३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
सम्पादकीय

पाषाण पथ

कैलालीको गौरीगंगा नगरपालिका–११ का ३० वर्षीय सुरेश भुलको केही दिनअघि मात्र कुटपिटबाट मृत्यु भयो। उनलाई बाख्रा चोरेको आरोपमा बाख्राधनीलगायतले गत शनिबार कुटपिट गरेको र त्यही कारणले मृत्यु भएको भन्दै प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। कुटपिटमा संलग्न भएको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउसमेत गरेको छ।

अर्को यस्तै विभत्स घटना बिहीबार फेला परेको छ। भक्तपुर नगरपालिका–३ स्थित दरबार स्क्वायर नजिकैको इछुगल्लीमा ९४ वर्षीया विष्णुकुमारी त्वयना मृत भेटिइन्। मृत अवस्थामा भेटिनु सामान्य लागे तापनि उनको खुट्टा बाँधिएको अवस्थामा पाइनुले यो शंकास्पद देखिएको छ। जसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

पछिल्ला समय विशेषगरी ज्येष्ठ नागरिक, अशक्त, बालबालिका र विपन्नमाथि क्रूर घटना भइरहेका खबर सार्वजनिक भइरहेका छन्। यस्ता घटना कसैमाथि पनि हुनु उचित हुन सक्दैन। अझ त्यसमाथि पनि असहायहरूमाथि हुनु त झनै ठूलो अपराध हो। किनकि ज्येष्ठ नागरिक, अशक्त, अपांगता भएका, गर्भवती, सुत्केरी आदिलाई जहिले पनि थप मद्दत र सहयोग आवश्यक पर्छ। यस्तो अवस्थाका व्यक्तिलाई सहयोग गर्नु मानवीय धर्मभित्रकै सामान्य मर्यादासमेत हो। तर पछिल्लो समय नेपाली समाज यो कटु यथार्थबाट टाढा हुँदै गएको देखिएको छ। जसको ज्वलन्त साक्षीका रूपमा भर्खरै भएका माथिका दुई घटना नै पर्याप्त छन्।

सुरेशलाई कुटपिट गरिएको हो वा होइन, आरोप समाचारमा आएजस्तै बाख्रा चोरीको हो वा अन्य केही थियो, कुटपिट र सामूहिक आक्रमणकै कारण उनको मृत्यु भएको हो कि होइन जस्ता विषयमा अधिकार प्राप्त निकायले अनुसन्धान थालिसकेका छन्। यसबाट एउटा निष्कर्ष आउला र दोषीलाई सजाय पनि होला। तर अहिलेको युगमा पनि एउटा सामान्य विषयमा सोही समाजका व्यक्तिहरू कसैमाथि ज्यानै जाने गरी जाइलाग्नु लज्जास्पद छ। त्यसमाथि सामूहिक आक्रमणले अहिले पनि हामी लाठीमुंग्रीमा विश्वास गर्छौँ र शक्ति हातमा लिन उद्यत छौँ भन्ने प्रष्टिन्छ। कसै न कसैले यसरी कानुन हातमा लिनु हुँदैन भन्न सक्नु पर्ने हो। यो ‘काक्राचोरलाई मुड्के सास्ती’ को समय होइन।

उनले बाख्रा चोरेकै भए पनि कानुनी उपचारमा जान सकिन्थ्यो। दोषीलाई कानुनतः सजाय हुन्थ्यो भने बाख्रा धनीले बाख्रै वा सोबराबरको क्षति पूर्ति पाउने अवस्था हुन्छ। तर यो मार्ग नअंगाली कुटपिटमा उत्रनुले हाम्रो कानुनी व्यवस्थालाई चुनौती दिएको छ। कि उनीहरू कानुनबारे जानकार छैनन् भन्ने देखिएको छ भने कि त कानुनमा विश्वास राख्दैनन् भन्ने बुझ्न सकिन्छ। यी दुवै पक्ष कानुनी शासनका लागि मन्द विष हुन् जसले समाजलाई थप हिंसात्मक बनाउन मात्र सघाउँछ।

अर्को घटनामा ९४ वर्षकी वृद्धा आफैँमा रेखदेख, स्याहार÷सुसार र आदर/सम्मानकी भागीदार हुन्। यस्तो अवस्थामा पनि उनलाई किन विभत्स अवस्थामा देख्नुपर्ने अवस्था आइपर्‍यो ? चिन्तायोग्य प्रश्न छ। वास्तविक अनुसन्धान र छानबिनपछि थाहा होला तर प्रारम्भिक संकेत भने सकारात्मक छैन। अहिलेको समाज स्वार्थी, अविवेकी र कानुन मिच्न रमाउने वर्गमा रूपान्तरण हुँदै गएको देखाउँछन् यस्ता घटनाले।

मानिस भएपछि गरिने वा गर्नुपर्ने केही निश्चित कर्तव्य हुन्छन् मानवका। जसअन्तर्गत सबैको भलो चिताउने, कुभलोलाई निषेध गर्ने, अशक्त, असहाय, अनाथ आदिलाई सहयोग गर्ने, अग्रजको सम्मान र भावी पुस्तालाई मार्गदर्शन गर्ने, आफ्नो अधिकार प्रयोग गर्दा र आफ्नो प्रगति मार्ग पछ्याउँदा अरूको अधिकार हनन नहुने मार्ग अवलम्बन गर्ने, विधि र नैतिकतालाई कुनै हालतमा नबिर्सने आदि उसका कर्तव्य हुने गर्छन्। यस्तो अवस्थाले घर, समाज हुँदै अन्ततः सिंगो मुलुक र विश्व स्तरमा शान्ति तथा अमनचयन कायम गर्न मद्दत पुग्छ। त्यसैले यस्ता कार्यलाई मानवीयता भनिएको हो।

तर नेपाली समाज पछिल्लो समय यही कर्तव्य पछ्याउनबाट गिरिरहेको छ। पैसा आउँछ भने जस्तोसुकै अपराध कर्ममा पनि संलग्न हुने क्रम बढ्दो छ। आफ्नै आमाबाबु, दाजुभाइलाई समेत नछाड्ने विकृत मार्गमा जुटेको छ। एकाध आना/धुर जमिनका लागि एकअर्काको ज्यानै लिन तम्सने प्रवृत्तिले बढावा पाइरहेको छ। बलात्कार, हनिट्रयाप जस्ता शब्दको सहारामा कसैलाई फसाइदिने जस्ता कुकार्यसमेत बढिरहेका छन्। गाईवस्तुले बाली खाइदिएको वा छिमेकीले एक बित्ता जमिन मिचेको बहानामा वल्लो घर र पल्लो घरको काटाकाटको स्थिति छ। आमा/हजुरआमाको ज्येष्ठ नागरिक भत्ता आफूले खर्च गर्न नपाएको झोकमा उनीहरूलाई अंगभंग नै गरिदिने वा एकाध तोला सुनको औँठी, सिक्रीका लागिसमेत ज्यानै लिइदिने जस्ता घटना पनि केही दिन बिराएर सञ्चार माध्यममा आइरहेका हुन्छन्। यी यस्ता घटना हुन् जसले वर्तमान नेपाली समाज कति पछौटे अवस्थाबाट गुज्रिरहेको छ भन्ने प्रष्ट्याउन काफी छन्।

समाजमा सबै कुरा सरकार वा कुनै संस्थाका मानिस वा अरूले भनिदिएर मात्र त्यो प्रभावकारी हुन्न। मानवीयता भन्ने कुरा मानिस जान्ने भएसँगै बुझ्ने कुरा हुन्। त्यसैले कतिपय कुरा कानुनले वा गुरुले वा अभिभावकले नै सिकाइरहनु नपर्नेखालका पनि हुन्छन्। जसलाई हामी आफैँले ग्रहण गर्न सक्छौँ। त्यसैले समाजलाई क्रूरको संज्ञा नदिन मुख्यतः सबै नागरिक स्वयं जिम्मेवार हुनुपर्छ। र, विशेषगरी अगुवाहरूले कुलतकर्मीहरूलाई त्यस्ता मार्गमा लाग्नबाट सचेत गराउनु पनि उत्तिकै आवश्यक देखिएको छ। 

प्रकाशित: ३० कार्तिक २०८१ ०५:५२ शुक्रबार

Download Nagarik App
Download Nagarik App