२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
सम्पादकीय

सुखद बडादसैँ!

नेपालीको प्रिय चाड दसैँ घरआँगनमै आइसकेको छ। पिङ, स्वादिष्ट खानपान, नयाँ र सुन्दर कपडा, मिष्ठान्न, घुमफिर, देवीको आराधना, मान्यजनप्रतिको सद्भाव, घरपरिवारप्रति स्नेह तथा नयाँ योजना र कार्यहरूको पर्याय पनि बन्दै आएको छ यो पर्व। त्यसैले यो खानपानसँग मात्र सम्बन्धित छैन। बहुआयामिक विशेषतायुक्त भएकै कारण लामो भएर पनि दसैँले आफ्नो महत्त्व कायमै राख्न सकेको हो।

यसपालिको दसैँ नेपालीका लागि तुलनात्मकरूपमा त्यति रमाइलो भएको छैन। केही दिनअघि मात्र आएको विपद्का कारण हुन गएको ठूलो जनधनको क्षतिले प्रत्यक्ष प्रभावित मात्र हैन, अप्रत्यक्ष प्रभावितलाई पनि निकै पिरोलेको छ। यो घटनामा सोझै पीडित नहुनेहरू पनि अरूको पीडामा खिन्न रहेको अवस्था छ। आखिर नेपाली मन न हो, एउटालाई दुःख पर्दा अर्कोको मन त्यत्तिकै कुढिन्छ।

उसै पनि केही वर्षदेखि नेपालीले चयनले दसैँ मनाउने परिपाटी मिलेको छैन। खासगरी २०७२ सालको भूकम्पले धेरै नेपालीको दसैँ बिथोल्यो ।  त्यसलगत्तैको नाकाबन्दीले पनि थुप्रै नेपालीलाई रुवायो। आर्थिक अवस्था डाँवाडोल तुल्याइदियो। यो अवस्थाबाट मुलुक तंग्रिन मात्र के लागेको थियो, फेरि विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीले नराम्रोसँग थला पा¥यो। यी सबै संकटबाट बौरिन खोजिरहेका बेला अहिले पुनः प्राकृतिक विपत्ति आइलागेको दुःख बिर्सन सजिलो छैन।

चाडपर्व वर्षभरिको दुःख बिर्साउने अवसर पनि हुन्। वर्षभरिको थकाइ मेट्ने र आफन्तसँग सुखदुःख साट्ने यो अवसर आफैंमा अनुपक हुन्छ। यसले आफूभित्रको घाउलाई निको पार्छ। जस्तै दुःखलाई पनि हाँसी हाँसी सामना गर्न नेपालीले जति अरू कसले जानेको छ र ? माथि उल्लिखित थुप्रै घटनामा पनि लाखौँ नेपाली हाँसेरै सामेल भए। यसरी हेर्दा प्रतिकूलतालाई अनुकूलतामा बदल्न सक्ने खुबी हामी नेपालीसँग प्रशस्तै छ भन्न हिच्किचाउनु पर्दैन। विश्व खुसी प्रतिवेदन २०२४ अनुसार एक सय ४३ देशमध्ये नेपाल सबै भन्दा खुसी हुने देशमध्ये ९३औँ स्थानमा रहनुले पनि हामी त्यति बेखुसी नरहेको पुष्टि हुन्छ। दुःखलाई भुलेर फेरि बाँच्न नेपालीले नै जानेको छ।

शान्ति सुरक्षा ठूला चाडपर्वका लागि विशेष जरुरी हुन्छ। यतिबेला एक ठाउँबाट अर्को ठाउँमा जानेहरूको संख्या निकै बढी हुने भएकाले सवारी साधनमा पनि उत्तिकै चाप हुने गर्छ। चोरी, ठगीबाट मात्र हैन, दुर्घटना र असुविधाहरूबाट पनि सुरक्षा उपलब्ध हुन सक्दा पर्व मनाउनेहरूलाई सहज हुन सक्छ। यसका लागि सुरक्षा निकायहरूलाई तम्तयार राख्ने र सुरक्षा व्यवस्थाका लागि कुनै कसुर बाँकी नराख्ने प्रयत्न सरकारीतवरबाट हुनु जरुरी छ। धन्य, हाम्रा सुरक्षाकर्मीले यस्तो बेलामा घरपरिवार र पर्वको खुसी थाती राखेर अरूका निम्ति भूमिका निर्वाह गर्छन्। तिनका निम्ति धन्यवाद दिने यो अवसर पनि हो।

ठूलो पर्व भएका बेला बजारको कारोबार पनि ठूलै हुने गर्छ। यस्तो बेलामा केही नाफाखोर व्यक्तिले सामानको स्तरीयता, तौल, मूल्य आदिमा ठगी गर्ने सम्भावना रहन्छ। त्यसैले यस्तो ठगीबाट सर्वसाधारणलाई सुरक्षा प्रदान गर्ने काम पनि राज्यको हो। यति मात्र हैन, चिनी, मसला, जस्ता धेरै प्रयोग हुने सामग्रीमा बिचौलिया मिलेर लुकाउने र कालोबजारी गर्ने सम्भावना पनि उत्तिकै रहन्छ। यसतर्फ पनि सरकारीतवरबाट विशेष ख्याल राखिनुपर्छ। यो पर्वका बेला ठग्नु हुँदैन भन्ने थोरै सोच मात्र मनमा ल्याउने व्यक्तिले पनि धेरथोर योगदान गरेका हुन्छन् नै।

दसैँ खासमा असत्य शक्तिमाथि सत्यको विजय उत्सव हो। अरूलाई सताउने, दुःख दिने, अरूको प्रगतिमा इष्र्या गर्ने, अरूको प्रगति देखिनसहने धूर्त र कपटी प्रवृत्ति खराब प्रवृत्तिका द्योतक हुन्। त्यसैगरी ‘सर्वजन हिताय’, ‘सर्वजन सुखाय’ सत्यवादीहरूको प्रवृत्ति हो। यही खराब प्रवृत्तिमाथि मानवीय प्रवृत्तिको जीत नै दसैँ मनाउनुको मुख्य उद्देश्य हो। चाडपर्वमा अरूबेलाभन्दा अलि बढी रमाइलो, खानपानमा अलि बढी जोड र आफन्तपनको निम्ति समय खर्च हुन्छ। यो स्वाभाविजक हो। आखिर मानिसले कमाएको भनेकै यस्तैका निम्ति पनि हो। रमाइलो गर्ने बेलामा रमाउन नसक्नेले काम गर्ने बेलामा काममा ध्यान पनि दिन सक्दैन। समयानुकूल आफूलाई तयार पार्नु र त्यही प्रवाहमा हिँड्नु पनि आफैंमा रमाइलो पक्ष हो। जसरीले वर्षाद्को हिलोमैलो शारदीय मौसमले हटाएर सुन्दर दिन ल्याएको छ, त्यसैगरी चाडपर्वको उज्यालोले सबैको मनको मैलो हटाओस्। फेरि कामकाजमा लाग्नका निम्ति यो फूर्सदमा लिएको आरामले जाँगर देओस्।  बडादसैँको हार्दिक मंगलमय शुभकामना!

प्रकाशित: २४ आश्विन २०८१ ०६:०८ बिहीबार

Download Nagarik App
Download Nagarik App