९ महिनाअघि सुरु भएको कोरोना भाइरस महामारीले विश्वमा १० लाख मानिसको अकालमा ज्यान लिइसकेको छ। नेपालमा पनि मृत्यु हुनेको संख्या ५ सय नाघेको छ। यो क्रम जारी छ। पछिल्ला दिनमा राजधानी काठमाडौँमा संक्रमण बेरोकटोक अगाडि बढेको छ। दिनहुँ १ हजार भन्दा बढीको संख्यामा संक्रमित थपिएका छन् तर यसलाई नियन्त्रण गर्न सरकारको सक्रियता होइन, सरकार चिरनिन्द्रामा देखिएको छ।
प्रधानमन्त्रीका सल्लाहकार तप्का र बालुवाटारका सुरक्षाकर्मीको घेरालाई भाइरसले तोडिसकेको छ। प्रधानमन्त्री निवासमै यसरी संक्रमण देखिनु सुखद होइन। यसले भाइरस नियन्त्रणका हाम्रा प्रयास कतिसम्म सतही रहेछन र कति वास्तविक रहेछन् भनेर उदाङ्गो पारेको छ। कोरोनालाई बेसार–पानीले ठीक पार्ने प्रधानमन्त्रीले केही महिनाअघि संसद्मा व्यक्त गरेको भनाइलाई यो संक्रमणले चुनौती दिएको छ। देशको समग्र राज्यसत्ता कोरोना नियन्त्रण र उपचारमा लाग्दालाग्दै स्थिति किन यसरी बिग्रेको छ, समीक्षाको विषय बनेको छ। गत शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्प, उनका सल्लाहकारलगायत अन्य नेतालाई संक्रमण भएपछि भाइरसले कसैलाई पनि बाँकी नराख्ने देखिएको छ। चाहे त्यो अमेरिकी राष्ट्रपति हुन, चाहे ती ब्राजिलका राष्ट्रपति जयर बोल्सोनारो हुन् अथवा बेलायतका प्रधानमन्त्री। अमेरिकी राष्ट्रपतिले सुरुदेखि नै कोरोना भाइरसप्रति हलुका दृष्टिकोण राख्दै आएका थिए। मास्क प्रयोगलाई उनी हाँसोको विषय बताउँदै आएका थिए। अहिले तिनै राष्ट्रपति अस्पतालमा थला परेका छन्। यसरी उनले हेप्दै आएको भाइरसले उनलाई अस्पताल पु-याइदिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली पनि महामारीको सुरुताका भाइरससम्बन्धी व्यक्त गरेका अवैज्ञानिक र हलुका टिप्पणीले आलोचित बनेका थिए। उनले अहिले भाइरसका बारेमा कुनै प्रतिक्रिया दिन छाडेका छन्। तैपनि मुलुकको प्रमुख कार्यकारीले जानेका कुरा आमनागरिकसामु बाँड्नुपर्छ भन्ने उनलाई लाग्छ।
राजनीतिक नेतृत्वको असहिष्णु र गैरजिम्मेवार भनाइले महामारी नियन्त्रणका समग्र प्रयासलाई फरक पार्छ। कोरोना भाइरस जति राजनीतिक अथवा सामाजिक विषय बनेको छ त्यो भन्दा बढी यो वैज्ञानिक र जनस्वास्थ्यको विषय हो। सम्बद्ध वैज्ञानिक र विज्ञको राय तथा सुझाव सबैभन्दा सर्वाेपरि हुनुपर्छ। अमेरिकी राष्ट्रपतिले महामारीको गाम्भीर्यलाई कहिल्यै बुझेनन् अथवा बुझे पनि यसलाई बुझ पचाए। आफू र प्रथम महिलालाई संक्रमण हुनु केही दिनअघि महामारी नियन्त्रणको संघारमा पुगेको दाबी गरेका राष्ट्रपतिले वैज्ञानिक समुदायका भनाइ र सुझावलाई समयमै ध्यान दिएका भए अमेरिकामा त्यति धेरै मानिसको ज्यान जाने थिएन।
अमेरिकी राष्ट्रपतिको भाइरसप्रतिको अवैज्ञानिक रवैयालाई धेरै देशका प्रभावशाली नेताले दोहो-याएका छन्। हामीकहाँ पनि ‘प्रतिरक्षा क्षमता’ र ‘बेसार–पानी’ मा बढी विश्वास व्यक्त गरिएको हो। अहिले यो भाइरस कति खतरनाक छ भन्ने ज्ञान भएको हुनुपर्छ। यो ज्ञानको प्रयोग मौनतामा रहेर होइन, सुदृढ प्रतिकार्यबाट गर्न सकिन्छ। राजधानीका अस्पतालका शैया भरिँदै जाँदा र महामारी समुदायमा व्यापक विस्तार हुँदै जाँदा राज्यले अपनाउनुपर्ने बुद्धिमत्तापूर्ण रणनीति आवश्यक हुन्छ। आममानिसलाई आश्वस्त पार्ने किसिमको महामारी नियन्त्रण रणनीति नहुँदा सन्त्रास झन् बढ्नेछ। राजधानीमा भाइरसको यो विस्तार कहिलेसम्म हुने हो, कुन विन्दुमा पुगेर नियन्त्रण उन्मुख होला केही भन्न सकिन्न। चाडवाडको याम र नजिकिँदो हिउँदले स्थिति झन नियन्त्रणबाहिर जान सक्ने विज्ञको राय छ।
जनताको स्वास्थ्य सुरक्षाको सुनिश्चितता र विपद्का बेला राज्यको सर्वाेपरि भुमिका रहन्छ। स्थानीय वा प्रदेश वा संघीय सरकार सबैले आफूलाई यसनिम्ति तत्पर राख्नुपर्छ। यो महामारीको स्थितिमा संघीय र स्थानीय सरकारको भूमिका केही हदसम्म देखिए पनि प्रदेश सरकारहरू सम्पूर्णरूपमा अकर्मण्य देखिएका छन्। भारतको नयाँ दिल्लीस्थित अरविन्द केजरीवाल सरकारले जसरी आफ्नो भूमिका निर्वाह गरेको छ, त्यो हाम्रा प्रदेश सरकारका निम्ति पनि प्रेरक हुनुपर्छ। नेपालको जत्तिकै जनसंख्या भएको भारतीय राजधानी नयाँ दिल्लीले दैनिक ६० हजारको हाराहारीमा परीक्षण गरेको छ। नेपालले आफ्नो परीक्षणलाई बल्लतल्ल १०/१२ हजारको संख्यामा पु-याएको छ। समुदायमा संक्रमण भएपछि परीक्षण पनि समुदायमा व्यापक स्तरमा हुनुपर्ने हुन्छ। तर त्यसो हुन सकेको छैन ।
संक्रमितको परीक्षणपछि तिनको नजिक रहेकाको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरेर भाइरस प्रसारको शृंखला तोड्ने काम हुन सकेको छैन। यथास्थितिमा महामारी नियन्त्रणको प्रयास सफल नहुने देखिएको छ। विज्ञको राय/सुझाव, गणितीय आकलनलाई हेरेर राजधानीमा संक्रमण कति हदसम्म जान सक्छ त्यसको समीक्षा हुनुपर्छ। सरकारले बेलाबेलामा गरेका नीतिगत त्रुटिका कारण महामारी फैलँदो छ। सरकारले संक्रमितको सम्पर्कमा आएका तर लक्षण नदेखिएकालाई क्वारेन्टिन र पिसिआर आवश्यक छैन भनेको छ तर विनालक्षण भएकाले संक्रमणलाई विस्तार गर्ने काम गरेका छन्। महामारीको यो उत्कर्षमा प्रधानमन्त्री स्वयमले स्थितिको समीक्षा गरेर आवश्यक निर्देशन दिनुपर्ने देखिएको छ। अन्यथा कामचलाउ रवैया र ढिलो एवं अप्रभावकारी प्रतिकार्यले ठूलो मानवीय क्षति हुन सक्छ। सरकार प्रमुखको ध्यान समयमै यसमा जानुपर्छ। मानवीय क्षति धेरै भएमा भविष्यसम्म त्यसले हामीलाई दोषी ठहर गरिरहने छ।
महामारी नियन्त्रणको एकल रणनीतिले काम गर्दैन। परीक्षण महत्वपूर्ण छ। सँगसँगै ट्रेसिङ उत्तिकै जरुरी हुन्छ। लक्षण भएका र नभएका दुवैखाले संक्रमितले संक्रमण गरिरहेका हुन्छन्। सामाजिक दूरी कायम नगर्दा, मास्क नलगाउँदा र साबुन–पानीले हात नधुँदा संक्रमणको जोखिम उत्तिकै हुन्छ। यो विज्ञानसम्मत विषय पनि हो। त्यसैले यसलाई विशेषज्ञहरूको ज्ञान र सरकारको तत्परताबाट मात्र नियन्त्रण गर्न सकिन्छ। यसलाई सम्भव बनाएका सरकारहरू हाम्रै एसियामा समेत छन्। तिनको अनुभवलाई पनि हामीले ध्यानमा राख्नु उचित हुन्छ।
प्रकाशित: १९ आश्विन २०७७ ०४:४१ सोमबार