गत बुधबार साफ महिला च्याम्पिसनसिपको फाइनल खेल हेर्न दशरथ रंगशाला पुगेका प्रधानमन्त्री केपी ओलीविरुद्ध केही व्यक्तिले अश्लील नारा लगाए। दरिलो विपक्षी टिम बंगलादेशसँग उपाधिका लागि जुधिरहेका महिला खेलाडीको हौसला बढाउन स्वयं प्रधानमन्त्री खेल मैदानमा उपस्थित हुनु प्रशंसनीय कार्य हो। खेलमा हारजित जे पनि हुन सक्छ। तर, प्रधानमन्त्रीका कारण खेलमा हार भयो भन्ने भाष्य बनाउन खोज्नु र आक्रोश पोख्नु आफैंमा उचित होइन। त्यसो त ओलीविरुद्ध नारा लगाइएको यो पहिलो पटक होइन। गत भदौमा टुँडिखेलमा आयोजित विशेषगरी सुदूरपश्चिममा मनाइने गौरा पर्वमा अथितिका रूपमा निम्त्याइएका ओलीविरुद्ध निकै तल्लोस्तरको गालीगलौज भयो। त्यति मात्र हैन, गत असोजमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका ओलीविरुद्ध त्यहाँ पनि अवाञ्चित गतिविधि प्रदर्शन भए। सामाजिक सञ्जालबाट प्रधानमन्त्री ओली र प्रमुख नेताविरुद्ध आक्रोश पोख्ने र गालीगलौज गर्ने एउटा प्रवृत्तिकै रूपमा विकास भएको छ। हामीले अपनाएको राजनीतिक व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता छ। तर, आफूले दिने अभिव्यक्ति तर्कपूर्ण, शिष्ट र मर्यादित हुनुपर्छ भन्ने बिर्सन मिल्दैन। एउटा स्वस्थ समाजको लक्षण यही हो।
सत्तासीनप्रति धेरै मानिसको गुनासो हुन सक्छ। उनीहरूका गतिविधिले धेरैलाई हानि पुगेको हुन सक्छ। यस्तो अवस्थामा उनीहरूको विरोधै गर्न नपाइने÷नहुने भन्ने हुँदैन। तर विरोध गर्ने पनि समय, थलो, सन्दर्भ र परिस्थिति मिल्नुपर्छ। विरोधको पनि शैली हुन्छ। विरोधको पनि तरिका हुन्छ। तर यहाँ माथि उल्लिखितलगायत थलो र सन्दर्भमा जसरी विरोधका स्वर र शैली प्रस्तुत भएका छन्, तिनले हाम्रो समाज थप उच्छृंखल बन्दै गएको पुष्टि गरेका छन्। अन्तर्राष्ट्रिय ध्यानाकर्षण भएका मञ्चमा होस् वा राष्ट्रिय सन्दर्भमा प्रधानमन्त्रीविरुद्ध निरन्तर यसरी प्रस्तुत हुनुलाई उचित मान्न सकिँदैन।
नेपाल संयुक्त राष्ट्र संघको सदस्य हो। संयुक्त राष्ट्र संघले गर्ने कुनै पनि महत्त्वपूर्ण काम राष्ट्र संघले आफ्ना सदस्यहरू सहभागी हुने महासभाको निर्णयद्वारा गर्छ। त्यसैले यस्तो सभामा सहभागी भएर आफ्नो देशको प्रतिनिधित्व जनाउन पाउनु गर्वको कुरा हो। तर आफ्नो देशको सरकार प्रमुख यस्तो महत्त्वपूर्ण कार्यक्रममा आएका बेला स्वागत/सत्कार गर्नुको सट्टा त्यहीँ बसोबास गर्ने आफूलाई नेपाली मूलकै बताउने केही मानिसले नेपालका प्रधानमन्त्री विरुद्ध अवाञ्छित गतिविधि गर्नु गतिहीनताको पराकाष्ठा हो। त्यसैगरी खेलाडीको हौसला वृद्धि होस् भनेर खेल मैदानमै पुगेका प्रधानमन्त्रीमाथि जुन व्यवहार गरियो, त्यो झनै निन्दनीय छ। साफ खेलकुद भएकाले धेरथोर जति नै किन नहोस्, त्यहाँ अन्य देशका दर्शक हुन्छन्। अझ त्यसमाथि सम्बन्धित सबै देशका खेलाडी, दर्शक र अझ खासगरी सञ्चार माध्यमले यो फाइनल खेल सूक्ष्मतवरले नियालिरहेका हुन्छन्। यस्तो अवस्थामा आफ्नै प्रधानमन्त्री विरुद्ध नारा लगाउनु कसको हितमा हुन्छ? प्रधानमन्त्रीमा को व्यक्ति छन् भन्ने पक्ष भन्दा पनि आफ्नो मुलुकका अभिभावकको उपस्थिति हो। त्यस्तो बेलामा सम्मान प्रकट गर्न नसके पनि चुप लागेर बस्न सक्नु पर्छ।
अर्को कुरा गौरा पर्वमा भएको विरोधको। आफूले माया गर्ने, सनातनकालदेखि मनाउँदै आएको पर्वमा आफ्नो देशका प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री तथा सुदूरपश्चिमकै भएकाले विशेषरूपमा निम्त्याइएका देउवाले के अपराध गरेका थिए त्यहाँ गाली खान ? यो घटनाबाट कसलाई फाइदा पुग्यो? कसैप्रति रिस उठ्यो भन्दैमा एउटा ठूलो समुदायले आयोजना गरेका रैथाने कार्यक्रममा गएर अवाञ्छित गतिविधि गर्न पाइन्छ? यसले पनि देखाउँछ कि हामी आफ्नो कुण्ठा व्यवस्थापन गर्न त जान्दैनौँ नै, साथै नामुद परपीडकका रूपमा समेत जागृत भइरहेका छौँ। जुन कुनै पनि हालतले क्षम्य काम हुन सक्दैन।
यी सबै घटनामा केही खास दल र नयाँ नेतालाई उठाउन चाहने समूहको हात रहेको छ। आफू उठ्न चाहनेले अरूलाई गिराउने होइन। नियोजित रूपमै प्रधानमन्त्री ओली र अन्य नेताविरुद्ध यस्ता गतिविधि गरिँदैछ। निर्वाचनबाट आएका र अहिले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका नेताहरूका काममा चित्त बुझाउन नसकेको हो भने त्यसमा यथोचित ढंगले आलोचना गर्न सकिन्छ। तर, आलोचनाको अहिलेको स्वरूप कुनै अर्थमा उचित छैन। आज यस्तो व्यवहार गरिन्छ भने भोलि अरूलाई पनि यही अवस्था आउँछ। नयाँ राजनीतिक गतिविधि गरिरहेकाहरूले कस्तो संस्कार बनाउने भन्नेमा विचार गर्नु उचित हुन्छ।
प्रधानमन्त्री यतिबेला केपी ओली छन्। यसअघि पुष्पकमल दाहाल थिए। त्यसअघि शेरबहादुर देउवा पनि भएकै हुन्। मनमोहन अधिकारी, माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, मरीचमानसिंह श्रेष्ठ, कृष्णप्रसाद भट्टराई, बाबुराम भट्टराईजस्ता धेरै व्यक्ति प्रधानमन्त्री भए। त्यसैले प्रधानमन्त्री व्यक्ति हुँदै होइन। यो त संस्था हो। हामीले यो वास्तविकतालाई बिर्सेर कुनै व्यक्तिमाथि रिस साँध्ने नाउँमा मुलुकको सम्मानित संस्थामाथि निरन्तर प्रहार गरिरहेका छौँ। खासमा यो वर्तमानमा त हाम्रो अविवेकीपनको पराकाष्ठा प्रदर्शन हुँदै हो, भविष्यका लागि समेत निन्दित इतिहास बन्ने पक्का छ।
शासकहरूको विरोध गर्न नहुने होइन। यसका लागि माइतीघर मण्डललगायतका ठाउँ खुलै छन्। ज्ञापनपत्र दिएर वा प्रत्यक्ष भेटघाटमार्फत पनि आफ्ना असन्तुष्टि पोख्न सकिन्छ। कानुनी बाटाहरू छन्। तिनलाई अपनाउन सकिन्छ। सभ्य र सुसंस्कृत शैलीद्वारा पनि सुन्दरतवरका विरोध प्रकट गर्न सकिन्छ। तर यहाँ सरकार प्रमुखलाई व्यक्तिगत तवरमा उत्रेर मादक पदार्थ सेवन गरेको शैलीमा हुलहुज्जत गर्न खोज्नु कुनै पनि कोणबाट उचित मान्न सकिन्न। तर यही अनुचित शैली अपनाएर आफूहरू लोकप्रिय बनिरहेको भ्रममा बाँच्नु विडम्बना मात्र हो। स्वतन्त्रतालाई नेपालको सन्दर्भमा धेरैद्वारा छाडापनका रूपमा अर्थ्याइँदै आएको छ। आफ्नो अधिकार प्रयोग गर्दा अरूलाई जति हानि पुर्याउन सकियो, उति खुसी हुने परम्परा नै स्थापित भइसकेको छ। यो पथ सच्याएनौँ भने हामी सक्षम र सबल होइन परपीडक समाज बन्नेछौं। यस्तो हुनु भनेको समग्र देशको आरालोतर्फको यात्रा हो।
प्रकाशित: २० कार्तिक २०८१ ०६:०७ मंगलबार