३ आश्विन २०८१ बिहीबार
image/svg+xml
सम्पादकीय

बालिका बचाऔं

पछिल्ला दिनमा नियमितजसो बालबालिका यौनजन्य गतिविधिमा दुरूपयोग भएका समाचार सार्वजनिक भइरहेका छन्। कहिले खाजाघरमा त कहिले मसाज र अन्य व्यवसायमा तिनलाई दुरूपयोग गरेको पाइन्छ। सामान्यतः बालबालिकाको जीवन त्यतिबेला संकटमा पर्छ, जतिबेला तिनीहरू पारिवारिक बेमेल र आर्थिक विपन्नताको सिकार बन्छन्। आमाबाबुबीचको सम्बन्ध बिग्रिएपछि उनीहरू आआफ्नो बाटो लाग्छन्। त्यस्तो बेला बालबालिका बेसहारा बन्छन्। आर्थिक अवस्था कमजोर रहेका घरका बालबालिकाको काँधमा कतिपय अवस्थामा जिम्मेवारी आइपुग्छ। तिनले जिम्मेवारी पूरा गर्ने सिलसिलामा गलत मानिसका हातबाट दुरूपयोग हुने अवस्था आउँछ। जीविकोपार्जनका निम्ति यस्ता बालबालिकालाई काम चाहिएको हुन्छ।  

सामान्य खाजाघरमा काम पाएका बालिकालाई दुरूपयोग गरेका खबर आइरहनुले हाम्रो नैतिक मूल्य कमजोर हुँदै गएको सन्देशसमेत दिएको छ। नेपाल प्रहरीको मानव बेचबिखनविरुद्ध अनुसन्धान ब्युरोले यस्ता घटना बेलाबेलामा सार्वजनिक गरेको छ। ब्युरोले प्रायः यस्ता घटनामा संलग्न बालबालिकाको उद्धार गर्नुका साथै दुरूपयोग गर्ने व्यक्तिमाथि कानुनी कारबाहीका लागि पहल पनि गर्दैआएको छ। मानव बेचबिखन पछिल्ला दिनमा हाम्रो मुलुकमा एउटा प्रमुख समस्या बन्दै आएको छ। बढ्दो सहरीकरण, सामाजिक सञ्जालको विस्तार, सूचना प्रविधिको विकास आदिले मानिसलाई सुविधा मात्र बढाएको छैन, बेचबिखनका खतरा पनि बढाएको छ।

पहिलो पक्ष, कसैलाई पनि यौन व्यवसायमा लगाउनु कानुन विपरीत हो भन्ने बुझाइकै कमी देखिन थालेको छ। दोस्रो, सामाजिक रूपमा गर्न नहुने काम गराउनुहुँदैन भन्ने पक्षमा सोच्दै सोचेको देखिएन। अन्यथा, साना खाजाघरहरूले यस्ता काममा बालिकालाई लगाउने कुरा कसरी सोच्दा हुन् ? आखिर व्यापार व्यवसाय गरिरहेका यस्ता व्यक्तिका घरपरिवारमा पनि बालिकाहरू हुन्छन्। आफ्नै आश्रित बालिकाको अवस्था संकटपूर्ण अवस्थामा जानसक्ने परिकल्पना तिनले गर्न सक्दैनन्। तर, अन्य बालिकालाई यसरी दुरूपयोग गर्ने परिकल्पना सामान्य अवस्थाका मानिसले गर्न नसक्नुपर्ने हो। कतिपय विकसित मुलुकमा कानुनी उमेर नपुगेका व्यक्तिलाई नसाजन्य पदार्थ किनबेचमा समेत रोक लगाइएको हुन्छ। तिनीहरू आफूखुसी किन्न गए भने पनि तिनको उमेर खुल्ने परिचयपत्र माग गरिन्छ। त्यसैगरी यौनजन्य गतिविधिमा लगाउन कानुनले रोक लगाएको छ। कम्तिमा यस्तो काम गर्नबाट उनीहरू डराउनुपर्ने हो।

कुनै पनि महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउनु मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अपराध हो। नेपालले बालबालिकाविरुद्ध हुने यौन दुर्व्यवहार नियन्त्रणका लागि कानुन बनाएको छ। मुलुकको कानुन यसलाई नियन्त्रण गर्न अक्षम रहेका अनेकन् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिवेदनले समेत इंगित गरेका छन्। अमेरिकी सरकारको स्टेट डिपार्टमन्टको पछिल्लो प्रतिवेदनअनुसार बितेका पाँच वर्षमा मानव तस्करहरूले पीडितमाथि शोषण गरेका छन्। यहाँ जबर्जस्ती बालश्रम र यौन कार्यका लागि तस्करी गरिएको छ। खराब किसिमको बालश्रमको अभ्यास भइरहेको पनि उक्त प्रतिवेदनले देखाएको छ। राष्ट्रिय मानव अधिकार आयोगका अनुसार प्रत्येक वर्ष ६ देखि १६ वर्षका १२ देखि १५ हजार बालिका प्रत्येक वर्ष भारतमा पुर्‍याइन्छन्।

लैंगिक हिंसा, जातीयतामा आधारित भेदभाव, बाल यौन दुराचार र आर्थिक अवसरको अभावले विशेष गरी महिला र बालिकालाई बेचबिखनको खतरा नजिक पुर्‍याउँछ। यसकारण पनि परिवारलाई सशक्त बनाउन कानुनी र अन्य व्यावहारिक ज्ञान दिनु उचित हुन्छ। त्यसैगरी खतराको अवस्थामा रहेका बालबालिका र महिलालाई जोगाउन सक्ने सरकारी तबरमै योजना हुनुपर्छ। तिनको जीवन संकटमा नपर्ने गरी आवश्यक व्यवस्था मिलाउन सकिन्छ। तिनलाई संकटको अवस्थामा पुग्न नदिनेतर्फ ध्यान दिनु उचित हुन्छ। एकातिर यो मुलुकमा बालिकालाई पञ्चकन्याका रूपमा पुजिन्छ, अर्कातिर तिनैको दुरूपयोग गरी आर्थिक उपार्जनको बाटो बनाइन्छ। यस्ता बालबालिकालाई दुरूपयोग गर्ने र तिनलाई बन्धक बनाएर फाइदा खोज्नेहरूमाथि सशक्त कारबाही गर्ने र यस्ता घटना हुनै नदिने गरी तयारी गर्नु राज्यको दायित्व हो।  

प्रकाशित: २८ भाद्र २०८१ ०५:५२ शुक्रबार

Download Nagarik App
Download Nagarik App