यतिबेला मुलुक बिपीमय बनेको छ। जन्मजयन्तीका अवसरमा आइतबार बिपीलाई सम्झने काम भएको छ। उनले स्थापना गरेको दल नेपाली कांग्रेस मात्र होइन अन्य दलले समेत उनको महिमा गायन गरेका छन्। उनले जीवनकालमा नपाएको सम्मान अहिले पाएका छन्। उनलाइ आदर्श नेता भन्नेहरू यतिबेला प्रजातान्त्रिक व्यक्ति मात्र छैनन्, साम्यवादीहरूले पनि उनलाई उत्तिकै आफ्नो ठान्छन्।
निश्चित तिथिमितिमा नेताहरूलाई सम्झनु, मुलुक र राष्ट्रवासीका लागि उनीहरूले पुर्याएका योगदानको स्मरण गर्नु र पछिल्लो पुस्तालाई यसबारे जानकारी गराउन अनुचित हैन । अझ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत रहेका विश्वेश्वरप्रसाद कोइराला त यस्ता गतिविधिका लागि योग्य पात्र नै हुन्। यस्ता पात्र र प्रवृत्तिबारे विभिन्न कार्यक्रममार्फत जानकारी/सूचना हस्तान्तरण गरिएन भने विभिन्न कालखण्डका इतिहास नामेट हुँदै जान्छन्। त्यसैले पनि यो सर्वथा उचित छ।
यतिबेला नेताहरूका तिथिमिति र स्मरणयोग्य दिनलाई दुरूपयोग गर्नेहरू बढी देखिएका छन्। उनीहरूका नाममा आयोजित कार्यक्रममै पनि एकअर्कालाई गालीगलौज गर्ने, दोषारोपण गर्ने र आफू मात्र उनीहरूका अनुयायी दाबी गर्ने अनुचित कार्य हुँदै आएका देखिन्छन्। त्यति मात्र हैन, एउटै व्यक्तिसँग सम्बन्धित कार्यक्रम पनि सोही पार्टीका विभिन्न गुटले पृथक पृथक ठाउँ र ब्यानरमा गर्दै रहेका पनि भेटिन्छन्। यस्ता गतिविधिले नेताको मानमर्दन त हुन्छ नै, साथै स्वार्थ पनि छर्लंगिन्छ।
बिपी मात्र होइन, कोही मदन भण्डारी र जीवराज आश्रितलाई बेचेर खाइरहेका छन् भने जनताको बहुदलीय जनवाद आफ्नै पेवा भएको दाबी गरिरहेका छन्। कोही पुष्पलालको अनन्य भक्तको दाबी गरिरहेका छन्। अनि कोहीचाहिँ मनमोहन र गणेशमानको आधिकारिक उत्तराधिकारी भएको स्वघोषणा गर्नमा व्यस्त छन्। राष्ट्र र जनताका लागि जीवनको बाजी थापेर योगदान गरेका नेता कसैका एकलौटी हुन सक्दैनन्। न त उनीहरू भजाएर स्वार्थ पूर्ति गर्ने कला भएका एकाध मानिसका मात्र कब्जामा सीमित हुन सक्छन्। तर विडम्बना, यतिबेला यस्ता पवित्र र महान् नेताका नाम बेचेर आफ्नो दुनो सोझ्याउने कार्य जारी छ।
यी नेताले इतिहासमा आफ्नो गच्छेअनुसारको योगदान पक्कै गरेका हुन् मुलुक र मुलुकबासीका लागि। यतिबेला चिन्तन गर्नुपर्ने विषयचाहिँ त्यसपछि हामीले के गर्न सक्यौँ भन्नेबारे हो। उनीहरूका नाम जोडेर आयोजना हुने कार्यक्रममा यस्ता विषयमा चिन्तन हुनुपथ्र्यो तर यसबारे फिटिक्कै कोही बोल्न तयार छैन। उनीहरूले गरेका कामको वर्णनले मात्र मुलुक अघि बढ्न सक्दैन। सोझो अर्थमा भन्दा इतिहासजीवी बनेर समृद्धि आउँदैन। इतिहासबाट सिकेर तथा पाठ ग्रहण गरेर अघि बढ्ने मात्र सफलताको शिखरमा पुग्ने हो। अहिले वर्तमान नेताहरूको गुमाइरहेका मुख्य अवसर पनि यही हो।
बिपीले मुलुकमा विपद् पर्दा माटो हातमा लिएर निर्णय गर्न सुझाएका थिए। के आजका नेता यसो गर्न तयार छन् ? उनीहरू यसको मर्म बुझ्न लालायित छन् ? मदन भण्डारीले राजनीति गर्ने इच्छा भए राजालाई श्रीपेच फुकालेर मैदानमा आउन ललकारेका थिए। त्यतिबेलै राजाले नेतृत्व गरेका सामन्तवादलाई चुनौती दिने भण्डारीकै दलका नेताहरू यतिबेला आफैँ राजा बन्ने अभ्यासमा छन्। के उनीहरू ‘मदन–वचन’ को इज्जत जोगाउन सक्षम छन् ? मनमोहनले आफ्नै परिवारका सदस्यलाई समेत नियुक्ति नगरेर पवित्र राखेका प्रधानमन्त्री पदलाई त्यसपछिका यो पदधारीहरूले ग्रहण गर्न सके ? प्रधानमन्त्रीको पद नै अस्वीकार गरेर पदलोलुपतालाई डाँडो कटाएका गणेशमानबाट यस्तै त्याग सिक्न कोही तयार छन् ? यी कुनै पनि प्रश्नको उत्तर हो, छ अर्थात् सकारात्मक आउँदैन आजको परिवेशमा। अनि यस्तो अवस्थामा नेताहरूको स्तुति गाउँदैमा हामी कसरी उनीहरूका अनुयायी हुन सक्छौँ ? बहस यो विषयमा केन्द्रित हुन जरुरी छ।
खासमा महान् र पवित्र नेतालाई स्मरण गर्ने र उनीहरूप्रति सच्चा श्रद्धाञ्जली अर्पण गर्ने हो भने बढी मूल्यको बुके र माला तस्बिरमा लगाइदिएर हैन, भीड जम्मा गरी महिमामण्डित गरेर मात्र पुग्दैन, भिड र बेलुनको सजावट उच्च तुल्याएर हैन, अनि उनीहरूका नामसँग आफैँलाई तुलना गरेर ‘हामी उस्तै उस्तै हौँ’ भनेर पनि हैन, उनीहरूका विचार अनुशरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्छ। उनीहरूले कोरिदिएका र देखाइदिएका मार्ग समात्नुपर्छ। उनीहरूमा कायम नैतिकता, इमानदारिता, पारदर्शिता, त्याग र दूरदर्शिता पछ्याउन सक्नुपर्छ। अनि मात्र बिपीदेखि पुष्पलालसम्म सच्चा श्रद्धाञ्जली दिएको ठहर्छ।
श्रद्धाले नेता सम्झेर मात्र हुँदैन तिनका आदर्श पछ्याउन सक्नु पर्छ। लोकलाज यसको पहिलो प्राथमिकता हुने गर्छ। अहिले नेताहरूको सम्झना पनि कर्मकाण्डमा परिणत हुँदै गएको छ। कुर्सीबाहेक सम्पूर्ण कुरालाई भ्रम देख्ने मानसिकता वर्तमान नेताहरूमा झांगिएको छ। एउटै दलभित्र पनि गुट/उपगुट खडा गर्ने र सकेसम्म छिर्की लगाएर पछार्ने खेल जारी नै छ। यस्तो अवस्थाले मुलुक थौँथिलो भइसक्दा पनि नेता हुँ भन्नेमा चेत जाग्न सकेको छैन। त्यसैले यस्तो अवस्था कायमै राखेर नेताहरूका नाममा वर्षको एक दिन÷एक छिन चुहाउने ‘गोहीको आँसु’ले ती महान् नेताको मान हैन, अपमान मात्र हुने पक्का छ। त्यसैले कृपया, सक्छौ राष्ट्र र मुलुकवासीका लागि आफैँ केही गर, सक्दैनौ कम्तीमा पनि ती दिवंगत नेताका पवित्र भावनालाई बिटुल्याउने काम नगर।
प्रकाशित: २५ भाद्र २०८१ ०६:०५ मंगलबार