रदूषण एवं त्यसका असरहरूबाट जोगिन कार्यक्रमहरू सञ्चालन गर्ने गरिन्छ । तर नेपालमा भने वायु प्रदूषण यसरी अत्यधिक हुँदा पनि सरकारले सर्वसाधारणका लागि जे/जस्तो अपिल जारी गर्नेदेखि अन्य सक्रियता  देखाउनुपर्ने हो, त्यो पटक्कै देखिएको छैन । त्यसमाथि अहिले कोरोना भाइरस महामारीका कारण यसै पनि जनस्वास्थ्यमा संकट देखिएको छ । अझ वायु प्रदूषणले कोभिड–१९ का संक्रमितलाई धेरै नै हानि पुर्‍याउने विज्ञले औल्याउँदै आएका हुन् ।  

जे होस्, काठमाडौँमा वायु प्रदूषणका हिसाबले खतराको घण्टी बजिसकेको छ । यसले जनस्वास्थ्यमा एक किसिमको संकट नै ल्याएको छ । कचौरा आकारको काठमाडौँमा चिसो बढेसँगै प्रदूषण तलतिर जमेर बस्ने गर्छ भने मौसममा परिवर्तनसँगै केही हटेर जाने गरेको हो । एकातिर मौसमका कारण पनि यो समयमा प्रदूषण बढेको हो भने अर्काेतिर सरकारको प्रष्ट दृष्टिकोणको अभावले पनि यो समस्या भोग्नुपरेको हो । काठमाडौँको प्रदूषण औद्योगिक कलकारखाना भन्दा पनि सवारी साधनले फाल्ने धुँवा र भौतिक पूर्वाधारहरू निर्माणका क्रममा उत्पन्न हुने धुलोका कारण भएको हो । सरकारले एकातिर प्रदूषण नियन्त्रणका लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउने अजेन्डा अघि सार्छ भने अर्काेतिर विद्युतीय सवारीमा करको मात्रा थोपरेर हतोत्साही बनाउने नीति लिने गर्छ । सरकारको भनाइ र गराइबीच तादात्म्य छैन नै, ठूलै विरोधाभाष देखिएको छ जसले गर्दा पनि वायु प्रदूषण घट्नुको सट्टा बढ्ने गरेको हो । त्यसो त प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री भएलगत्तै काठमाडौँलाई स्वच्छ पार्ने घोषणा गरेकै हुन् । तर काठमाडौँको हालतचाहिँ उनले घोषणा गरेको बेला भन्दा पनि गए/गुज्रेको अवस्थामा पुगेको छ ।  

त्यस्तै पानी पर्दा हिलेमाडौँ र घाम लाग्दा धुलेमाडौँ हुने गरेको त विगत केही वर्षयता देख्दै र भोग्दै आएको विषय हो । चाहे काठमाडौँभित्रका मुख्य सडक हुन् वा भित्री सडक, वर्षौंसम्म पिच नहुने समस्या देख्दै आएको हो । पछिल्लो समय केही स्थानका सडक निर्माणमा प्रगति भए पनि उपत्यकाका भित्री सडकहरूको अवस्था अहिले पनि लथालिंग छ । यो पनि प्रदूषणको मात्रा बढाउने एउटा कारण भएको छ । त्यति मात्र होइन, सडक विभागले पिच गरिहाले पनि केही महिना नबित्दै कहिले खानेपानीको पाइप बिच्छयाउन, कहिले ढल राख्न त कहिले विद्युत् र कहिले टेलिफोन लाइन यस्तै यस्तै बहानामा उपत्यकाको सडक सग्लो हुने गरेको छैन । फेरि खनिसकेपछि त्यो स्थानमा पिच गराउन समुदायले जुलुस नै निकाल्नुपर्ने अवस्था पनि देखिएकै हो । यता काठमाडौँ नगरपालिकाले चाहिँ धेरैपटक काठमाडौँलाई धुलो र हिलोमुक्त बनाउने घोषणा गर्दै आएको छ । तर महानगरपालिकाको घोषणा व्यवहारमा होइन, घोषणामै सीमित हुने गरेको छ । अहिले उपत्यकाको वायु प्रदूषण उच्च भएको अवस्थामा काठमाडौँ महानगरपालिकाले फेरि एकपटक काठमाडौँलाई हिलो र धुलोमुक्त बनाउने अभियानको घोषणा गर्दै मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न भएसँगै त्यो अभियानले सार्थकता पाउने जनाएको छ । यसरी महानगरपालिकाले पनि सधैँ घोषणा गर्ने मात्र होइन, आफ्नो प्रतिबद्धता कार्यान्वयनका लागि त्यसैअनुसार कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने हो । सहरलाई सफा, स्वच्छ र हरियाली बनाउने दायित्व स्थानीय सरकारको पनि हो जसप्रति काठमाडौँ महानगरपालिकाको ध्यान जाओस् ।

प्रकाशित: २३ पुस २०७७ ०५:२८ बिहीबार

Download Nagarik App
Download Nagarik App