९ माघ २०८१ बुधबार
image/svg+xml
सम्पादकीय

हिउँ हराएका हिमाल

नेपाल पर्वतै पर्वतको धनी देश हो। डाँडामध्ये सयौँ निकै अग्ला छन्। जसमा विश्वको सर्वोच्च शिखर मानिने सगरमाथासमेत पर्छ। सबै डाँडा हिमाल हुँदैनन्। जसमा हिउँ जम्छ त्यो मात्र हिमाल भनिन्छ। नेपाल यस्तै हिमालहरूका कारण विश्व प्रसिद्ध छ। यही कारण सगरमाथालगायत दर्जनौँ हिमाल हाम्रा पहिचान, विशेषता र सम्पदा सबै हुन्। त्यसैले हिमाल हाम्रो ठूलो अमूल्य सम्पत्ति हो। जसलाई जोगाउन हरसम्भव प्रयास गर्नुपर्छ। तर विडम्बना, यतिबेला हाम्रा यिनै हिमाल नांगा डाँडामा परिणत हुने क्रम बढ्दो छ। केही वर्षअघिसम्म सेताम्मे हुने र दुनियालाई जादूले चकित पार्न सक्ने धेरै हिमशृंखला नै क्रमशः उजाड बन्दै गएका छन्।

यतिबेला हिमपातको समय हो तर न पहाड र तराईमा वर्षा हुन सकेको छ न त हिमाली क्षेत्रमा हिमपात नै। यस्तो अवस्थाले विशेषगरी कर्णालीका उच्च पहाडी भागका डाँडा÷पर्वत रुखा देखिएका छन्। यतिबेला सेताम्मे हिउँले सबैलाई मोहनी लगाउनुपर्ने डाँडाहरू आफैँ मानिसलाई तर्साउने काला पत्थरमा रूपान्तरण भएका छन्। कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पा जस्ता कर्णालीका जिल्लास्थित अग्ला डाँडाहरू अहिले हिउँ नभएकै कारण ‘कुनैबेलाका हिमाल’ मा गणना हुन थालेका छन्।

खासमा मौसममै हिमपात नहुनुलाई जलवायु परिवर्तनको असर ठानेका छन् जलवायुविज्ञहरूले। एकातर्फ बढ्दो तापक्रमका कारण हिमालमा भएकै हिउँ पनि पग्लिएर डाँडाहरू क्रमशः रित्तिँदै छन्, अर्कोतर्फ हिउँ नथपिँदा हिमनदीहरूसमेत खुम्चन थालेका छन्। सामान्यतया पुस–माघ हिउँ पर्ने समय हो तर यो बेला हिउँ नपर्ने तर केही वर्षयता फागुन–चैतमा भने हिउँ पर्ने गर्दै आएको छ। हिमपातको यो प्रत्यक्ष अनुभवलाई स्थानीयले मात्र हैन, विज्ञले समेत जलवायु परिवर्तनको प्रत्यक्ष असरका रूपमा बुझ्न थालेका छन्।

यस्तो अवस्थाले हरक्षेत्र प्रभावित भएको छ। उच्च पहाडी भेगमा पानी नपर्ने र सिँचाइको व्यवस्थासमेत नभएका कारण हिमपात सिँचाइको एक मात्र विकल्प हुने गरेको छ। यतिबेला परेको हिउँ लामो समयसम्म जमिनमा रहने र यसले बोटबिरुवाको जरैसम्म पानी उपलब्ध गराउने भएकाले पछिल्ला कृषि उत्पादनहरू फस्टाउने हुन्छ। विशेषगरी यो क्षेत्रमा हुने स्याउका लागि यतिबेलाको हिमपातले निकै गुन लगाउने गर्छ। तर यतिबेला हिमपात बैगुनी बनेर देखापरेको छ अर्थात् ऊ समयमा नआइदिँदा किसानदेखि गैरकिसानसम्मै दुःखी  बनेका छन्।

हिउँ कर्णालीको उच्च पहाडी भेगका लागि कृषि, पर्यटन, जीविका र बिक्रीको साधनसमेत हो। यिनै हिउँडाँडा हेर्न र अतुलनीय आनन्द लिन लाखौँ खर्चेर आउनेहरूले यहाँको जीविका सहज तुल्याएका छन्। यही हिउँका कारण यहाँ मात्र फल्ने रैथाने खानाले धेरैको जिब्रोलाई मोहनी लगाउने गरेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्थानीयको आर्थिक उन्नतिसँग जोडिएको छ। अर्कोतर्फ सभ्यताका खानीका रूपमा रहेका नदीहरूको प्रवाह र यिनीहरूसँग जोडिएको धार्मिक/सांस्कृतिक सम्पदाहरूको छट्टै महत्त्व छ। खासमा यस्तो अवस्था सिर्जना हुनुमा हामी नेपालीको भन्दा पनि विकसित राष्ट्रहरू बढी जिम्मेवार छन्। उनीहरू आफ्नो जीवनस्तर उन्नत र शौखिन बनाउन तथा मुलुकलाई विकासको चरम थलोमा पुर्‍याउन प्रतिस्पर्धा गरिरहेका छन्। फलस्वरूप अधिक इन्धन खपतका कारण उत्सर्जन हुने हरित गृह प्रभावबाट ग्रिनहाउस ग्यासले सूर्यबाट प्राप्त हुने तापलाई पृथ्वीमै रोक्छन्। जसले गर्दा वायुमण्डलमा ग्रिनहाउस ग्यास कार्बन डाइअक्साइडको मात्रा गत दुई दशकमा मात्र १२ प्रतिशतले बढेको छ। अहिले हाम्रा हिमालले भोगिरहेका समस्याको मूल कारण यही हो। तर विडम्बनाचाहिँ यो छ कि हामी यतिबेला आफूले खाँदै नखाएको विष लागेर छट्पटाउने अवस्थामा पुर्‍याइएका छौँ। जुन हामीले नगरेको अपराधको सजाय होभन्दा फरक पर्दैन।

यसका लागि नेपालले विश्व रंगमञ्चमा ‘जलवायु न्याय’ प्राप्तिका लागि दरिलोरूपमा पेस हुन सक्नुपर्छ। विश्वका विकसित राष्ट्रहरूले आफ्नो कर्तुतका कारण अन्यायमा परेका नेपाल जस्ता देशका लागि केही रकमको ‘बास्केट फन्ड’ खडा गरेका छन्। हामीले आफूलाई परेको प्रभाव देखाएर यही कोषमार्फत जलवायु न्याय प्राप्तिका लागि व्यापक दबाब सिर्जना गर्नुपर्छ। पहिलो कुरा जलवायु न्यायअन्तर्गत सहयोग ल्याउने कुरा छ भने दोस्रोचाहिँ यस्तो सहयोगलाई जलवायु परिवर्तनका कारण परेको प्रभाव घटाउने र अनुकूलनका लागि खर्च गर्नुपर्छ। अनि यस्तो खर्चचाहिँ बढी प्रभावित क्षेत्रहरूलाई प्राथमिकतामा राखेर गरिनुपर्छ। त्यसो भए मात्र नखाएको विषले गर्ने हानिको मात्रा न्युन गराउन सहयोग पुग्छ। 

प्रकाशित: २६ पुस २०८१ ०६:०२ शुक्रबार

Download Nagarik App
Download Nagarik App