१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
सम्पादकीय

सेयरमा सफलता

राजनीतिक अस्थिरता भएको मुलुकमा लगानीको वातावरण बन्दैन । अस्थिरतामा न विदेशीहरू लगानी गर्न आउँछन् न त स्वदेशी लगानीकर्ताको मनोबल नै बढछ । अस्थिरताभर लगानीकर्ताको सोच ‘पर्ख र हेर’ को अवस्थामा हुन्छ । लगानी गर्नु जोखिम हो तर अस्थिरतामै लगानी गरेर थप जोखिम मोल्न कोही तयार हुँदैन । गएको पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपालमा राजनीतिक अस्थिरता सुरु भएको छ । प्रतिनिधिसभा विघटनको मुद्दा अहिले अदालतमा छ । अदालतको फैसला पर्खिरहेको यो समय अन्योलको छ ।  सत्ताधारी पार्टी नेकपा विभाजित भइसकेको छ । त्यसले कानुनी मान्यता नपाउँदा थप अन्योल छ । निर्वाचन आयोगले नेकपाका दुई समूहमध्ये कसको पक्षमा निर्णय दिन्छ भन्ने पनि एकिन भइसकेको छैन । यस्तोमा सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई सदर गरे पनि वैशाखमै निर्वाचन हुन्छ र मुलुक स्थिरतातर्फ जान्छ भन्ने निक्र्योल गर्न कठिन छ । अर्थतन्त्रमा कोरोना महामारीको दुष्चक्र एक वर्षदेखि जारी छ । समग्रमा मुलुकका आगामी दिन त्यति सहज दैखिँदैन । यिनै कारण विदेशी र स्वदेशी लगानीको वातावरण बन्ने देखिँदैन । राजनीतिक अस्थिरताका कारण लामो समय लगानीको वातावरण नबन्नु भनेको अर्थतन्त्र थप चलायमान नहुनु हो । अस्थिरताले लगानीको वातावरण मात्र बिगार्दैन, सञ्चालनमा भएका कम्पनीहरूको अवस्था पनि राम्रो हुन सक्दैन । तर कोरोना महामारी र अस्थिरताका बेला पनि नेपालको पुँजी बजार उकालो चढिरहेको छ । अस्थिरताकै बीच दैनिकजसो पुँजी बजारको मापक नेप्से परिसूचकले बढोत्तरीको रेकर्ड बनाइरहेको छ । सिद्धान्ततः लगानीको वातावरण बनेको र अर्थतन्त्र राम्रो भएको बेलामा मात्र सेयर बजार उकोलो लाग्छ । तर सेयर बजारमा आएको सुधार र मुलुकको अर्थतन्त्रको पाटोबीच अर्थतन्त्रका सिद्धान्तको तालमेल देखिएको छैन । त्यसै पनि एक वर्षदेखिको कोभिड–१९ महामारीले विश्वकै अर्थतन्त्र नाजुक अवस्थामा छ । नेपालमा पनि यो वर्ष अर्थतन्त्रको आकार एक प्रतिशतले पनि बढ्न नसक्ने प्रक्षेपण भइरहेका छन् । यस्तोमा एकाध कम्पनीबाहेक अरूले लगानीकर्तालाई लाभांश दिने अवस्था रहँदैन । तैपनि अधिकांश कम्पनीको सेयर मूल्य बढिरहेको छ ।

गत आइतबार फेरि पुँजी बजारमा नेप्सेले ऐतिहासिक रेकर्ड बनाएको छ । त्यस दिन ८८.१२ अंकले बढेको नेप्से २१७५.३९ विन्दुमा पुगेको थियो । मंगलबारसम्म आउँदा परिसूचक २१६५ मा झरेको छ । दैनिक हुने सेयर खरिद बिक्रीले सूचक घटबढ हुनु पुँजी बजारको चरित्र हो । तर महामारी, अस्थिरता र लगानीको वातावरण नबनेका बेला पनि परिसूचक दैनिकजसो बढ्नु भनेको सैद्धान्तिकरूपमा मेल खाने विषय होइन । सेयर कारोबार बढेको मात्र होइन, रकम पनि औषतमा चार पाँच अर्बको कारोबार भइरहेको छ । पछिल्लो समय दैनिकजसो उच्च रेकर्डलाई तोड्दै भइरहेको नेप्से वृद्धि कहिलेसम्म जारी रहला भन्ने अहिले सर्वत्र चासो बढेको छ ।

लगानीकर्ताहरू मुलुकमा राजनीतिक अस्थिरता भए पनि अहिले सेयर बढ्नुमा मुख्यरूपमा दुई तीनवटा कारण मान्छन् । अहिले बैंकहरूमा निक्षेप पर्याप्त भएकाले सेयर धितोमा दिइने कर्जा सस्तो र सहज बनाइएको छ । औषतमा सेयर धितोमा दिने कर्जाको ब्याज एकल अंकमा झरेको छ । यसले लगानीकर्तामा आत्मविश्वास बढाएको छ । सस्तो ब्याजको तुलनामा बजारमा खेलेर एक वर्षमा जसरी पनि नाफा लिन सकिने मनोबल लगानीकर्तामा छ । अर्कोतिर अनलाइन कारोबारका कारण पनि सेयर खरिद बिक्रीमा सजिलो बनाएको छ । ब्रोकरमा धाउन नपर्ने र चाहेका बेला घरमै बसेर किनबेच गर्न सकिने भएपछि सेयरमा लगानी गर्ने थपिएका छन् । अर्थतन्त्रमा देखिएका समस्याले अहिले लगानी गर्ने अन्य ठाउँ पनि छैनन् । सुनको मूल्य उच्च भइसकेको छ । कोभिडले विश्वमा जताततै असर पारे पनि अमेरिका, भारतलगायत ठूला सेयर कारोबार हुने मुलुकमा सेयरको मूल्य बढिरहेको छ । यसले पनि कोभिडलाई कारण देखाएर लगानीकर्ता हतोत्साही नबनेको अवस्था छ ।

सेयर बजार सधैँ बढिरहने होइन । त्यसैले लगानी गर्ने कम्पनीको आर्थिक स्थितिका बारेमा राम्रोसँग बुझेर र चनाखो हुनुपर्छ । चार पाँच महिना अवधिमा नेप्से परिसूचक पाँच सय अंकले बढ्दा पनि त्यसअनुसार सेयर मूल्य नबढ्ने कम्पनी पर्याप्त छन् । अहिलेको सेयर उतारचढावमा केही कम्पनीको मूल्य पाँच प्रतिशत पनि बढ्न सकेको छैन । अर्कोतिर केहीको तीन सय प्रतिशत भन्दा बढी मूल्य बढाइएको छ । केहीको मूल्य अस्वाभाविक बढाउने र घटाउने चलखेल पनि भएका छन् । त्यसैले नेप्से परिसूचकले नयाँ रेकर्ड कायम गर्‍यो भन्दैमा जुन पायो त्यही कम्पनीको सेयर खरिद गर्दा पछुताउनुपर्ने अवस्था आउँछ । सरकारले जे/जस्ता कडा नियम ल्याए पनि बजारमा मिलेमतो गरी सेयरको मूल्य बढाउने गरिन्छ । अहिले लगानीकर्ताहरूको मिलेमतोमा केही सञ्चारमाध्यम प्रयोग भएकासमेत सुन्नमा आएको छ । केही अनलाइन मिडियाले यसको दुरुपयोग गरेको भन्ने आरोप पनि छ । त्यही कारण सरकारी निकाय धितोपत्र बोर्ड र अर्थशास्त्रीहरूले लगानी गर्दा सचेत हुन आग्रह गर्दै आएका छन् । त्यसै पनि केही महिनाकै अन्तरालमा चार पाँच सय अंकले बढेको नेप्सेको वृद्धि अब रोकिन सक्छ । अहिलेको राजनीतिक अस्थिरताले पार पाएर मुलुकमा लगानीको वातावरण बन्ने र पूर्वाधार निर्माणमा गति लिने हो भने आगामी दिनमा पनि सेयरमा लगानी गर्ने मौका मिल्नेछ । त्यसैले जोखिम मोलेर जस्तो पायो त्यस्तै कम्पनीमा लगानी गर्ने हतारो नगरौँ । बुझेर र सचेत भइ गरेको लगानीले अवश्य नै प्रतिफल दिनेछ ।

प्रकाशित: २२ पुस २०७७ ०४:१६ बुधबार

Download Nagarik App
Download Nagarik App