मंगलबार देशका धेरै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भए। केही क्याम्पसमा पछि हुँदैछन् भने केहीमा एकाध दिनमै हुने तारतम्य मिलाइँछ। तर जति क्याम्पसमा चुनाव भए, अपवाद अर्थात छिटपुटबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भए। निर्वाचनका बेला सामान्य भनाभन, घँचेटाघँचेट, वादविवाद र केही समय प्रक्रिया रोकिनुलाई सामान्य नै मान्नुपर्छ। यसरी हेर्दा यो पटकको स्ववियु चुनावलाई सकारात्मक रूपमा लिनुपर्छ।
यसपटकको स्वतन्त्र विद्यार्थी युनियनको चुनावले धेरै सन्देश दिएको छ। पहिलो कुरा त यो चुनावमा धेरै विद्यार्थी मतदानमा सहभागी हुन अनिच्छिुक देखिए। यसअघिका चुनावमा कहिल्यै क्याम्पस नआउनेहरू पनि मत हाल्नकै लागि परिचयपत्र लिन आउँथे तर यसपटक प्रायः क्याम्पसमा अधिकांश परिचयपत्र प्रशासनमै थन्किए। परिचयपत्र वितरण गर्न बसेका कर्मचारीसमेत यस्तो अवस्था सिर्जना भएपछि छक्क परेका थिए। यसको मतलव विद्यार्थीहरू स्वतन्त्र विद्यार्थी युनियनको अहिलेको भूमिकासँग सन्तुष्ट छैनन् भन्ने देखिन्छ।
दोस्रो कुरा, यसपटकको चुनाव शान्तिपूर्ण रहनुमा स्ववियुको तागत कम हुनु पनि हो। तागत नै कम भएपछि यसको नेतृत्वमा पुग्न जुनखाले रस्साकस्सी यसअघि देखिन्थे, त्यसमा कमी आएकै हो। अर्को कुरा, पछिल्ला केही वर्षदेखि सरकारीतवरममा प्रवीणता प्रमाणपत्र तहलाई प्राथमिकता नदिइएसँगै विद्यार्थीहरू निजी कलेजहरूमा जानैपर्ने बाध्यता सिर्जना भयो। स्वभावैले निजी शिक्षालयमा राजनीतिक गतिविधि कम हुन्छ। त्यसैले पनि कम सहभागिता भएकै कारणसमेत स्ववियु चुनाव झमेलायुक्त हुन पाएन।
विद्यार्थी संगठन र यस्ता संगठनका नेतृत्वकर्तामा देखिएको परिपक्वता पनि चुनाव शान्तिपूर्ण हुनुको अर्को कारण मान्न सकिन्छ। नेपाली विद्यार्थीले लोकतन्त्रको अनुभव गर्न पाएका धेरै समय बितेको छैन। त्यसैले लोकतन्त्र अभ्यासका क्रममा सुरुका वर्षहरूमा केही महत्त्वाकांक्षा बढ्नु, अरूको अस्तित्व स्वीकार्न गाह्राे हुनु तथा आफ्ना जस्तासुकै चाहना पनि पूर्ति गर्नैपर्छ भन्ने घमण्डले काम गर्नु स्वाभाविकै पनि हुन्छ। अझ उमेर र अपरिपक्वताका कारण विद्यार्थीमा यस्तो लक्षणलाई अन्यथा मान्नुपर्ने कारण पनि छैन। समयक्रमसँगै उनीहरूमा आएको परिपक्वताका कारण अहिले भने विगतका जस्तो स्ववियु चुनावभन्दासाथ झगडा परिहाल्ने अवस्था नभएको कुरा पनि साँचो हो।
खासमा स्वतन्त्र विद्यार्थी युनियन विद्यार्थीका हक अधिकार संरक्षणका लागि दबाब दिने उद्देश्यले गठन गरिएको निकाय हो। पञ्चायतकालमा दलहरूमाथि प्रतिबन्ध थियो। उनीहरूले खुला गतिविधि गर्न पाउने अवस्था थिएन। त्यसैले विद्यार्थी संगठनहरूको मुख्य भूमिका एकदलीय पञ्चायती व्यवस्थाविरुद्ध गतिविधिहरू गर्नमा केन्द्रित थिए। खासगरी कांग्रेस र वामपन्थी दलहरूसँग आबद्ध विद्यार्थी संगठनहरूले विद्यार्थी हक अधिकार संरक्षणकै ब्यानरमा आन्दोलनहरू गरेर पञ्चायती शासकहरूलाई हायलकायल पारेकै हुन्। उनीहरूले आफ्ना माउ पार्टीको निर्देशन र सिद्धान्तअनुसार प्रजातन्त्र प्राप्तिका लागि आधार खडा गरेकै हुन्। २०४६ सालमा पञ्चायत व्यवस्था अन्त्य भइ प्रजातन्त्र आउनुमा विद्यार्थीले उक्त व्यवस्थाविरुद्ध वर्षौँदेखि लगाएका धमिरा नै मुख्य कारण भएकामा शंका छैन।
त्यसपछि नै विद्यार्थी संगठनहरूको भूमिका क्रमशः पातलिँदै गएको हो। मुलुकमा प्रजातन्त्र आइसकेपछि उनीहरू विद्यार्थीको हक अधिकार र शैक्षिक उन्नयनका लागि मात्र लाग्नुपर्नेमा पुनः पुरानै ढर्राबाट मुक्त हुन सकेनन्। फलस्वरूप विद्यार्थी संगठनहरू पहिलेजस्तो प्रिय रहेनन्। यही कारण स्वतन्त्र विद्यार्थी युनियन पनि प्रभावकारी बन्न सकेन। यस्तो अवस्थामा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव विद्यार्थीबीच आकर्षणको विषय नबन्नु कुनै आश्चर्यको विषय हैन। अहिले यो निर्वाचनप्रति देखिएको एकदमै कम रुचि यसको ज्वलन्त प्रमाण हो।
केही क्याम्पसमा सत्ता साझेदार दलका विद्यार्थी संगठन मिलेर चुनाव लड्दा पनि पराजय भोग्न बाध्य भए। केही क्याम्पसमा स्वतन्त्रले नेतृत्व प्राप्त गरे। अनि केहीमा भने वर्षौँदेखि जसले जित्दै आएका थिए तिनै विद्यार्थी संगठनले विजय दोहोर्याए। यसबाट देखिन्छ कि सत्ताको जोडबलले सबै ठाउँमा काम नगर्दोरहेछ। अनि कतै भने सत्तामा भएकै कारण प्रभाव परेको पनि देखियो। त्यसले सत्तामा हुँदा फरक पर्ने पनि प्रमाणित भयो। विशेषगरी राष्ट्रिय राजनीतिमा ‘साना’ मा गनिँदै आएका दल स्ववियु चुनावमा पनि सानै देखिए। यस्तो परिदृश्यले भावी राष्ट्रिय चुनाव आकलन गर्ने अवस्था पनि निर्माण भयो।
चुनावहरू प्रजातन्त्रका मुटु हुन। अझ आवधिक चुनाव भनेको त वर्षौंदेखि निकास नपाएको तलाउ सफा गर्ने अवसर पनि हो। त्यसैले जतिसुकै प्रशासनिक खर्च लागे पनि चुनावबाट भाग्नेहरू प्रजातान्त्रिक हुन सक्दैनन्। यसरी हेर्दा स्ववियु चुनावलाई पनि अन्यथा मान्नुपर्ने देखिन्न। जहाँसम्म स्ववियुको औचित्यको कुरा छ, त्यसबारे बहस गर्न सकिन्छ। तर जबसम्म यो चाहिने र नचाहिनेबारे टुंगोमा पुगिन्न तबसम्म चुनावचाहिँ अपरिहार्य छ। विद्यार्थीबीच लोकतान्त्रिक अभ्यास हुने हिसाबले पनि यो चुनावलाई नकारात्मकरूपमा लिनुपर्ने देखिन्न। अझ महत्त्वपूर्ण कुरा, दलीय हैसियत बुझ्न, उनीहरूप्रतिको जनमतको उतारचढाव पत्ता लगाउन तथा दलहरूप्रतिको युवा धारणा थाहा पाउन पनि यस्ता चुनाव ‘मिनी जनमत’ सावित हुने गरेका छन्। त्यसैले पनि स्ववियु चुनावको सन्देशलाई बहुआयामिक रूपमा बुझ्नु उपयुक्त हुनेछ।
प्रकाशित: ७ चैत्र २०८१ ०५:५७ बिहीबार