१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
सम्पादकीय

अमेरिकी नेपालीको अराजकता

संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन गएका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अमेरिकामा रहेका केही नेपालीले गरेका अपमानजनक व्यवहार निन्दनीय छ। मुलुकको नेतृत्व गरेर प्रधानमन्त्री आफूकहाँ आएका बेला स्वागत सत्कार गर्न नसके पनि सद्भावपूर्ण व्यवहार गर्न सकिन्छ। हो, केहीले नेपालसँगको आफ्नो नाता तोडिसकेका हुन सक्छन्। उनीरूले आफूलाई पूर्णरूपमा अमेरिकी नागरिक बनाइसकेका हुन् भने पनि नेपालबाट त्यहाँ पुगेका व्यक्ति पाहुना हुन्। पाहुनासँग गरिने व्यवहार उचित नभएकोमा अहिले अमेरिकामै बस्ने नेपालीहरूले समेत विरोध जनाएका छन्। यस्तो व्यवहार आलोच्य हुने धारणा तिनको रहेको छ।

प्रधानमन्त्री ओलीको त्यहाँ रहेको नेपाली समुदायसँग अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको हो। प्रधानमन्त्रीका सम्बन्धमा फैलाइएका अफवाहका कारण न्युयोर्कस्थित महावाणिज्य दूतावासले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै कार्यक्रम रद्द भएको जानकारी दिएको हो। छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफू बसेको र उन्नति गरिरहेको ठाउँमा आउँदा भारतीय मूलका नागरिकले ठूलो स्वागत सत्कार गरेको देखिएको छ। मोदीबारे पनि विरोध र आलोचना नहुने होइन। तैपनि त्यहाँ उनीहरूले आफ्नो प्रधानमन्त्रीको स्वागत सत्कार गरेको मात्र होइन, आफैंप्रतिको सम्मान पनि दर्शाएको हो। आफ्नो मुलुकबाट आएका शीर्ष नेता तथा प्रधानमन्त्रीको विदेशमा बसेर अपमान गर्नुलाई कुनै अर्थमा यथोचित कार्य मान्न सकिन्न।

हाम्रो देशले गैरआवासीय नेपालीहरूलाई समेत कुनै न कुनै रूपमा मान्यता दिएको छ। त्यसका निम्ति तिनीहरूलाई बर्सेनि सम्मेलन गर्नसमेत नेपालले रकम दिँदै आएको छ। नेपालमा सम्पत्ति राख्न पाइने अधिकार सम्पन्न गराउन पनि यिनै नेताले भूमिका खेलेका छन्। प्रधानमन्त्री ओलीको कार्यक्रम बिथोल्ने किसिमका अभिव्यक्ति दिन खोज्दा तत्कालै त्यसको विरोधमा यी संस्था किन लाग्न सकेनन् ? नेपालीले आफ्नो देशका प्रधानमन्त्री आएर भेटघाट र संवाद गर्न खोज्दा अवसर नदिएको भन्दा अमेरिकामै कति इज्जत बढ्यो ? अझ आफ्ना प्रधानमन्त्रीको स्वागत सत्कार गर्न सिपालु भारतीयहरूले नेपालीबारे कस्तो धारणा बनाए होलान् ? कहिलेकाहीं शिष्टाचार बिर्संदा पनि त्यसले नकारात्मक असर पार्छ।

यसै पनि प्रधानमन्त्री ओली मुलुकका निर्वाचित प्रधानमन्त्री हुन्। जबर्जस्ती सत्ता हत्याएर उनी त्यो स्थानमा पुगेका होइनन्। विगतमा मुलुकको निरंकुशताविरुद्ध १४ वर्ष जेल जीवन व्यतीत गरेका ओलीको नेपाली राजनीतिमा आफ्नै स्थान र मर्यादा छ। हो, उनका कामहरूमा आलोचना गर्ने ठाउँ नभएको होइन। विगतमा दुई–दुई पटक प्रतिनिधिसभा विघटन गर्दा मुलुकको सर्वोच्च अदालतले उक्त कार्य असंवैधानिक भएको फैसलासमेत गरेको हो। तर यसपटक त्यस्तो होइन। उनी संसद्मा दुईतिहाइको हाराहारी समर्थन लिएर अहिले सरकारमा छन्। यसैका निम्ति केही राजनीतिक दलले उचालेको भरमा अमेरिकामा समेत बेइज्जत गर्न खोज्दा अरूको नजरमा समेत त्यहाँ रहेका नेपालीबारे प्रश्न उठेको छ।

पछिल्ला दिनमा मुलुकका प्रमुख नेताहरूविरुद्ध देशभित्र आलोचना भइरहेको छ। त्यस्तो आलोचना लोकतान्त्रिक मुलुकमा जहिले पनि हुन्छ। तर केही समययता सामाजिक सञ्जाल प्रयोग गरी झुटमुठ आरोप लगाएर कसैलाई खलनायक करार गर्ने र कसैलाई नगरेका कामको पनि श्रेय दिएर नायक बनाउने प्रक्रिया तीव्र पारिएको छ। मुलुकका प्रमुख चाडपर्वका अवसरमा उपस्थित राष्ट्राध्यक्ष, प्रधानमन्त्री र अन्य नेताका विरुद्ध भीडमा घुसपैठ गरी विरोधमा नारा लगाउने गरिएको छ। यो कुनै अर्थमा पनि स्वस्थ अभ्यास होइन। अहिले स्थानीय तहमा आफ्नो उपस्थिति भएकै आधारमा वा सामाजिक सञ्जाल चलाएर दिग्भ्रमित तुल्याएकै भरमा त्यसैलाई मुलुकको मुख्य अभिव्यक्ति भए जस्तै गर्नु उचित होइन। यस्तै व्यवहार लाखौँको संख्यामा समर्थक र शुभेच्छुक भएको नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता दलका तर्फबाट भयो भने उचित हुन्छ ? मुलुकको राजनीतिमा आवश्यकताअनुसार समीकरण फेरिन सक्छन्। यसको अर्थ समीकरण बाहिर हुनेबित्तिकै खास नेताहरूको विरोध गर्नुपर्छ भन्ने होइन। लोकतान्त्रिक व्यवहार भनेको सबैको स्वस्थ आलोचना गर्ने र विरोधलाई पनि मर्यादित बनाउने हो। प्रधानमन्त्री ओली जाने जुनसुकै कार्यक्रममा विरोध मात्रै गर्ने र यही नै समग्र जनताको आवाज हो भन्ने भान पार्ने हो भने यसले राजनीतिलाई मुठभेडतिर लैजाने खतरा हुन्छ।

मुलुकमा निरंकुशता लादेका कुनै राष्ट्राध्यक्ष वा सरकार प्रमुखका सम्बन्धमा प्रवास सक्रिय हुँदो हो त त्यतिबेला त्यसले सकारात्मक परिणाम दिन सक्छ। लोकतान्त्रिक अभ्यासबाट देशको सर्वोच्च स्थानमा रहेका नेतामाथि गरिएको यस्तो व्यवहारले कुसंस्कारको थालनी हुँदै गरेको सन्देश दिएको छ। यस्तो व्यवहार गर्दा कुनै पनि नेताले अमेरिका वा अन्य देशमा मात्र होइन, नेपालभित्रै पनि उभिएर बोल्न सक्ने अवस्था हुने छैन। प्रश्न प्रधानमन्त्री ओलीमाथि गरिएको व्यवहार होइन, थालनी हुँदै गरेको अराजनीतिक संस्कारको हो।

प्रकाशित: १० आश्विन २०८१ ०५:४६ बिहीबार

Download Nagarik App
Download Nagarik App