मेलम्चीको पानी राजधानी काठमाडौं आउन दुई दशकजति कुर्नुपर्यो। बल्लबल्ल पानी आएपछि पनि काठमाडौंले सुख पाएको छैन-कहिले कताको पाइप फुट्छ कहिले कहाँ सडकमा पानीको छेलोखेलो हुन्छ। काठमाडौं, थापाथलीबाट नर्भिकचोक जाने सडकमा मंगलबार बिहान पाइप फुटेर सडकमा पानी छताछुल्ल भएपछि फेरि आतंकित हुनुपर्ने अवस्था आएको हो। यस्तै अवस्था केही साताअघि बबरमहलमा पनि भएको थियो। त्यतिबेला भूमिगत तारको काम गर्ने बेलामा नेपाल विद्युत् प्राधिकरणका तर्फबाट भएको गल्तीले यस्तो भएको भन्ने थियो। अहिले खानेपानीकै पाइप फुटेको र यी पाइप पुराना भएको भन्ने तर्क अघि सारिएको छ।
मेलम्ची खानेपानी आयोजना आफैंमा रोचक र घोचक परियोजना हो। यसको थालनीदेखि कार्यसम्पन्न भएपछि मुलुकले लामो प्रतीक्षा गरेको छ। बल्ल काठमाडौंमा पानी आयो, त्यसको केही समयपछि मुहानमै लेदो आएर पानी आपूर्ति बन्द भयो। यदाकदा यस्ता घटना हुन सक्छन्। तर, मेलम्चीसँग जोडिएको घटना भने नियमित आकस्मिकता जस्तो छ। कुनै न कुनै रूपमा यसको पानी आपूर्तिमा अवरोध अनुभव गरिरहनुपरेको छ। यसले एकातिर हाम्रा आयोजना सञ्चालन प्रक्रियामा रहेका त्रुटि उजागर गरेको छ भने अर्कातिर हाम्रा संरचनालाई अद्यावधिक गर्नेतिर ध्यान दिइएको छैन। मेलम्चीको पानी काठमाडौंमा जोडिएपछि पुराना संरचनाले कति धान्छन्? भइरहेका संरचनामा यसको दबाब कति हुन्छ? नयाँ व्यवस्थापन के गर्ने भन्ने पक्कै भएको हुनुपर्ने हो।
यस्तो अवस्था मेलम्चीको हकमा मात्र होइन, अन्यत्र पनि भइरहेको छ। पोखरा विमानस्थल निर्माण सम्पन्न भएपछि छेउको एउटा डाँडाको विषय उठेको थियो। भैरहवा विमानस्थल निर्माण भएपछि त्यहाँ उडान अनुमति दिने बेलामा भारतबाट आउनसक्ने समस्याको प्रश्न पनि नउठेको होइन। कतिपय आयोजनामा ती सम्पन्न भएपछि यस्तो हुनुपर्थ्याे भन्ने तर्क अघि सारेको देखिन्छ। यस्ता आयोजना सम्पन्न गर्नुअघि नै केकस्ता अवरोध आउन सक्छन् भन्ने पूर्वअध्ययन र तदनुकूलको आवश्यक व्यवस्था गर्नुपर्ने हो। सिक्टा सिँचाइ आयोजना सम्पन्न भएपछि पानीको बहाबले नहर भत्किएपछि माटै उस्तो भएको दोष लागेको थियो। यी यावत् घटनाक्रमले हामीमा आयोजना सम्पन्न गर्दा बेवास्ता गर्ने प्रवृत्तिलाई उजागर गरेको छ।
वास्तवमा सबैजसो आयोजना सम्पन्न गर्दा गम्भीरताको अभाव देखिन्छ। आवश्यक पूर्वतयारीको पनि उत्तिकै अभाव देखिन्छ। मेलम्चीको पानी काठमाडौंमा आउने भइसकेपछि त्यसैअनुसार यहाँ प्रणालीगत सुधार गरेकै हुनुपर्ने हो। कहिलेकाहीं हुन्छ दुर्घटना पनि। तर, बेलाबेलामा भइरहने यस्तो अवस्थाले स्थिति गाह्रो पार्छ। त्यति मात्र होइन, सर्वसाधारणले जहिल्यै कुनै न कुनै यस्ता घटनाका कारण समस्या सामना गर्नुपर्ने हुन्छ। मेलम्चीको पाइप फुटेको पछिल्लो घटनाक्रमपछि सडकमा भ्वाङ पर्दा प्रसूति र नर्भिक अस्पताल जानसमेत अप्ठ्यारो हुन पुग्यो। थोरै समयका निम्ति यस्तो अवरोध भए पनि कसैको ज्यान यतिमै जानसक्छ। कहिलेकहिले त यस्तो लाग्छ, काठमाडौंमा हामी धरापमाथि बसेका छौं। हाम्रा संरचनाहरूको धरापमा परेर धनजनको क्षति नहोस् भन्ने कामना गर्नुपर्ने हुन्छ।
काठमाडौं उपत्यकामा एकभन्दा बढी निकायले सडक, खानेपानी, बिजुली आदि सेवाको काम गर्छन्। सरकारकै निकाय भए पनि तिनका बिचमा समन्वय छैन। अझ दुर्घटना भइसकेपछि सबैले आफूलाई जिम्मेवारीबाट पन्छाउँछन् र दोष अर्काको टाउकामा थोपर्न खोज्छन्। यसकारण पनि काठमाडौंमा यस्ता निकायबिच समन्वय गर्ने गरी शक्तिशाली प्राधिकरण नै बनाएर काम गर्नुपर्ने हो कि? अन्यथा, सबैजसो यस्ता निकायले जिम्मेवारी आफूले लिनेभन्दा पनि अरूतिरै दोष देखाएर पन्छिने प्रवृत्ति छ।
सार्वजनिक कामको गुणस्तर सबैभन्दा बढी हुनुपर्छ। सरकारकै निकायले गरेको कामको गुणस्तर नभएपछि अरूले गरेका काममा कसरी खोट लगाउन सकिन्छ ? सरकारी कामको ठेक्का लगाउँदा गुणस्तरीय सामग्री प्रयोग भयो/भएन? त्यही नभएका कारण अहिलेका जस्तो अवस्था आइरहेको हो कि? एकभन्दा बढी पटक एउटै प्रकृति र प्रवृत्तिका घटना भएपछि त्यसमा छानबिन पनि गर्नुपर्ने हुन्छ। मेलम्चीको नाममा मुलुकले गरेको खर्च ठुलो छ। दुई दशकभन्दा बढी समय र करिब ७० अर्ब रूपैयाँ खर्च लागेको आयोजनाबाट उत्साहित हुन सक्ने अवस्था देखिएको छैन। बर्खा लागेपछि पानी आपूर्ति गर्न सम्भव नहुने, हिउँदमा पनि सहरका पाइप फुटेर तमासा देखाउने अवस्था आउनु भनेको आफैंमा दुःखद अवस्था हो। गुणस्तरीय आयोजना निर्माण अहिलेको आवश्यकता बन्न पुगेको छ।
प्रकाशित: २१ फाल्गुन २०८१ ०५:५९ बुधबार