१५ वैशाख २०८१ शनिबार
image/svg+xml
सम्पादकीय

‘न्यु नर्मल’ को तयारी

कोरोना विषाणुविरुद्ध जुध्न राज्यले गरेको बन्दाबन्दी यतिबेला समाप्त भइसकेको छ। बन्दाबन्दी सकिए पनि यसको त्रास सकिएको छैन। जतिबेला काठमाडौँमा एक जना संक्रमित देखिएका थिए त्यतिबेला सिंगो मुलुक बन्दाबन्दीमा गएको थियो। यतिबेला मुलुकमा सक्रिय संक्रमित संख्या पाँच हजारभन्दा बढी छ। सक्रिय संक्रमित अझै यति भए पनि निको भइसकेकाको संख्या १४ हजार पुग्न लागेको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या पनि ४९ पुगिसकेको छ। हामीकहाँ मृत्यु हुनेभन्दा निको हुने संख्या उल्लेख्य हुनु उत्साहप्रद् पक्ष हो। तथापि दैनिक थपिइरहेका संक्रमित संख्याप्रति हामीले चिन्ता नगर्ने भन्ने होइन।  

कोरोना विषाणु संक्रमणको सुरुका दिनमा तुलनात्मकरूपमा सुरक्षित ठानिएको संघीय राजधानी काठमाडौँमा अहिले क्रमशः संक्रमित संख्या थपिइरहेको छ। गत चैत ११ पछि हामी कडा बन्दाबन्दीबीच बस्यौँ। बन्दाबन्दी सुरु भएको ८२ दिनसम्म सम्पूर्णरूपमा कडाइ गरिएको थियो। त्यसपछि आंशिकरूपमा यो खुला भयो। सुरु बन्दाबन्दीबाट १ सय २० दिनसम्म कायम बन्दाबन्दी यतिबेला खुला भएको छ। भोकबाट मर्ने कि कोरोनाबाट भन्नेजस्तो स्थिति सुरुमा रह्यो। केही दिनको बन्दाबन्दीबाट यो नियन्त्रण हुन सक्ने रहेछ भन्ने पनि थाहा भयो। तर, हामीले बन्दाबन्दीलाई अनन्तकालसम्म लैजान सक्ने स्थिति भएन। कोरोनाबाट भन्दा पनि भोकबाट मर्ने संख्या ठूलो हुने भयो। यो परिस्थिति सबै देशका सरकार र नागरिकले बुझ्दै आएका छन्। यसैलाई महसुस गरेर हाम्रो सरकारले पनि बन्दाबन्दी हटाउने निर्णय गरेको हो।  

अब हामीलाई कसैले पनि किन अनाहकमा बाहिर निस्कनुहुन्छ भनेर सोध्दैन। सुरक्षाकर्मीले सोधिहाले भने किन मास्क नलगाउनुभएको भन्न सक्लान्। वास्तवमा कोरोनाबाट जोगिने सम्पूर्ण दायित्व अब व्यक्तिमै आएको छ। राजधानी काठमाडौँमा संक्रमित संख्या मंगलबार एकैदिनमा ५३ जना पुगेको छ। यसले समूहमा यो संक्रमण बढ्न थालेको देखिएको छ। बिस्तारै यो समुदायको तहमा पनि पुग्नेछ। समुदायमा यसको फैलावट हुन नदिने दायित्व नागरिककै हो। त्यसका निम्ति सकेसम्म सुरक्षाका उपाय आफैँले अवलम्बन गर्नुपर्ने अवस्था आएको छ। अनाहकमा हिँड्ने बानी छ भने त्यसलाई छाड्नुपर्ने हुन्छ। अत्यावश्यक काममा निस्कँदा पनि आफूलाई मास्क र अन्य सुरक्षा उपायबाट सज्जित गर्नुपर्ने अवस्था छ। आफूलाई सुरक्षित नराख्ने हो भने त्यसको जिम्मा कसैले लिँदैन।  

कोरोना विषाणु संक्रमणलाई हामी र हाम्रो राज्यले कसरी सुरुदेखि लिए र अहिले कुन अवस्थामा आएका छौँ भन्ने हामीले हेर्नुपर्छ। राज्यको उपल्लो तहमा रहेका व्यक्तिले दिने गरेका गैरजिम्मेवार अभिव्यक्तिबारे हामी सबै जानकार छौँ। नेपालमा कोरोना छैन त्यसैले यहाँ भ्रमण गर्न आए हुन्छ भन्नेदेखि हाम्रो प्रतिरोध क्षमता बढी भएका कारण यसले छुँदैन भन्नेसम्मका अभिव्यक्ति सुन्न पाएकै हौँ। सुरुका दिनमा चीनबाट नेपाली नागरिकलाई राज्यकै तहबाट उद्धार गरेर ल्याइयो र तिनलाई क्वारेन्टिनमा राख्नेलगायतका सम्पूर्ण खर्च राज्यले गरेको हो। तर, त्यही ढंगको उदार खर्च गराइ त्यसपछि देख्न पाइएन। र, यो स्वाभाविक पनि हो। त्यसैगरी सुरुका दिनमा यसलाई चुट्कीका भरमा समाधान गर्न सकिनेजस्तो गरी उच्च अधिकारीले बोल्दै आएका हुन्। अहिले आएर हामी केही गर्न सक्दैनौँ भन्ने पनि देखिइसकेको छ।  

कोरोना संक्रमणसँग जुध्ने क्रममा राज्यको क्षमता पनि राम्रैसँग उजागर भएको छ। त्यतिमात्र होइन, स्वास्थ्य सामग्री खरिद र आवश्यक व्यवस्था गर्ने क्रममा भएका अनियमितताका कथा पनि सामुन्नेमा छ। यसलाई नियन्त्रण गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायतका निकायको भूमिका समेत सर्वसाधारणले अनुभव गरेकै छन्। एकातिर, समयमा सामग्री उपलब्ध गराउन नसक्ने, उपलब्ध गराउँदा पनि अस्वाभाविकरूपमा महँगो तुल्याउने र अनियमितता भएको शंकालाई सम्पूर्णरूपमा निवारण पनि नगर्ने प्रवृत्ति आमरूपमा प्रकट भइसकेको छ। यसले सरकारको क्षमता र निर्लज्जतालाई राम्रैसँग उजागर गरेको छ।  

त्यसैगरी बन्दाबन्दीका क्रममा आर्थिकरूपमा कमजोर नागरिकलाई राज्यले सहयोग गर्न नसकेको पनि देखिएको छ। वास्तवमा त्यो बेला कैयन् दिन लगाएर सर्वसाधारणले आफ्नो थातथलो फर्कनुपरेको थियो। वास्तवमा उनीहरूले यहाँको सरकार, परिस्थिति र आफू असुरक्षित हुन सक्ने अवस्था राम्ररी बुझेका रहेछन्। उनीहरू जो जहाँ थिए, त्यहीँ बसिरहेका भए यथार्थमा निकै ठूलो आर्थिक संकटमा पर्ने रहेछन् भन्ने पनि यतिबेला सबैलाई महसुस भएको छ। कैयन् देशले यो बेलामा विपन्न वर्गलाई मात्र होइन, उद्योग÷व्यवसाय, पेसाकर्ममा लागेका व्यक्तिसमेतलाई सहयोग पु¥याए। यहाँ भने सबै व्यक्तिले आफैँ आफूलाई संरक्षण गर्नुपर्ने अवस्था रह्यो। कहीँकतैबाट सहयोग हुन सकेन।

यो स्थिति बुझेका हामीले अब बन्दाबन्दी खुलेका बेलामा पनि आफूलाई सचेत तुल्याउनुपर्ने अवस्था छ। अनाहकमा संक्रमण फैलावटका कारण आफू नबन्न, संक्रमण भएपछि अनाहकको तनावमा नपर्न र आफ्नो काम सुचारु गर्दै सुरक्षित हुन सजग हुनुको विकल्प छैन। काठमाडौँमा संक्रमित संख्या बढ्दै गएको छ। ‘ट्राभल हिस्ट्री’ समेत नखुलेका कतिपय व्यक्तिसमेत यसबाट प्रभावित हुन थालेका छन्। केहीअघिसम्म संक्रमितमा कुनै लक्षण देखिने गरेको थिएन। अहिले लक्षण देखिन थालेको छ। कोरोना विषाणुले आफ्नो स्वरूप परिवर्तन गरिरहेको छ। चीनले नियन्त्रण गरिसकेको भनिएको कोरोना विषाणुको फेरि प्रभाव देखिन थालेका समाचार आइरहेका छन्। यसकारण पनि कोरोना विषाणु हाम्रो जीवनबाट तत्काल नजाने हुँदा आफूलाई सुरक्षित राख्ने ‘न्यु नर्मल’ का अभ्यासतर्फ आफूलाई अभ्यस्त राख्नुको विकल्प छैन। हामीलाई अरू कसैले भन्न र सिकाउन आउँदैन। आफैँले जानेर र बुझेर यसबाट बच्ने र समाजलाई पनि बचाउने अभ्यासतर्फ उन्मुख होऔँ। 

प्रकाशित: १५ श्रावण २०७७ ०५:११ बिहीबार

Download Nagarik App
Download Nagarik App