२० चैत्र २०८१ बुधबार
image/svg+xml १६:१४ अपराह्न
सम्पादकीय

मदिरा माेह

नेपाल सरकारले मदिरा बिक्री नियन्त्रण गर्न विभिन्न कानुनी प्रावधान लागु गरेको छ। यसका बाबजुद पनि ६ महिनामा ६ अर्ब बराबरको मदिरा आयातले नेपालको मादकता झल्काउँछ। यसको अर्थ सरकारले लागु गरेका कानुनी प्रावधान निष्प्रभावी भएका छन्।

त्यसो त नेपालका धेरै जातजाति र परम्परामा मदिरा सेवन सर्वस्वीकार्य छ। खासगरी नेवा, राई, लिम्बू, मगर, गुरुङ समुदायका चाडपर्व, विवाह तथा जमघटमा मदिरा अनिवार्य छ। संस्कृतिको निरन्तरताका निम्ति यसको प्रयोग भए पनि यसको उपभोगमा यस समुदायले पनि क्रमशः कमी ल्याइरहेको छ। स्वास्थ्य, समय र सम्पत्ति सबैका दृष्टिले यसको अति उपभोग ठिक होइन भन्ने सबैलाई परिसकेको छ। त्यति मात्र होइन, नेपाली समाजमा आज यो वा त्यो जातिले मात्र यसको उपभोग गर्ने भन्ने छैन, अझ आफूलाई यसको प्रयोगबाट अलग राखेका समुदायका व्यक्तिले पनि यसको उपभोग उत्तिकै गरिरहेका छन्।

नेपाली समाजले अब यसको उपभोगबारे सोच्ने बेला भइसकेको छ। मदिराजन्य पेयका बोतलमै लेखिएको हुन्छ– जिम्मेवारीपूर्वक पिउनुहोस्। तर, आज पिउने पक्षले जिम्मेवारी भुलेको अवस्था छ। अचेल गाउँघरमा दही होइन ‘डिउ’ पाइन्छ भन्ने भइसकेको छ। मदिराजन्य पदार्थको उपलब्धता यत्रतत्र छ। तर, अन्य अत्यावश्यक वस्तुको उपलब्धता त्यो रूपमा छैन। पछिल्लो समयमा सहरमा भन्दा गाउँमा अझ बढी मदिरा प्रेम देखिन थालेको छ। सहरमा सवारी चलाउनुपर्ने र अन्य जिम्मेवारीले थिचिएका कारण मदिरामा लाग्न केही अवरोध देखिएको छ। गाउँघरमा फुर्सदमा यसको प्रेममा परेको देखिन्छ।

पछिल्लो समय युवाहरूमा पार्टी संस्कृति र सामाजिक सञ्जालको प्रभावका कारण मदिरा सेवन बढेको देखिन्छ। युवापुस्तामा फेसनका रूपमा मदिरा पिउने संस्कृति विस्तार भएको देखिन्छ। युवा उमेर भनेको आफैंमा जिज्ञासु हुन्छ। यो बेलामा आफूलाई अरूभन्दा भिन्न देखाउन पनि मदिराको तलमा लाग्न पुगेको देखिन्छ। नेपालमा मदिरा मोह बढ्नुको अर्को मूल कारण सर्वसाधारणमा व्याप्त तनाव र मानसिक अवसाद पनि एउटा हो।  

बढ्दो बेरोजगारी, आर्थिक समस्या, मानसिक तनाव, पारिवारिक कलह तथा एक्लोपनजस्ता कारणले मदिरा सेवनमा आकर्षित भइरहेका छन्। अर्कातर्फ वैदेशिक रोजगारीमा रहेका परिवारमा पहिलेजस्तो युवापुस्तालाई बाँध्ने नैतिक बन्धन पनि समाजमा खुकुलिँदै गएको प्रत्यक्ष अनुभव गर्न सकिन्छ। वैदेशिक रोजगारीबाट फर्किएकाहरूले मदिरा सेवनलाई सामान्य रूपमा लिन थालेकाले पनि युवाहरूमा पिउने क्रम बढेको छ। सबैभन्दा खतरनाक त युवापुस्तामा मदिरालाई तनाव घटाउने उपायका रूपमा लिने गरेका छन्। जबकि, यसको कुप्रभाव भने ठ्याक्कै उल्टो हुने गरेको छ ।

त्यसो त सरकारले मदिराको खपत घटाउन उच्च दरमा कर बढाउने गरेको छ। तर यसको असर उल्टो परेको छ। महँगा मदिराको खपत तुलनात्मक रूपमा घटे पनि घरेलु रक्सीहरूको उत्पादन र बिक्री बढिरहेको पनि देखिन्छ। बानी लागेकाहरूले तलतल मेट्न मूल्यभन्दा पनि मादकतालाई ध्यान दिन्छन् र जस्तोसुकै मदिराको सेवन गर्छन्। नेपालमा पर्यटन व्यवसाय बढ्दै गएका कारण पनि विदेशबाट आयात गरिने महँगा मदिराको आयात बढ्न पुगेको छ ।

मूलतः सरकारले मदिरा बिक्रीमा कडाइ गरे पनि सामाजिक स्वीकृति, युवा पुस्ताको आकर्षण, मानसिक तनाव, घरेलु उत्पादन र कमजोर कानुनी कार्यान्वयनजस्ता कारणले मदिरा खपत बढिरहेको देखिन्छ। यसको प्रभावकारी नियन्त्रण, कडा कानुनी कार्यान्वयन, जनचेतना अभियान, शिक्षा र पुनःस्थापना कार्यक्रमलाई तल्लो तहसम्म पुर्‍याउन आवश्यक देखिन्छ ।

खासगरी मदिरा सेवनका नराम्रा असरहरूबारे उति धेरै चर्चा हुने गरेका छैनन्। नेपालमा सबैभन्दा बढी खपत हुने मनोरञ्जनका साधनहरू, म्युजिक भिडियो, सिनेमा वा सामाजिक सञ्जालमा यसका विकृति र यसले पार्ने असरका बारेमा व्यापक प्रसार गर्न सकिएको देखिँदैन। मदिरा सेवनले मानिसको शारीरिक, मानसिक, सामाजिक र आर्थिक समस्याहरू निम्त्याउने गरेकोतर्फ सर्वसाधारणको ध्यानाकर्षण गर्न सकिएको छैन।

अत्यधिक मदिरा सेवनले सर्वसाधारणको कलेजो खराब मात्र गर्दैन, हेपाटाइटिसजस्ता रोग पनि निम्त्याउने गर्छ। उच्च रक्तचाप, हृदयाघातजस्ता समस्या ल्याउँछ। मस्तिष्कको कार्यक्षमता घटाउने, स्मरणशक्ति कमजोर पार्ने र निर्णय क्षमतामा नै घात पार्छ। पेटका अनेक समस्या यही मदिराले ल्याउँछ। मदिराले मुख, घाँटी, कलेजो, स्तन र पाचन प्रणालीसम्बन्धी क्यान्सरको सम्भावना बढाउँछ।

जुन चिन्ता घटाउन नेपालीले मदिरा पिइरहेका छन्, यसले उल्टै मानसिक स्वास्थ्य बिगार्ने मात्र नभई तनाव, अवसाद बढाई आत्महत्याजस्तो जोखिमसमेत बढाउँछ। नेपाल सरकारले मदिराबाट राजस्व कमाउने उद्देश्य राखेको देखिन्छ। तर यसले जति कमाउँछ, त्योभन्दा बढी यसले समाज र राष्ट्रलाई नै हानि पुर्‍याइरहेकोतर्फ हाम्रा नीतिनिर्माताहरूको ध्यान जान सकेको छैन। पारिवारिक कलह, घरेलु हिंसा, सवारी दुर्घटना तथा आर्थिक संकटजस्ता समस्या कति गहिरो हुन्छ भन्ने बृहत् अध्ययन गरी यसलाई व्यापकस्तरमा प्रचार गर्न जरुरी छ।

नेपालमा हुने अधिकांश अपराध रक्सीको नसामा बढी हुने गर्छ। यसको जोखिम गनेर साध्य देखिन्न। तथ्यांकअनुसार ६८ प्रतिशत सर्वसाधारणले रक्सी पिउँछन्। यो संख्या निकै नै ठुलो हो। त्यसैले नेपालमा मदिराको सर्वस्वीकार्यता घटाउनेतर्फ सरकारले ध्यान दिन जरुरी देखिन्छ। मदिराजन्य पदार्थले प्रगतिमा बाधा गर्छ, त्यसैले यसको प्रयोग पुरै बन्द गर्न नसके पनि सीमित गर्नुपर्ने आवश्यकता छ।

प्रकाशित: १८ फाल्गुन २०८१ ०६:०१ आइतबार

Download Nagarik App
Download Nagarik App