प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले नेपाल प्रहरीका नयाँ महानिरीक्षकको नियुक्ति अत्यन्तै सहज ढंगले गरेर मुलुकका निम्ति सकारात्मक सन्देश दिएको छ। प्रत्येक पटक यस्ता नियुक्तिका बेला सुनिने ‘ब्रिफकेस कथा’मा रोक लागेकोमा विश्वस्त हुने आधार छन्। स्वाभाविक उम्मेदवारसँग पनि कुनै न कुनै ‘प्रतिबद्धता’ लिने यसअघिको घटिया संस्कृतिमा रोक लाग्नु आफैंमा खुसीको खबर हो। मुलुकमा भएको जेन–आन्दोलनले स्थापना गर्न खोजेको नयाँ संस्कृति पनि सायद यही हो।
नेपाल प्रहरीका ३३ औं प्रहरी निरीक्षकमा दानबहादुर कार्कीको नियुक्तिमा सरकारबाट कुनै किसिमको कसर छाडेको अनुभव भएको छैन। यसै पनि वर्तमान प्रधानमन्त्री कार्की नियुक्ति गर्दा हुने कुनै किसिमका ‘शुभलाभ’प्रति आकर्षित हुन्नन् भन्नेमा विश्वस्त हुन सकिन्छ। उनी नै यस्तो प्रधानमन्त्री हुन्, जसले नियुक्ति गरिने व्यक्ति, तिनका परिवार र अन्य प्रभाव पार्न खोज्नेहरूलाई बेवास्ता गरिन्। प्रहरीको विश्वसनीयता र आत्मविश्वास बढाउन गर्नुपर्ने जेजस्तो निर्णय हो, त्यो यसपटक भएको छ।
मुलुकका चार सुरक्षा निकायमध्ये नेपाली सेना र सशस्त्र प्रहरीमा केही वर्षयता नियुक्तिमा धेरै चलखेल हुन दिइएको छैन । विशेष गरी नेपाली सेनामा हुने नियुक्तिमा निश्चितजस्तै हुन्छ। यदाकदा उमेर र अन्य विवाद आएर अन्यथा हुँदाबाहेक हुनेवाला प्रमुखबारे अनुमान गर्न सकिन्छ। यही स्थिति नेपाल प्रहरीमा हुने गरेको छैन। केही वर्षयता नेपाल प्रहरीमा पनि यो प्रक्रियालाई सहज बनाउन खोजिएको देखिन्छ। त्यति हुँदाहुँदै पनि ‘ब्रिफकेस’ काण्ड चर्चामा नहुने होइन । नियुक्त हुन चाहनेहरूले पनि जायज/नाजायज प्रभाव पार्ने काम गर्दै आएका हुन्। यहाँसम्म कि कुनै एक भारतीय राजदूतलाई नेपाल प्रहरीका तत्कालीन तीन सम्भावित प्रहरी महानिरीक्षकले आफ्नो नियुक्ति सुनिश्चित गर्न गरेको आग्रह सार्वजनिक रूपमा पुस्तकमै प्रकाशित भइसकेको छ।
हाम्रो मुलुकका सार्वजनिक संस्थाहरू साह्रै नराम्रोसँग बिग्रिएका छन्। तिनलाई प्रमुख दलहरूले दुरुपयोग गरेका छन्। गत भदौ २३ को जेनजी आन्दोलनको सहज रूपान्तरण र आन्दोलन त्यसको आडमा भोलिपल्ट भएको तोडफोड, आगजनी र विध्वंस नियन्त्रण गर्न प्रहरीको क्षमता नपुग्नु पछाडिको कारण यी संस्थाको क्षमता विकासमा काम नगरेकैले हो। प्रहरीलाई अति राजनीतीकरण मात्र गरिएको छैन, यसको मनोबल गिराउने काम भएको छ। त्यसको दोष करिब तीन दशक मुलुक हाँक्ने जिम्मेवारी पाएका प्रमुख दललाई जान्छ।
नेपाल प्रहरी अग्रमोर्चामा रहेर खटिने मुलुकका सीमित संस्थामध्ये एक हो। सहरको ट्राफिक व्यवस्थापनदेखि लोकतान्त्रिक मुलुकमा दैनिकजसो निस्किने जुलुस, धर्ना र विरोधको व्यवस्थापन पनि यही संस्थाले गर्नुपर्छ। थोरै प्रहरीले सहरको ठुलो हिस्सालाई सेवा पुर्याएर आम नागरिकलाई चैनको निद्रा दिन भूमिका खेलेका हुन्छन्। प्रहरी भनेको राज्यको सुरक्षा प्रत्याभूति हो। त्यति मात्र होइन, आम नागरिकले राज्यको उपस्थिति र यसको उदार भावना यसकै सेवाबाट प्राप्त गर्ने हो। प्रहरीलाई राम्रो तालिम दिने, गैरघातक सामग्री उपलब्ध गराउने र जनधनको क्षति नगराई शान्तिसुरक्षा कायम गर्न मद्दतगार संगठनका रूपमा कहिल्यै विकास गरिएको छैन। प्रहरीका काबिल सदस्यहरूले मुलुकमा जेजति योगदान गरेका छन्, त्यो आफैंमा प्रशंसनीय छ।
वास्तवमा प्रहरीको मनोबल यतिबेला सबैभन्दा तल्लो विन्दुमा पुगेको छ। जेनजी आन्दोलनपछिको नकारात्मक वातावरणमा पनि प्रहरीले प्रभावकारी भूमिका खेलेको छ। सबैजसो आन्दोलनमा प्रहरीमाथि नै आक्रमण हुन्छ। प्रहरीले माथिल्लो निकायको निर्णयअनुसार आफूलाई परिचालित गर्छ। तर, समस्या आएपछि त्यसको जिम्मेवारी फिल्डमा खटिएको प्रहरीको टाउकोमा थोपर्ने र राजनीतिक नेतृत्वले आफूलाई पानीमाथिको ओभानो ठान्छ। जेनजी आन्दोलनमा भएको जनधनको क्षतिको कारण प्रहरीभन्दा पनि त्यसलाई परिचालन गर्ने राजनीतिक नेतृत्व हो। उसले यसको जिम्मेवारी लिनुपर्छ। यसो नहुने हो भने प्रहरीले कहिल्यै मनोबल उठाएर काम गर्न सक्दैन। भोलिका जिम्मेवारी पूरा गर्न पनि उसलाई यसैगरी अप्ठ्यारो पर्छ।
जेनजी आन्दोलनको बेलामा भर्खर प्रहरी प्रमुखको जिम्मेवारी लिएका चन्द्रकुबेर खापुङ ६९ दिनको कार्यकाल पूरा गरी कात्तिक २७ देखि बिदा हुँदैछन्। उनले यो कठिन अवसरमा प्रहरी संगठनलाई जसरी चलाए, त्यो आफैंमा चर्चाको विषय बनेको छ। कठिन समयमा थोरै समय गरिएको कामको पनि आफैंमा इतिहासमा अंकित हुन्छ। नवनियुक्त प्रमुख कार्कीले सोही दिनबाट आफ्नो जिम्मेवारी समाल्नेछन्। प्रहरी संगठनलाई आजको सबैभन्दा न्यून विन्दुबाट कसरी उच्चतम मनोबलका साथ राष्ट्रसेवामा लगाउने भन्ने गम्भीर जिम्मेवारी उनको हातमा छ।
सरकार प्रमुखको हैसियतमा यथोचित निर्णय गरेर प्रधानमन्त्री कार्कीले त्यसका निम्ति मार्गप्रशस्त गरिसकेकी छन्। अहिलेको सरकारले यस्ता नियुक्तिमा गुणस्तरीय व्यक्तिलाई ल्याएर अहिलेसम्मको नकारात्मक निरन्तरताको अन्त्य गर्न अरू प्रेरित हुने अपेक्षा गर्न सकिन्छ।
प्रकाशित: २६ कार्तिक २०८२ ०६:०६ बुधबार

